समृद्ध पञ्चकन्याका लागि आरएसडिसी

च्याउ खेती सम्बन्धी तालिम लिदै पञ्चकन्या गाउँपालिकाका कृषकहरू ।

पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ छापथोकका केशबबहादुर रायमाझीको खुसीको सिमा छैन । घरमा पालेको भैसीबाट राम्रौ आर्थिक जोहो गरौला भन्ने उनलाई केही महिना अघिसम्म लागेकै थिएन । गाउँमै डेरी स्थापना भएपछि उनी अहिले घरको दुध विक्रि गर्छन् र त्यसबाटै राम्रै आम्दानी गर्न थालेका छन् । मिलडाँडा स्वावलम्वन समुहले सञ्चालन गरेको दुध डेरीमा २०७९ साल कात्तिक ७ गतेबाट उनले नियमित रुपमा दुध विक्रि गर्दै आएका छन् । ‘दुध विक्रि हुन थालेपछि मेरो घरमा मिठोमसिनो खाने श्रोत जुटेको छ’, रायमाझी भन्छन्– ‘महिनाको १५/१६ हजार रुपैयाँ आम्दानी हुँदा त, ऋण तिर्न पनि सजिलो हुने भयो मलाई ।’

उनी जस्तै अहिले यहाँका कृषकहरूले आफ्नो उत्पादनबाट राम्रो आर्थिक उपार्जन गर्न थालेका छन् । आफुलाई घरमा पुग्दो दुध र दुधजन्य उत्पादन उपभोगपछि बाँकी रहेको उत्पादनलाई विक्रि गरेर घरलाई आवश्यक अन्य सामाग्री पनि त्यहीबाट जुटिरहेको छ ।

यसरी ग्रामिणस्तरमा आर्थिक उपार्जनको सम्भावनाको खोजी गर्दै त्यसलाई साकार पार्ने अभियानमा ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) जुटेको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि पञ्चकन्या गाउँपालिकामा बस्ती पुनर्निमाण गरी समुदायमा घर हस्तान्तरण गर्न प्रवेश गरेको यो संस्थाको अभियान अहिले सिङ्गै गाउँपालिकाको सर्वाङ्गिण विकासको नमूना कार्यक्रम भएको छ । सिञ्चाई अभावले तरकारी खेती गर्न नपाएका यहाँका कृषकहरूलाई दुध डेरी स्थापनाले भने गाईभैसी पालनको ढोका खुलेको छ । वडा नंं. २ का सपना मिजार तरकारी खेतीका लागि आवश्यक पर्ने सिञ्चाई अभावका कारण नगदे बालीतिर आफुहरू लाग्न नपाएको चिन्तित भएको अवस्थामा गाउँमा सञ्चालन भएको दुग्ध संकलन केन्द्रले राहत मिलेको बताउँछन् । ‘पशुपालनका लागि थोरै पानी भएपनि हुने भएकोले हामीहरूले अहिले गाईभैसी पालेर मनग्य दुध बेच्न थालेका छौं’ उनले भने ।

वडा नं. २ छापथोकका कृषकहरूले आफ्नो घरमा उत्पादन भएको दुध बजारसम्म लैजाने अवस्था पनि थिएन । बजार टाढा भएको र गाउँमा दुध संकलन केन्द्र नभएकै कारण उनीहरूको उत्पादन खेर गएको जस्तै बनेको थियो । तर ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) गठन गरेको मिलडाँडा स्वाबलम्वन समुहले गाउँमै दुध संकलन केन्द्र स्थापना गरेपछि गाउँको आर्थिक चित्र नै बदलिदो छ । संस्थाले गरेको यो कार्यमा स्थानीय सरकारले समेत हातेमालो गर्दै पञ्चकन्या गाउँपालिकाले पाँच सय लिटरको चिलिङ्गभ्याट मेसिन उपलब्ध गराएको छ । आरएसडिसीले डिपफ्रिज समेत थप सहयोग गरेको छ । २०७९ भदौ २२ गतेबाट सञ्चालनमा आएको दुध संकलन केन्द्रमा अहिले ३७ जना कृषकले दुध विक्रि गर्छन् । मिलडाँडा स्वाबलम्वन समुहका अध्यक्ष संगम मिजार गाउँमा आफुहरूले सञ्चालन गरेको दुध संकलन केन्द्र प्रभावकारी बनेको बताउँछन् । उनका अनुसार संकलन केन्द्र सुरु हुनुपुर्व गाउँका कृषकहरूले दुध आफुले मात्रै प्रयोग गर्नुपर्ने अवस्था थियो । ‘अब अवस्था फेरिएको छ, कृषकहरूले विहानै दुधको बालटिन झुण्ड्याएर डेरी तिर आउँछन्’ मजिारले भने ।

