शेराबगर । शिवपुरी गाउँपालिका वडा नं. ५ माथिल्लो घ्याङका १३ घरपरिवार राहतको प्रतीक्षामा एक महिनादेखि बसिरहेका छन् । पहिरोले एक घर पूर्णरुपमा क्षति र १२ घर उच्च जोखिममा परेको त्यहाँ एउटा प्लाष्टिक बाहेक केही नपुगेपछि नागरिकहरू थप त्रसित बनेका छन् ।
पहिरोले आँगे गहिरो–गाविस भवन र टोड्के भञ्ज्याङहुँदै पञ्चकन्या जोड्ने ग्रामिमण सडक भासिने र बस्तीमा धाँजा फटेपछि स्थानीय अर्जुनबहादुर लामा, टुकपेन लामा, समर लामा, लालबहादुर लामालगायतका घरहरू जोखिममा परेको हो । २०७२ सालको शक्तिशाली भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको घर फेरि पहिरोले भत्किएपछि अर्जुनबहादुर लामाको परिवार छिमेकीको शरणमा बस्नु परेको छ । लामा परिवारलाई गाँसबास समस्या रहेको माओवादी केन्द्र शिवपुरी ५ अध्यक्ष विनोद तामाङले जानकारी दिए ।
माथिल्लो घ्याङको १२ घर बगेमा चिलाउने घ्याङमा २२ घर तामाङ बस्तीसमेत प्रभावित हुने जोखिममा रहेको उनले बताए । घटना जानकारी गराएपछि वडाध्यक्ष रेशमबहादुर तामाङ निरीक्षणमा पुगेका थिए । तर, पहिरो रोकथामका लागि केही थान प्लास्टिक दिनुबाहेक अरु नभएको पीडितले गुनासो गरेका छन् । दावा छिरिङ लामा भन्छन्– ‘पहिरो नियन्त्रण र जोखिमपूर्ण घर हेर्न वडाध्यक्ष आउनु त भयो तर यहाँ राहत उपलब्ध हुने गरी विशेष चासो दिनुभएन । प्लास्टिकमात्र दिनुभयो । उहाँले किन पहल र जोडदिनु भएन हामी अलमलमा छौं । यहाँ जनता दिनरात्र त्रसित छन् ।’
१३ भाद्र २०७९, सोमबार ०४:००