समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका वडा नं. १ नेगीका स्थानीयहरुलाई पहिरोको जोखिम भन्दा टाढा सारिदै छ । तत्कालनका लागि सुरक्षित स्थानमा अस्थायी घर (टेण्ट) राखेर नागरिकहरुको सुरक्षा गरिन लागिएको छ । त्यहाँ एउटै ढुङ्गाका कारण ३५ घर जोखिममा परेको छ ।
गाउँपालिकाको वडा नंं. १ नेगी स्थित तामाङ बस्ती पहिरोको उच्च जोखिममा रहेकोले वस्ती सार्न लागिएको संघीय सांसद हितबहादुर तामाङले जानकारी दिएका छन् अहिले अस्थायी व्यवस्था गरिएको र छिट्टै स्थायी रुपमै वस्ती स्थानान्तरण गरिने उनले बताए ।
हिजो आइतवार ३५ घरपरिवारका लागि आवश्यक समाग्री लिएर उनी लगायतका जनप्रतिनिधि नेगी गएका हुन् । पहिरोको उच्च जोखिममा रहेको नेगी गाउँलाई अस्थायी रुपमा वडाकै सल्लेरीडाँडामा बसोबासको व्यवस्था मिलाएको छ । अब नेगीका नागरिकहरु त्यता सर्ने छन् । गाउँपालिकाले संघिय सांसद हितबहादुर तामाङ, जिसस नुवाकोट प्रमुख सन्तमान तामाङ, गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य, लगायतकाले स्थलगत रुपमा अवलोकन गरेका छन् ।
अस्थायी घर (टेण्ट) वितरण कार्यक्रममा संघिय सांसद् हितबहादुर तामाङले बस्तीलाई स्थायी रुपमै सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन आफ्नो तर्फबाट आवश्यक पहल भैरहेको उनले बताएका छन् ।
संघिय सांसद तामाङले तत्कालै भिमकाय ढुङगाको ब्यबस्थापन नभएका तल्लो मानव वस्ति रहेको क्षेत्रमा समेत असर पुग्ने बताए । डाँडामाथि रहेको ढुङ्गा खसेमा नेगी खोला थुनिने र वरिपरिका सबै डाँढाहरु बगरमा परिणत हुने उनको अनुमान छ । दुईतले घर भन्दा ठुलो ढुङ्गा खसेमा त्यसबाट हुने क्षतीको अनुमाननै गर्न नसक्ने उनको भनाई छ ।
दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले वस्ती सार्न र खस्ने अवस्थामा रहेको ढुङ्गा हटाउने कार्य तत्कालै सुरु गर्ने बताए । जुनसुकै बेलामा पनि पहिरो जानसक्ने भएका कारण छिटो भन्दा छिटो बस्ती सारेर ढुङ्गा हटाउन जरुरी भएको उनले बताए ।
यो विशाल ढुङ्गा २०७२ सालको भूकम्पका कारण चलेको थियो । यस वर्षको अविरल वर्षाका कारण थप डगमगाए पछि त्यसको ठिक तल रहेको पुरै नेगी गाउँ पहिरोको जोखिममा परेको हो । बस्तीको स्थानान्तरणसंगै ढुङ्गा फुटाउने आवश्यक देखिएको छ । यसका लागि माथिल्लो निकायमा पत्राचार भएको गाउँपालिकका अध्यक्ष तामाङले बताए ।
व्यवस्थापन गर्नुपूर्व ढुङ्गा खसेमा त्यसबाट सृजना हुने पहिरोले तादी खोला थुनिन सक्ने देखिन्छ । जसबाट नेगी मात्र नभई तादी खोलाको आसपास रहेका ठूलीखेत, रामती, समुन्द्रटार लगायतका वस्ती समेत जोखिममा पर्ने देखिएको छ ।
नेगी र अन्य जोखिममा रहेको स्थानहरुको सुरक्षाका लागि पनि ढुंगा को व्यवस्थापन गर्नु आवश्यक रहेको गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले बताएका छन् । छिट्टै यसको व्यवस्थापन गरेर तत्कालका लागि नेगी गाउँर पछिसम्मका लागि तलतिरको बस्ती सुरक्षित राख्नका लागि आफुहरु लागि परिरहेको उनले सुनाएका छन् ।
हिजो गाउँ पुगको जनप्रतिनिधिहरुले टोलीले तत्कालनका लागि सुरक्षित रहन आवश्यक पर्ने लाखौं रुपैयाँ खबरावरको सामाग्री सहयोग गरेका छन् । करिव १० लाख भन्दा बढिको टेण्ट गाउँमा उपलब्ध गराइएको छ । सिङ्गै गाउँका लागि समथर स्थलमा टेण्ट राखेर बस्नका लागि पर्याप्त हुने छ । गाउँहरुले सुरक्षित स्थानमा सरेसंगै ढुङ्गा हटाउने प्रक्रिया सुरु हुने बुझिएको छ ।
एक साता अघि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल नेगीको स्थलगत भ्रमणमा गएका थिए । एउटै ढुङ्गाका कारण ३५ घर असुरक्षित देखेपछि उनले नागरिकहरुको संरक्षण र ढुङ्गाको दिर्घकालिन व्यवस्थापनका लागि ‘लविङ्ग’ थालेका हुन् ।





















१५ भाद्र २०७७, सोमबार १९:३५