२०७२ सालमा साविकका शिवपुरी, थानापती, चौघडा र सुर्यमती गाविसमा ‘विपन्नताबाट मुक्तिका लागि स्वावलम्बन’ मार्फत नुवाकोट जिल्लाको विकासमा साझेदारी गर्न प्रवेश गरेको ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले तत्कालिन समयमा पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १ आँपचौरमा २५५ घरधुरीको पुनःनिर्माणमा सहजिकरण गरेको थियो ।

बिनाशकारी भुकम्पले क्षतीग्रस्त भएका नागरिकहरूको निजी आबास पुनःनिर्माणसँगै गाँउपालिकाकै आग्रहमा पुनः बिकासमा साझेदारी गर्न सुरु गरेको हो । यस कार्यक्रमलाई भूकम्प प्रभावित समुदायको प्रतिरोधी क्षमता अभिवृद्धि परियोजना भनिएको छ । स्वावलम्बन विधि पद्दती अनुसार यस कार्यक्रमलाई लागू गरी परियोजनाको उद्देश्य हासिल गर्ने केन्द्रको सोच पुरा हुँदै गएको छ । कार्यक्रम लागू गर्न माल्टेजर इन्टरनेशल र बिएमजेटबाट आर्थिक सहयोग प्राप्त छ ।

भद्रुटारमा स्थापना भएको सहकारीको पहिलो साधारण सभा ।

५ वटा वडा रहेको पञ्चकन्या गाँउपालिकामा सबै वडाहरूमा नागरिकहरूको प्रत्यक्ष जनसहभागितामा संस्थाले काम गर्दै आएको छ । बिनाशकारी भुकम्पका कारण क्षती भएको घरको पुनःनिर्माण सम्पन्न पछि उनीहरूको जिबिकोपार्जनमा सुधार ल्याउन आरएसडिसीले बिबिध ४ क्षेत्रमा काम गर्दै आएको हो । जसमा संस्थागत बिकास, जिबिकोपार्जन, खानेपानी तथा सरसफाई र प्रकोप जोखिम न्युनिकरणको बिधामा काम गर्दै आएको छ । सिञ्चाई कुलो निर्माण, उच्च स्थानमा पोखरी निर्माण, तरकारी खेतीको लागी टनेल सहयोग, प्लाष्टिक पोखरी निर्माण लगायतको कामलाई आरएसडिसीले महत्वपुर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ । स्थानीय सरकारसँगको सहकार्यमा यस संस्थाले जर्मन सरकार मालटेजर ईन्टरनेसनलको आर्थिक सहयोगमा जनसमुदायको मागमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै ग्रामिण बिकास तथा स्वाबलम्बन बिकास केन्द्रका फिल्ड संयोजक साधुराम सापकोटा बताउछन् ।

पञ्चकन्या गाँउपालिकाको वडा नम्बर १ को गएको वर्षबाट झण्डै २ सय रोपनी क्षेत्रफलमा अहिले तरबुजा खेती सुरु भएको थियो । त्यस भन्दा अघिसम्म सामान्य रुपमा १/२ झाल तरबुजा रोप्नेहरूले अहिले सयौं रोपनीमा खेतीनै गरिरहेका छन् । अरु खेती भन्दा तरबुजाको खेतीले राम्रो आम्दानी दिएको देखेपछि यो खेतीमा आकर्षित भएको पञ्चकन्या गाँउपालिका वडा नम्बर १ बानियाँटारका रामप्रसाद लामिछाने बताउछन् । २०७१ सालतिर यो गाउँमा तरबुजा खेती भित्रिएको भएपनि ठुलो क्षेत्रफलमा ब्यववसायीक रुपमा तरबुजाको खेती थालिएको अहिलेमात्रै हो । अघिल्लो वर्ष भएको उत्पादनलाई बजारिकरण गर्न समस्या नभएपछि यहाँका कृषकहरू यसप्रति आकर्षित भएका हुन् । उनीहरूको उत्पादनलाई स्थानीय तह र ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले बजारको ब्यबस्थापनमा सघाएको छ । वडा नं. १ बानियाँटारका रामप्रसाद लामिछाने यहाँको माटो सुहाउदो कृषि उत्पादनको रुपमा तरबुजा भएको बताउँछन् । थोरै लगानीमा धेरै आम्दानी हुने भएकोले यहाँका कृषकहरूले अहिले यही खेतीमा आकर्षित भएको उनको भनाई रहेको छ । उनी भन्छन्– ‘तरबुजाको लागि बजारको समस्या समेत नहुने, जत्ति उत्पादन भएपनि विक्रि भइरहेको छ ।’

