नसुघ्रिएको सडक

ककनी । असोज ८ गते ककनी गाँउपालिका वडा नम्बर २ मा सडकको दबदबेमा एम्बुलेन्स फस्दा १ जनाको मृत्यु भयो । निकै प्रयत्न गरि एम्बुलेन्स खोजि ३९ बर्षिका बिनोद लामालाई राजधानीको अस्पताल लैजाने क्रममा सडकमा एम्बुलेन्स फस्दा मृत्यु भएको हो । यस्तै, दुई महिनाअघि पनि अस्पताल पु¥याउन ढिला हुँदा ककनीकै एक बिरामीको मृत्यु भयो ।

सडक बढाउने भनेर लथालिङ्ग पारेर छाड्दा ककनी गाँउपालिकाका नागरिकहरुले अकालमा ज्यान गुमाउनु परिरहेको छ । ठेकेदारले बेलैमा सडक बनाइदिएको भए बिरामीको ज्यान बच्ने स्थानियहरुको भनाई छ । राजधानीका काठमाण्डौबाट ३५ किलोमिटरको दुरीमा रहेको ककनी गाँउपालिकाको क्षेत्रमा लथालिङग सडककै कारण बिरामीको मृत्यु हुने गरेको छ । ककनी गाँउपालिकाबाट बिरामी जिल्ला अस्पताल त्रिशुली ल्याउन भन्दा काठमाडौं पु-याउन छिटो हुने गरेको छ । तर राजधानी पुग्ने बाटोका कारण नागरिकहरुको अकालमा मृत्यु हुने गरेको छ ।

सडक स्तरउन्नतीको लागी २०७१ सालमा नै ठेक्का भएको थियो । तर स्तरउन्नतीको नाममा कहिकतै डोजर लगाएर भत्काउने बाहेक अरु काम हुन सकेको छैन । ठेकदारले बालाजु–त्रिशूली सडक अन्तर्गत काठमाडौंको बालाजुदेखि नुवाकोटको पीपलटारसम्म स्तरोन्नति गर्न ०७०-७१ सालमै जिम्मा लिए पनि काम पूरा नगर्दा उक्त सडक भएर आउजाउ गर्नेहरूले सास्ती व्यहोर्नु परिरहेको छ ।

ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा सडक लथालिङ्ग हुँदा आफूहरूले स्थानीयबाट धेरै गाली खानुपरेको बताउछन् । ठेकेदार कम्पनी र माथिल्लो निकायमा पटक पटक गुनासो गर्दा पनि सडक स्तरउन्नती हुन नसकेको उनकै गुनासो छ ।

बालाजु–त्रिशूली, पीपलटार–रानीपौवा सडकको ठेक्का दिनेशचन्द्र अग्रवाल–नागार्जुन–कोसी एन्ड न्यौपाने जेभीले लिएको हो । उक्त सडक स्तरोन्नतिका लागि २०७२ मा ४० करोड रुपैयाँमा ठेक्का लागेको थियो । उक्त कम्पनीले जरिवानाबाट जोगिन गत असार ९ गते एकतर्फी ठेक्का तोडेको छ । ठेकेदारले काम रोक्न असार ११ गते उच्च अदालत पाटनबाट आदेशसमेत लिएको छ ।

ट्राउट हाइवेका रूपमा चिनिने उक्त सडक निर्धारित समयमा नबन्दा व्यवसायमा समेत असर परेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आफूले ठेकदारलाई काम लगाइसकेको दाबी गरेका छन् । काठमाडौं मुड्खुदेखि रानीपौवासम्मको ठेक्का शैलुङ र भारतीय कम्पनी एआईपीएलले लिएको थियो । केही महिना अघि भारतिय कम्पनीले समेत ठेक्काबाट हात झिकेको छ । आर्थिक वर्ष ०७०/७१ मा ठेक्का सम्झौता भएकोमा हालसम्म ५० प्रतिशत मात्र काम भएको छ । उक्त सडक स्तरोन्नतिको लागत अनुमान ३० करोड रुपैयाँ रहेको छ ।

२४ आश्विन २०७७, शनिबार १२:३१



तपाईको प्रतिक्रिया