कर्मचारी भन्दा पहिला कार्यालय पुग्ने गाउँपालिका अध्यक्ष

शिपवुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा

नुवाकोट (शिवपुरी शेराबगर) । राज्य पुनर्संरचनासँगै सरकारले २०७३ साल फागुन २७ गतेको निर्णयबाट साबिकको तलाखु, छाप, सिक्रे, लिखु, महाकाली, समुन्द्रादेवी, सुनखानी र थानापति गाउँ विकास समितिलाई गाभेर शिवपुरी गाउँपालिका गठन गरेको थियो । मलुक सङ्घीय संरचनामा गएपछि भएको पहिलोपटकको स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते सम्पन्न भएको थियो । उक्त निर्वाचनबाट शिवपुरी गाउँपालिकाको अध्यक्षमा रामकृष्ण थापा निर्वाचित भए । उनी निर्वाचित भएर आएपछि जनताको अपेक्षा पूरा गर्ने प्रशस्त कार्यको थालनी गरे । जुन कार्यबाट गाउँगाउँमा सिंहदरबारको नारालाई नागरिकस्तरबाट सत्य साबित वा प्रमाणित गराउन उनको दिनरातको प्रयासले सफल भइरहेको छ । उनको कार्य गराइअनुसार जनताको स्थानीय सरकारप्रतिको अपेक्षालाई विश्वासमा परिणत गराउन सबै कार्यपालिका सदस्य र वडासदस्य दत्तचित्त भएर लागे । कार्यपालिकाका सबैको साथ र सहयोग, विपक्षको सकारात्मक सल्लाह, सुझावले जनविश्वास प्राप्त गरेको उनी बताउँछन् । थापा भन्छन्, ‘चुनावी महाअभियानमा घोषणापत्रमार्फत मतदातासमक्ष प्रतिबद्धता गरेका कुरालाई कार्यान्वयन गरी नागरिकलाई आधारभूत सेवा–सविधा प्रदान गर्न कार्यपालिका टिम एकमत भएर लागेका छौँ ।’

नागरिकसंग साक्षात्कार गर्दै अध्यक्ष थापा

गाउँपालिकामा अध्यक्ष भएर आउँदा कार्यकारी अधिकृतका साथ पाँच–सातजना कर्मचारीबाट काम सुरु गरेको बताउने थापा अझैसम्म कर्मचारी पर्याप्त नभएको गुनासो गर्छन्, ‘तैपनि हामीले जनताको सेवा मात्र होइन, देखिने र महुसस गर्ने गरी विकास गरेका छौँ । मेरो नेतृत्वमा रहेको टिमले शिवपुरी गाउँपालिकाको गुरुयोजना निर्माण गरेको छ । भिलेज प्रोफाइल बनाएका छौँ ।’ गाउँपालिकाले गरेको सर्भेमा पाँच हजार ८१५ घरपरिवार सङ्ख्या रहेकोमा अहिले पाइप धारा कम्पाउन्डमा ३२.१८ प्रतिशत, सार्वजनिक धारा ५८.८ प्रतिशत र अन्य ९.३ प्रतिशत रहेको छ । दुई हजार पाँच सय परिवारले ‘एक घर एक धारो’ कार्यक्रम मार्फत स्वच्छ पिउने पानीको सुविधा जनताले लिइरहेका छन् ।

‘आठवटै वडाका बस्तीस्तरमा सडक पु-याएका छौँ,’ थापाले भने, ‘३१३ किलोमिटर कच्ची सडक र २२ किलोमिटर कालोपत्रे भइसकेको छ ।’ गाउँपालिकाको केन्द्रमा १० बेडको अस्पताल स्थापना गरेर एमबिबिएस डाक्टरसहितको विशेषज्ञ सेवा र एक्सरे, भिडियो एक्सरे, ल्याबसहितको सेवा गाउँपालिकावासीले पाइरहेका छन् । पालिकामा एम्बुलेन्ससहित आठवटा स्वास्थ्यचौकी र दुईवटा उपस्वास्थ्यचौकीले सेवा प्रवाह गरिरहेका छन् । पालिकामा एक आयुर्वेद अस्पतालमार्फत आयुर्वेदिक उपचार सेवा प्रवाह भइरहेको छ । अध्यक्ष थापाको कार्यकालमा अधिकांश विद्यालयको भवन निर्माण पूरा भएको छ । शिक्षक दरबन्दी व्यवस्थापन भइरहेको छ । उनको कार्यकालमा कृषि तथा पशुपालनमा पनि उल्लेखनीय काम भइरहेको छ । किसानलाई कृषि औजारमा बढी लगानी गरेका छौँ भन्ने थापाको नेतृत्वमा किसानलाई सामूहिक रूपमा व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायमा उत्प्रेरित गर्न कम्तीमा तीनदेखि पाँचजनाको समूह बनाई अनुदान र बजारीकरणमा सहयोग गरिरहेको छ । पालिकाले दूध उत्पादनमा प्रोत्साहन गर्न उत्पादनको आधारमा प्रतिलिटर दूधमा तीन रुपैयाँ अनुदान दिएको छ भने दशवटाभन्दा बढी दहुना गाई, भैँसी पाल्ने कृषकलाई गोठ सुधारका लागि एक लाखसम्म अनुदान दिएको छ । २५ भन्दा बढी बाख्रापालन गर्ने कृषकलाई गोठ सुधारका लागि २५ हजार (दलितको हकमा ५० प्रतिशत)सम्म अनुदान दिएर पशु पालनमा पनि व्यावसायिक बनाउन प्रोत्साहन गरिरहेको उनले बताए ।