पञ्चकन्या गाउँपालिका वडा नं. १ का जानुका लामिछानेलाई समेत तरभुजा खेतीले घर चलाउनका लागि राम्रो मद्दत गरेको छ । पलिा धान खेतीबाट प्रति रोपनी ५/६ हजार रुपैयाँ मात्रै आम्दानी गर्ने उनले अहिले तरबुजा खेतीबाट यही जमिनबाट ५० हजार रुपैयाँ कमाएका छन् । उनी अब चार रोपनी जमिनमा तरबुजा खेतीको तयारीमा छन् ।

पञ्चकन्या गाँउपालिका वडा नम्बर ४ को सिञ्चाईकुलो व्यवस्थित नहुँदा यहाँका कृषकहरूले पाउनु सास्ती पाए । भुकम्पपछि लथालिङ्ग बनेका यहाँको सिञ्चाई प्रणालीलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले व्यवस्थित पारिदिएको छ । अहिले ग्रामिण स्वाबलम्बन बिकास केन्द्रको सहयोगमा सिञ्चाई कुलोको पुननिर्माण सम्पन्न भएपछि २०० रोपनी खेतमा सिञ्चाई भएको छ । जनसहभागितामै सञ्चालनमा आएको कुलोले त्यस क्षेत्रका नागरिकहरूलाई ब्यस्त बनाउन थालेको छ । खेतको सिरानबाट कुलो बग्न थालेपछि तरकारी खेती तथा नगदेबाली लगाउन थालिएको छ । बाँझै रहेको खेतबाट उब्जाउ भएपछि घरमा हरियो तरकारी खान पाएसंगै बिक्रिबाट सामान्य खर्च समेत पुग्न थालेको छ । घरको नुन तेल अहिले यहि सिञ्चाई कुलोले जोहो गर्न सजिलो भएको रामकृष्ण कँडेल बताउछन् ।

गाउँपालिकामा आरएसडिसीले गरेको सिञ्चाईको काम यो प्रतिनिधिमूलक मात्रै हो । पञ्चकन्या गाँउपालिका क्षेत्रमा एक दर्जन सिञ्चाई कुलोको मर्मत सम्भार सम्पन्न भएको छ । संस्थाले राखेको रकम बराबर नै किसानहरूको सहभागिता रहेको छ । किसानहरूको प्रत्यक्ष सहभागितामा जनश्रमदान सहित मर्मत सम्भार सम्पन्न भएको सिञ्चाई कुलोले धेरैको जनजीवन फेरिदिएको छ ।

यस गाउँपालिकाको वडा नं. ३ कात्तिकेका हुमराज थापा एकीकृत तरकारी तथा पशुपंक्षी फर्म नै स्थापना गरेर आफ्नै करेसाबारीबाट दैनिक आम्दानी गरिरहेका छन् । आरएसडिसीकै कारण केही गर्छु भन्नेहरूलाई आत्मबल थपिएको उनी सुनाउँछन् । उनी जस्तै पञ्चकन्या गाँउपालिकाको ५ वटै वडामा न्युन आय भएका किसानका लागी उद्यमशिलता तालिम सञ्चालन भएको छ । ब्यबसायिक रुपमा उत्पादन तथा बजारिकरणको लागी उद्यमशिलता तालिम सञ्चालन गरि उनीहरूलाई ब्यबसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको छ । कुखुरा पालन, टनेल खेती, सिलाई बुनाई र संस्थागत बिकास तर्फ संस्था केन्द्रित छ । किसानहरूलाई कुखुरा पालनका लागी भाँडाकुँडा समेत उपलब्ध गराएको छ । तालिम, ज्ञान सिप र दक्षतासँगै आबाश्यक औजार समेत सहयोग भएपछि कुखुरा पालनले व्यवसायिक आकार लिएको छ । पञ्चकन्या गाउँपालिका वडा नंं २ का बैकुण्ठ मिश्र धेरै वर्ष अघि देखि ब्यवसायीक रुपमा कुखुरा पाल्दै आएका किसान हुन् । तर उनलाई यस संस्थाले गाउँमा गठन गरेको समुहमा बसेर कुखुरा पालन गर्दा धेरै सजिलो भएको छ । ‘आवश्यक ज्ञान र परार्मश पनि पाइने, कुखुरा पाल्न चाँहिने भाँडाकुडा पनि संसथाले सहयोग गरेको छ’ मिश्रले भने ।

