३३ लाख ६६ हजारको लागतमा गुम्बा निर्माण हुँदै

घलेभञ्याङ । पञ्चकन्या गाउँपालिका वडा नं. ३ घलेगाउँमा तलाङ ज्योहोलिङ गुम्बाको नयाँ भवन बन्ने भएको छ ।

एक कार्यक्रममा संघीय सांसद एवं पूर्वयुवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नयाँ भवनको शिलान्यास गरेका हुन् । प्रमुख लामा शेरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश सदस्य तेजबहादुर तामाङ, गाउँपालिकाका उपाध्यक्ष सीता खड्का, वडा नं. ३ का अध्यक्ष रामबाबु पराजुली, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सव इन्जियर लक्ष्मीनारायण साह, स्थानीय लामागुरु श्रीमान् लामा, पञ्चकन्या मन्दिरका मूलपुजारी लालबहादुर तामाङ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी उपस्थिति थियो ।

संघीय सांसद तामाङ र प्रदेश उपसभामुख तामाङले निर्माण सुरु भएपछि भवनलाई पूर्णता दिनुपर्ने र त्यसका लागि अपुग बजेट जुटाउन आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले गुम्बाको नयाँ भवन बनाउने वर्षौंदेखिको सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गर्दै बजेटको पहल गर्न‘हुने संघीय सांसद र उपसभामुखलाई धन्यवाद व्यक्त गरेका छन् । गाउँको पुरानो गुम्बा निर्माणमा पहिलेदेखि नै पहल गरेको तर गाउँपालिकाको साधनस्रोतले नभ्याइरहेको अवस्थाले यो सपना अधुरो रहेको उनले बताए । स्थानीय सरकारको नेतृत्वमा आफू आइसकेपछि गाउँपालिकाको तर्फबाट सक्ने सहयोग गर्दै आएको उल्लेख गर्दै अब पनि सहयोग रहने उनको भनाई रहेको छ ।

पञ्चकन्या गाउँपालिका उपाध्यक्ष सीता खड्का पराजुलीले पनि उक्त गुम्बा भवन समयमै सकिने आशा व्यक्त गर्दै निर्माणका लागि नपुग बजेट व्यवस्थापनका लागि संघीय सांसद र उपसभामुख तामाङलाई आग्रह गरे ।

गुम्बा ८ सय स्वायर फिटको मौलिक डिजाइनमा बन्नेछ । गुम्बाका लागि स्थानीय छिरिङ तामाङले १ रोपनी जग्गा उपलब्ध गराएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुनिलदोर्जे लामाले जानकारी दिएका छन् । उनका अनुसार नयाँ गुम्बाका लागि ३३ लाख ६६ हजार ६०८ रुपैयाँ लागत अनुमान छ । जसमा स्थानीय पूर्वाधार विभाग, भूकम्पीय पुनर्निर्णाणामा शाखा पुल्चोक ललितपुरबाट २३ लाख बजेट उपलब्ध हुने छ । बाँकी ३० प्रतिशत बजेटमा आधा स्थानीय सरकार गाउँपालिकाले र गुम्बा व्यवस्थापन समितिले १५ प्रतिशत आर्थिकभार बेहोर्ने समिति अध्यक्ष लामाले बताए ।

२४ माघ २०७८, सोमबार १४:२६



तपाईको प्रतिक्रिया