निर्वाचित भएपछि मतदाताको गुनासो सुन्न घरघरमा पुग्दै अध्यक्ष थापा

गाउँपालिकाको प्रशासनिक भवन र आठवटा वडामध्ये सात वडाको प्रशासनिक भवन बनिसकेको छ । वडा नं. १ को भवन निर्माणाधीन अवस्थामा रहेको छ । पाँच वर्षअघिको शिवपुरी र अहिलेको शिवपुरीको अवस्थामा धेरै परिवर्तन आएको देख्दा गाउँपालिकावासी दङ्ग देखिन्छन् । विकास गर्न त सकिन्थ्यो, तर बजेट भएन, केन्द्र, प्रदेश सरकारले दिएन भन्नेलाई गतिलो झापड दिएका छन् शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले । उनले स्थानीय स्रोत, साधन परिचालन तथा केन्द्र र प्रदेशबाट प्राप्त बजेट स्थानीयको मागको आधारमा विनियोजन गरेका छन् । थापाले यो कार्यकालमा पालिकालाई समृद्धितर्फ उन्मुख गराइरहेका छन् । चार वर्ष नौ महिनाअघि अध्यक्ष भएर थापा पालिका प्रवेश गर्दा कार्यालय तथा वडा, अस्पताल र विद्यालय भवनविहीन अवस्था थियो । शपथगहण गरेर पालिका छिर्दा ५–६ वटा प्लास्टिकको कुर्सीबाट सेवा सुरु गरेका थापा जिल्लाको १२ वटा पालिकामध्ये प्रशासनिक कार्यालय भवन बनाउनेमा पहिलो भएका छन् । एउटै भवनमा सबै इकाइ अटेको छ । जसका कारण सेवागाहीलाई सेवा लिन अहिले सहज भएको छ ।

थापा अध्यक्षमा निर्वाचित भएर गाउँपालिका कार्यालय प्रबेश गर्दा

कुण्डला मावि भद्रुटारमा लामो समय प्रधानाध्यापकको जिम्मेवारी बहन गरेका थापाले गाउँपालिकाको समस्यालाई नजिकबाट बुझेका छन् । स्थानीयको मागको आधारमा योजना बनाएर काम गरेकाले थापाको विरोधमा आफ्नै पार्टी र विपक्षले समेत औँला ठड्याउन सक्ने अवस्था रहेको छैन । थापाले वडा नं. १ को चिसापानीमा भ्युटावर निर्माणको प्रक्रिया अघि बढाएका छन् । धर्म–संस्कृतिको जगेर्ना गर्ने कार्य पनि योजनाबद्ध रूपले अगाडि बढाएका छन् । यसका लागि विभिन्न जातजाति र धर्मसँग सम्बन्धित मठमन्दिर, गुम्बा, मरणघाटलगायतका अन्य पक्षलाई वर्षैपिच्छे बजेट विनियोजन गरी विकासको कामलाई तीव्रता दिएका छन् । गाउँपालिकाको आठवटै वडालाई समेटेर ७० किलोमिटर दूरीको रिङरोड निर्माण कार्यका लागि बजेट विनियोजन गरेर सडक निर्माण कार्य सम्पन्न हुने प्रक्रियामा छ ।