उनी जस्तै यो परियोजनाबाट वडा नं. २ सहरेटार काल्नेका अर्जुन श्रेष्ठ समेत लाभान्वित भएका छन् । अहिले नवौं पटक कुखुरा पालिरहेका उनलाई यस संस्थाले सहयोग गरेपछि सुविधा मिलेको छ ।

पञ्चकन्या गाँउपालिका वडा नम्बर १ का गम्भिरबाहादुर मानन्धरको कृषि जीवन र खेतिपाती गर्ने तरिका फेरिएको छ । सामान्य रुपमा घरमा खेती किसानी गर्दै आएका उनलाई संस्थाले टनेल प्लाष्टिक सहयोग गरेको छ । अघिल्लो बर्षबाटनै उनले टनेलमा गोलभेडा लगाउन थालेका हुन् । परम्परागत रुपमा खेती गर्दै आएका उनी आफैलाई आधुनिक खेती प्रणाली तर्फ प्रवेश गरेको महशुस भएको छ । संस्थाको सहयोगबाट नै उनी ब्यबसायिक खेतीमा लागेका छन् । उनी भन्छन्– ‘आलु खेती मात्रै गर्दै आएको मलाई संस्थाका कारणले खेतीपातीबाट धेरै आम्दानी हुने बाटो खुल्यो, वर्षौदेखि उस्तै खेती गर्दै आएको मलाई संस्थाको सहयोगले उत्साह मिलेको छ ।’

उनी जस्तै अर्का किसान हुन् पञ्चकन्या गाँउपालिका वडा नम्बर १ का सरस्वती लामिछाने । उनलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले ब्यबसायिक रुपमा तरकारी खेती गर्ने सिप मात्रै सिकाएको छैन, सामाग्रीहरू समेत सहयोग गरेको छ । ‘आफुलाई खान पुगेर पनि विक्रि गर्न थालेको छु, अहिले गोलभेडा, खुर्सानी खेती गरिरहेको छु, त्यसका लागि आवश्यक सामाग्री समेत लाई संस्थाले दिएको छ’ लामिछानेले भने ।

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले पञ्चकन्यामा नयाँ ब्यवसायीको उत्पादनसँगै नयाँ कृषि उपजको समेत सुरुवात गरेको छ । महङ्गो मानिने सिताके च्याउको बिस्तार समेत परियोजनाले गर्दै आएको छ । पञ्चकन्या गाँउपालिकाको वडा नम्बर ४ थप्रेकका डिल्लिबहादुर श्रेष्ठले अहिले सिताके च्याउ काठमा रोपेका छन् । एक पटकको उत्पादन विक्रि गरिसकेका उनलाई अब थाहा छ कि अन्नबालीमा भन्दा यसमा फाइदा राम्रो हुनेछ । थोरै स्थानबाट धेरै उत्पादन दिने र मनग्य आम्दानी हुने भएपछि यसरी उनको लगाव देखिएको छ । ‘सिताके च्याउ खेतीको तालिम लिएर काम सुरु गरेको छु, मलाई अन्नबालीबाट भन्दा यसबाट राम्रो आम्दानी हुन्छ भन्ने संस्थाले नै सिकाएको हो’ उनले भने ।

यस अघिका विभिन्न काम र परियोजनाबाट मनग्य आर्थिक उपार्जन गरेको पञ्चकन्या गाउँपालिका नागरिकहरूलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्र प्रायःका घरको राम्रो कमाई गर्ने परिवारको सदस्य जस्तै बनेको छ । पञ्चकन्या गाँउपालिकामा पछिल्लो समय सञ्चालन गरेको परियोजनामा ५ करोड साढे ३९ लाख रुपैयाँ भन्दा बढी समुदायमा खर्चेको छ । संस्थाले उद्यमशिल महिलाहरूलाई लक्षित गरेर सिलाइकटाईको तालिम र त्यसका लागि आवश्यक प्रविधि समेत सहयोग गरेको छ । पञ्चकन्या वडा नं. २ मिलडाँडाका लक्ष्मी सुनार ग्रामिण स्वाबलम्बन बिकास केन्द्रकै आयोजनामा भएको आधारभुत सिलाईकटाई तालिम लिएर अहिले डिप्लोमा कक्षको तालिम लिइरहेका छन् । उनी भन्छन्– ‘ अब म आफ्नै सिपबाट व्यवसाय सञ्चालन गर्ने छु ।’

