पहिरोबाट जोगिदै हिडेका डेढ सय जनाले ओढारमा रात काटे

विदुर । केही दिनदेखि परिरहेको पानीको कारण गाउँमा पहिरो जान थालेपछि घर छाडेर हिडेका दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङ्फेदीका डेढ सय भन्दा वढि नागरिकहरु हिजोदेखि ओढारमा बसिरहेका छन् ।

पानी पर्ने र बस्ती माथिबाट बग्न थालेको पहिरो नरोकिएपछि घ्याङ्फेदीको सिसिवु र स्योलालो गाउँबाट स्थानीयहरु लाखापाखा लागेका हुन् । ११३ परिवार आफ्नो घर छाडेर हिजै हिडेका हुन् । उनीहरु कोही छिमेकी गाउमा आश्रम लिएर बसेका छन् भने डेढ सय भन्दा बढि मानिसहरुले ओढारमा रात काटेका छन् । ४ घरका नौं जना छिमेकी गाउँ कसेरी पुगेका छन् । पैदल हिडेने बाटो समेत अवरुद्ध हुने गरी पहिरो गएका कारण धेरै मानिसहरु ओढारसम्म मुस्किलले पुगको खबर प्राप्त भएको छ ।

राती अबेर गरेर बोल्चोक पुगेको डेढ सय गाउँलेहरु त्यही ओढारमा बसेका छन् । लामा गुरुहरुले ध्यान तथा साधना गर्ने ठूला ठूला ओढारमा उनीहरु छरिएर रहेका हुन् । अहिले बिहान पनि उनीहरु त्यही ओढारमा रहेको खबर प्राप्त भएको छ । संघीय सांसद हितबहादुर तामाङले गए रातीनै आफ्नो फेसबुक पेज मार्फत् उनीहरुको अवस्थाको बारेमा सार्वजनिक गरेका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘१५० जना बोल्चोकको लामा टिवा ऊ (लामा गुफा बस्ने ओढार)मा बसिरहेको खबर स्थानीयले दिएका छन् । सिसिवुदेखि उत्तर माथि सेम्बोजेमा जमिन फाँटेको र यार्सापानी जाने सडकको कान्ला साइटको ठाउँ ठाउँमा पहिरो गइरहेको छ ।’

स्योलोलोको ओढारमा बाधेको २ वटा गाई पहिरोकै कारण उद्धार गर्न सम्भव नभएको पनि सांसद तामाङले बताए । त्यसका साथै तीनदिन देखि लगातार परिरहेको पानीले तालु, कसेरी हुँदै बग्ने खोलाको पानी ज्यादै धमिलो आईरहेको छ । तुरुन्तै अस्थायी वासस्थानको व्यवस्थापन गर्न नसक्ने हो भने ति नागरिकहरु असुरक्षित बन्दै जाने र पहिरोबाट भाग्दै हिडेर सम्भब नहुने सांसद हितबहादुर तामाङले बताएका छन् । उनीहरुको जीवन रक्षा र सुरक्षित बासास्थानका लागि जिल्ला प्रशासन कार्यालयबाट काम हुन लागेको उनले जानकारी दिए ।

बागमती प्रदेशका उप सभामुख राधिका तामाङले जो जहाँ छन् सुरक्षित रुपमा रहन र सहयोगको प्रतीक्षा गर्न आग्रह गरेका छन् । आफु निको भएपनि स्वकिय सचिव कोभिड–१९ बाट संक्रमित भएर आइसोलेसनमा रहेकोले तत्कालै घटनास्थल पुग्न नसकेपनि आफ्नो तर्फबाट यथासक्य छिट्टो नागरिकहरु सुरक्षित राख्नका लागि काम भइरहेको जानकारी उनले दिएका छन् । फेसबुक पेज मार्फत् त्यहाँका नागरिकहरुलाई धैर्य गर्न उप सभामुख तामाङले अपिल गरेका छन् । पर्याप्त खानेकुरा, अस्थायी आवासका लागि आवश्यक सामाग्री सहित स्थानीय सरकार र स्थानीय प्रशासन गाउँ जाने तयारी भइरहेकोले सुरक्षित रहेर प्रतीक्षा गर्न आग्रह उनले गरेका छन् ।