कोल्ड स्टोर्सको निर्माण अन्तिम चरणमा पुगेको छ भने खेलकुद गतिविधि सञ्चालन गर्न रंगशाला निर्माण गराएर खेलकुदलाई समेत प्राथमिकता दिएका छन् । गत वर्ष शिवुपरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुनु यसैको ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । कुण्डला माविलाई भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिले भरिपूर्ण बनाएर अवकाश लिएका थापाले गाउँपालिकालाई पनि शून्यबाट सुरु गरेर पूर्वाधारको जग कोही कसैले अदलबदल गर्न नसक्ने गरेर बसाएका छन् । गाउँमा उनलाई पालिका अध्यक्षभन्दा पनि रामकृष्ण सर भनेर धेरैले चिन्छन्, सम्बोधन र आदर गर्छन् । निर्वाचित भएको झन्डै चार वर्ष आठ महिनाको समय पालिकाको बृहत्तर विकास र समृद्धिका लागि बिहान, बेलुका नभनी समय खर्चेका छन् । नियमित रूपमा गाउँपालिकामा उपस्थित हुने, जनताको गुनासो सुन्ने, विकास निर्माणमा काममा अग्रसर हुने, गाउँमा हने विभिन्न कार्यक्रममा झर्को नमानी सहभागी हुनेजस्ता काममा व्यस्त भएरै उनको दैनिकी बित्ने गरेको छ । ‘म कर्मचारी भन्दा पाँच् मिनेट भएपनि पहिला कार्यालयमा आउने गरेको छु र साँन्झ कर्मचारीसंगै वा कर्मचारी गइसकेपछि घर जाने गरेको छ, अध्यक्ष थापा भन्छन्– ‘ कही केही काम र कार्यक्रममा जानै पर्ने भए मात्रै हो नभएर गाउँपालिका वा गाउँपालिकाको कार्यालय छाडेको छैन ।’

चुनावको समयमा मतदाता कहाँ जाँदै थापा

नेपाली काङ्ग्रेसको तर्फबाट पालिका अध्यक्षमा विजयी भएका थापाले आफ्नो पार्टी काङ्ग्रेसको त विश्वास जितेकै छन्, विपक्षलाई समेत विश्वास दिलाएर काम गरेका कारण आसन्न स्थानीय तहको निर्वाचनमा उनी उठेमा फेरि विजय हुने स्थानीयवासीको दाबी छ । गत स्थानीय निर्वाचनमा आठवटा वडामध्ये काङ्ग्रेसले ६ वटा वडा र अध्यक्ष, उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य जितेको शिवपुरी गाउँपालिकामा नेकपा एमालेले दुईवटा वडा जितेको थियो । कार्यपालिकामा बहुमत भए पनि कुनै कार्यक्रम र योजना छनोटमा दम्भ देखाएको महसुस गर्न नपरेको उनको विपक्षी र गत निर्वाचनका प्रत्याशी बताउँछन् । ‘सधैँ सबैलाई सबै ठाउँमा चित्त बुझाउन सकिएन होला तर, शिवुपरी गाउँपालिकाको अहित हुने कुनै पनि काम गरेको छैन,’ थापा भन्छन् । विपक्षीलाई समेत विश्वासमा लिएर काम गर्दा जिल्लाकै नमूना पालिका हुन शिवपुरी सफल भएको छ । सङ्घीयताको पहिलो अभ्यास गरिरहेका ७५३ वटा स्थानीय सरकार आरम्भ गर्दाको अवस्थालाई फर्केर हेर्दा अहिले गाउँगाउँमा सरकार रहेको महसुस गराउने गरी कार्य गर्ने पालिकामध्येमा शिवपुरीको नाम पनि अग्र स्थानमा आउँछ । थापाको व्यक्तित्व र शालीन एवम् भद्र व्यवहारले गर्दा गाउँपालिका, वडाको प्रशासकीय भवनदेखि स्वास्थ्यचौकी, अस्पताल र कर्मचारी आवास भवन बनाउने जग्गा निःशुल्क प्राप्त भयो । उनी भन्छन्– ‘मैले गरेको कामबाट पार्टीले शिर झकाउनु पर्ने परिस्थिति छैन । शिवपुरीलाई समृद्ध बनाउने खाका तयार पारेको छ ।’ उनी थप्छन् – ‘यो कार्यकालमा गर्न नसकेका अधुरा कामलाई पूरा गर्न पार्टीले अवसर दियो भने पूरा गर्ने इच्छा छ ।’

शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा

२७ माघ २०७८, बिहीबार २१:०२



तपाईको प्रतिक्रिया