यसरी पञ्चकन्या गाँउपालिकाको सर्बाङ्गिण बिकासका लागी ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले काम गर्दै आएको छ । न्युन आय भएका नागरिकहरूलाई समुहमा राखेर घुम्ती कोषको रकम परिचालन, ब्यवसायी उत्पादनमा यस संस्थाले सहयोग गर्दै आएको छ । समुह निर्माणसँगै समुहमा रहनेहरूको ब्यक्तिगत तथा नेतृत्व बिकासका लागि समेत संस्थाले काम गर्दै आएको ग्रामिण स्वाबलम्बन बिकास केन्द्र नुवाकोटका कार्यक्रम संयोजक धिरेन्द्रकुमार आरसी बताउछन् । ‘सामाजिक परिचालन र आर्थिक आयआर्जन, स्वास्थ्य सरसफाई र जोखिम न्युनिकरणमा हामीले प्राथमिताका साथ काम गर्यौ’ आरसीले भने– ‘त्यस बाहेक स्वास्थ्य केन्द्रहरू लक्षित कार्यक्रम, एम्बुलेन्स खरिदका लागि गाउँपालिकालाई आर्थिक सहयोग र विद्यालयस्तरमा विभिन्न किसिमका कार्यक्रमहरू भएका छन् ।’

आरएसडिसीको सहयोगमा गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स ।

उसो त स्थानीय सरकार अर्थात् पञ्चकन्या गाँउपालिकाले पनि संस्थागत सहकार्यमा कुनै कसर बाँकी राखेको छैन । पञ्चकन्या गाँउपालिकामा यस संस्थालाई भित्र्याउने देखि कार्यक्रम निर्माण र सञ्चालनसम्ममा गाँउपालिका आफै अग्रसर भएको पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ बताउछन् ।

संस्थागत बिकाससँगै, आधुनिक कृषि प्रणालीको बिकास, स्वास्थ्य तथा सरसफाई कार्यक्रम लगायतमा गाँउपालिकासँग साँझेदारी गर्दै आएको छ । विश्व महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि संस्थाले गाउँपालिकालाई १४ लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो । अहिले गाउँपालिकालाई संस्थाले एम्बुलेन्स खरिद गर्नका लागि १६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ र उक्त एम्बुलेन्स गाउँपालिकामा भित्रिसकेको छ ।

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले पञ्चकन्या गाँउपालिका बेसार खेती, अकबरे खुसार्नी लगायतमा पनि नमुनाको रुपमा सुरुवात गर्न थालेको छ । बाँदर लाग्ने स्थानमा यस्ता खेती प्रभाबकारी हुने भएपछि केरा, बेसार र खुसार्नीको खेती थालिएको हो । ग्रामिण स्वाबलम्बन बिकास केन्द्रको सुरुवाती यो काममा पनि यहाँका नागरिकहरू खुसी देखिएका छन् । नागरिकहरूको दुःखमा साँझेदारी गर्न आईपुगेको आरएसडिसीको कामबाट सबै लाभाम्बित भएका छन् ।

यत्ति मात्रै पनि होइन कृषकहरूको समुह बनाउँदै उनीलाई उद्यमी बनाएको संस्थाले यहाँ सहकारी नै खडा गरेको छ । कृषकहरूलाई संगठित गर्दै संस्थागत विकासमा ग्रामिण स्वाबलम्बन बिकास केन्द्र लागि परेको वडा नं. ५ को भद्रुटार स्वाबलम्वन कृषि सहकारी संस्थाका अध्यक्ष गोकर्ण गिरी बताउछन् । ‘कृषकहरूलाई उद्यमी बनाउनका लागि यस संस्थाको परियोनना र यस अन्र्तगत गठन भएका समुहहरू सफल भएका छन्’ उनले भने ।

महिलाहरूलाई उद्यमी बनाउनका लागि ग्रामिण बिकास तथा स्वबलम्बन बिकास केन्द्रले समुदायमा क्रिष्टल बनाउने तालिम समेत सञ्चालन गरेको छ । तामिलबाट सिप लिएकाहरूले उत्पादन गरेको क्रिष्टलका माला पञ्चकन्या गाउँपालिकाका बजारमा पाइन्छ ।

गाँउपालिकाको ३ हजार घरधुरीलाई समेटेर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको ग्रामिण बिकास तथा स्वबलम्बन बिकास केन्द्रको कार्यक्रममा प्रत्यक्ष रुपमा ७२ वटा स्वाबलम्बन समुह निर्माण भई १८ सय २९ घरधुरी लाभान्वित छन् । यसरी पञ्चकन्या गाँउपालिकाको सर्बाङ्गिण बिकासका लागी ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले काम गर्दै आएको छ ।

९ माघ २०७९, सोमबार ०५:३१



तपाईको प्रतिक्रिया