ओढारबाट रातभरि फोन आइरहेको छ

दुप्चेश्वर गाउँपालिकाका लालबहादुर तामाङले ओढारमा बसेका धेरै मासिहररु राती भोकै परेको बताएका छन् । आजबाट कसरी र कहाँ बस्ने र के खाने भनेर उनीहरु अन्यौलमा छन् । ‘रातभरि फोन आएको छ ओढारमा बस्नेहरुबाट’, उनले भने– ‘महिला बालबालिकाहरुको रुवाबासी छ, कसरी व्यवस्थापन गर्न सकिएला भनेर, आज बिहानै केही साथीहरु उहाँहरु भएको स्थानका लागि परिचालन गराएका छौं ।’

पर्याप्त खानेकुरा समेत बोक्न नभ्याएका उनीहरुलाई खानेकुराको अभाव भएको छ । अलिहेपनि पानी परिरहेका कारण उनीहरु चिसोबाट संक्रमित हुन थालेका छन् ।

अर्को गाउँपनि भाँसिन थाल्यो

घ्याङ्फेदीकै अर्को गाउँपनि अहिले बिहानबाट पहिरोको जोखिममा परेको छ । रातीबाट जमिन फाट्न थालेको घ्याङ्डाँडाका तीन टोल असुरक्षित बनेको हो । लालबहादुर तामाङका अनुसार तीन वटा टोलका १९ घर बिस्थापित हुन लागेको छ । ‘बिहान उठ्दा घर वरपरको जमिन चिरिएको र भाँसिएको छ उनीहरु पनि सुरक्षित बासस्थानको खोजीमा छन्, तर वरपरका गाउँनै पहिरोले ढाकेपछि कहाँ जाने भन्ने समस्यामा परे’ तामाङले भने ।

घ्याङ्डाँडाको अच्छु टोलको ६ घर, सिगाछे टोलको ७ घर र बोल्चो टोलको ६ घर जोखिममा परेको लालबहादुर तामाङले जानकारी दिए । ति तीन टोलका १९ घरका नागरिकहरुले अन्यत्र आश्रय लिनुपर्ने भएको छ । अहिले केही सुरक्षित देखिएको खुल्ला चौरमा भेला भएर बसेका १९ परिवारका नागरिकहरु सुरक्षित रहनका लागि याचना गरिरहेका छन् ।

पहिरोले सडकहरु पूर्ण ध्वस्त

सिसिबुका नागरिकहरुको बीचमा गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्य ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिङ तामाङ हिजोसाँझ पहिरो लागेको गाउँ पुगेका थिए । क्षतिग्रस्त गाउँको अवलोकन पछि उनले असुरक्षित स्थानमा नबस्न नागरिकहरुलाई आग्रह गरेका छन् । तत्कालै सुरक्षित ठाउँमा अस्थायी बसोवासका लागि काम गरिने भन्दै उनले नागरिकहरुलाई धर्य गर्न आग्रह गरे ।

चार घण्टाको पैदल यात्रापछि पहिरोको जोखिमयुक्त गाउँ पुगेको अध्यक्ष सहितको टोलीले गाउँ पुरै असुरक्षित देखेको छ । उनका अनुसार ती गाउँका वरपरका वस्तीलाई समेत तत्कालै सुरक्षित स्थानमा सार्नु आवश्यक छ । ‘पहिरो नै पहिरोको बीचमा प्रायः गाउँ फसेको देखिन्छ, निक्कै कष्टपूर्ण तरिकाले आइपुग्यौं, अस्थायी आवासका लागि आवश्यक टेन्ट, अन्य सामाग्री ल्याउन पनि मुस्किल नै हुने देखिएको छ, सक्दो छिट्टो यहाँ आवश्यक सामाग्रीहरु ल्याउनका लागि कसरी सम्भव हुन्छ भनेर योजना बनाइरहेका छौं’ गाउँपालिका अध्यक्ष तामाङले भने ।

गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले वर्षा केही कम भए नागरिकहरुको दैनिकी सहज हुने बताए । घण्टौं हिडेर मात्रै गाउँ पुग्ने अवस्था रहेको र ग्रामिण सडकहरु पहिरोले पूर्ण रुपमा ध्वस्त बनेको उनले जानकारी दिएका छन् । ‘तलबाट तत्कालै सहयोग सामाग्री लैजान समेत गाह्रो पर्ने अवस्था छ, तै पनि हामी प्रयास गरिरहेका छौं’ उपाध्यक्ष आचार्यले भने ।

२४ भाद्र २०७७, बुधबार १०:२१



तपाईको प्रतिक्रिया