सडक नबन्दा आउनै छाडे पर्यटक

फाइल तस्बिर

ककनी । नुवाकोट ककनीमा पासाङल्हामु राजमार्ग नबन्दा पर्यटकको संख्या घट्दै गएको छ । झण्डै १० वर्षदेखिको पुनर्निर्माण गर्न भनेर ठाउँठाउँमा भत्किएका सडक अझैसम्म नबन्दा आवतजावतमा समस्या भएको छ भने ककनी आउने पर्यटकसमेत आउन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

‘बाटो बनाउँछौं भनेर नेताहरू आए,’ स्थानीय सोममाया तामाङले भनिन्, ‘भोट दियौं, सडक बनेन । आवतजावत गर्न बर्खामा समस्या छ । यहाँ आउने पर्यटकको संख्या यसअघिभन्दा धेरै घटेको छ ।’ यो काठमाडौं नजिकको पर्यटकीय स्थल हो । यहाँ सरकारी, गैरसरकारी कार्यालयदेखि विद्यार्थीसम्मको वनभोज खान आउने ठाउँ हो ।

यहाँबाट आकाश खुल्ला भएको समयमा लाङटाङ, गणेश, मनास्लु, दोर्जे ल्हाक्पा, अन्नपूर्ण, सान्जेनलगायत दर्जनौं हिमाल अवलोकन गर्न सकिन्छ भने नुवाकोटको थानसिङ, चौघडा, छहरे फाँटहरूको समेत अवलोकन गर्न सकिन्छ ।

‘पहिला आन्तरिकसँगै बाह्य पर्यटक पनि आउने गर्थे,’ ककनी गाउँपालिका ५ घमाइलोका स्थानीय विष्णु तामाङले भने, ‘पहिला धेरै मान्छेहरू आउँथे । व्यापार हुन्थ्यो । अहिले पर्यटक फाटफुटमात्रै आउँछन् । व्यापार पनि घट्यो ।’ ककनी काउले भन्ज्याङदेखि अन्तर्राष्ट्रिय स्काउट तालिम केन्द्रसम्म दुई दर्जनभन्दा बढी साना ठूला होटलहरू छन् । बालाजुदेखि ककनीसम्मको दुरी २० किमि छ । काठमाडौंको मुड्खु, तीनपिप्लेलगायत ठाउँमा सडक सुधार भए पनि नुवाकोटतर्फको सडकको अवस्था अझै पनि उस्तै छ ।

पासाङल्हामु सडकको लागि संघ र प्रदेश सरकारसँग हारगुहार गरेर बनाउन लागिपरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए । ‘७१ सालदेखि सडक हुँदा कति व्यापार हुन्थ्यो, अहिले निराशाजनक अवस्था छ,’ उनले भने । यो जिल्लाबाट काठमाडौंसम्म यात्रा गर्ने पहिलो सडक हो ।

२४ पुष २०७९, आईतवार १५:४७



तपाईको प्रतिक्रिया