२० हजारले गरे दुप्चेश्वर मेला अवलोकन

रामती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ राउतबेँसीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यो वर्षको मेला सम्पन्न भएको छ । यही मंसीर १७ गते एकादशीबाट सुरु भएको मेला उत्साहका साथ शनिबार द्वितीयाको दिन सम्पन्न भएको हो । पशुपतिनाथकै रूपमा परिचित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको दिन विशेषरूपमा मेला लाग्ने गाउँपालिका अध्यक्ष एवं दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष शंकरबहादुर थापाले बताए । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष हुन नसकेको मेलामा यस वर्ष २० हजारभन्दा बढीले अवलोकन गरेको पुजारी भगवानहरि धितालले बताएका छन् । धान्य पूर्णिमामा दिन भने मेलामा झण्डै सात हजारभन्दा बढी भक्तजनको सहभागिता थियो । करिब चार सय वर्षअघि राउतबेँसीका स्थानीय वासु तामाङको गाई सूर्यमती (तादी) नदी किनार छेउको भिरमा पुगेर बच्चा जन्माई भगवान्लाई दूध चढाएर बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेवको रूपमा पुज्दै आइएको छ ।

‘दुप्चेश्वर क्षेत्र विकास कोष’का कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार गाईले दूध चढाइ बसेकाले सुरुमा दुधेश्वर महादेवको स्थानसमेत भनिने गरेको र पछिल्लो समयमा अपभ्रंश हुँदै दुप्चेश्वर महादेवको नाम रहन गएको हो । समुद्रमन्थन गर्दा निक्लिएको कालकुट विष सेवनबाट छट्पटिएका महादेव शिव काठमाडौंको पशुपतिनाथ मन्दिर हुँदै नुवाकोटको दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड पुगेको किंवदन्तीसमेत छ ।

दुप्चेश्वर मेलाको चिनोका रूपमा बाँस र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नुलगायत हस्तकलाका सामग्रीको कारोबार हुने गरेको छ ।

२६ मंसिर २०७९, सोमबार १०:२९



तपाईको प्रतिक्रिया