सडकमा ७ करोड ६२ लाख निश्चित

विदुर । काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने महत्वपूर्ण मार्ग सामाखुसी टोखा–गुर्जे–छहरे सडक आयोजनालाई ७ करोड ६२ लाख स्रोत निश्चित भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी–टोखा–गुर्जे सडक आयोजनाका लागि सात करोड ६२ लाख रुपैयाँ बराबर स्रोत सहमति दिइएको हालै अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ एक करोड रुपैयाँ भन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’मा उल्लेख छ । स्रोत आउने आसमा उक्त सडक खण्डमा सडक डिभिजन नुवाकोटमार्फत उधारो ठेक्का लगाई यसअघि काम सुरु भएको छ ।

उक्त योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले प्रस्ट पारेको छ । मन्त्रालयले नुवाकोटसँगै चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर गरेको छ  । गुर्जे–छहरे सडकलाई ७ करोड ६२ लाख सहमति दिइए पनि ६ करोड रुपैयाँको ठेक्का सम्झौतापछि धमाधम काम जारी छ । जसअनुसार नुवाकोट शिवपुरी गाउँपालिका–८ को वडा कार्यालय आसपास, थापागाउँ क्षेत्रमा ढलान, नाली निर्माण, मर्मत, कालोपत्रका लागि बागेश्वरी वाग्मती सिम्रन जेभीसँग गत चैत १३ गते ३ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर तथा सूचना अधिकारी सुमन बस्नेतले बताए । उक्त खण्डमा ७ करोड १३ लाख स्टिमेट गरिए पनि बागेश्वरीले ६ करोड (भ्याटसहित)मा निर्माण जिम्मा लिएको हो । बस्नेतका अनुसार चौडा नपुगेको ठाउँमा अधिकतम ७ मिटर पु-याउने, गुणस्तरीय कालोपत्रेको काम हुनेछ ।

चैत १३ गते ३ किमि सडकको लागि ६ करोड ठेक्का सम्झौता भएको हो भने उक्त रकमको लागि सडक डिभिजन कार्यालयले संघ र प्रदेशको निर्वाचनअघि नै फाइल तयार पारी भौतिक पूर्वाधार मन्त्रालयमा पेश गरेको थियो । निर्वाचनपछि टेन्डर आह्वान गरिएको थियो । प्राविधिक सहायक सुपरभाइजर विशाल खड्काले थापागाउँ क्षेत्रमा कटिङ र नाली बनाउने काम भइरहेको बताए । जेठभरिमा पिचको काम सकाउने लक्ष्यसहित अहिले मेसिनरी वाल लगाउने, नाली बनाउने काम भइरहेको छ । डोजर, टिपरसहित झन्डै ५० जना सडक मजदुर खटिएका छन् ।

चापाबोट क्षेत्रमा जी टेक सर्भिसेसले काम गरिरहेको छ । उक्त ठेक्का चालु आर्थिक वर्षमा केन्द्रीय बजेटमा छुट्याइएको ६ करोड रुपैयाँमध्येबाट ४ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत आवको २ करोड दायित्व वहन गर्नुपर्ने भएकोले दुई किलोमिटर मर्मत र गुणस्तरीय पिचका लागि ४ करोडमा सम्झौता गरिएको हो ।

नुवाकोट प्रवेशको छोटो मार्ग टोखा–छहरे सडकखण्ड काठमाडौं सामाखुसीबाट नुवाकोट छहरेसम्मको दुरी २९ किलोमिटर रहेको छ । यो खण्डमध्ये काठमाडौं जिल्ला टोखा नगरपालिकाको झोरदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै छहरेसम्मै पाँच वर्षअघिसम्म बेहाल थियो, हिउँदमा जसोतसो गाडी चल्ने गथ्र्यो ।

तर बर्खायाममा नागरिकले कष्ट पाउँथे । नुवाकोट, रसुवा, धादिङका लागि काठमाडौंको नयाँ बसपार्क र सामाखुसी आपपासबाट छुटिने बस र अन्य सवारी साधन झोर क्षेत्रमै हिलोमा फसेर घान्टौं जाम पर्दा यात्रुले सास्ती बेहोनुपथ्र्यो । सामान्य यात्रुलाई सास्ती हुन्थ्यो नै बिरामी ओसारपसार गर्ने एम्बुलेन्ससमेत जाममा पर्दा बिरामीको अवस्था के हुन्थ्यो सहजै अनुमान लगाउन सकिने विषय रह्यो ।

तर, पछिल्लो करिब ४ वर्षको अवधिमा भने यो सडकले विस्तारै काँचुली फेर्दै गरेको आभाष हुन्छ । काठमाडौंतर्फ झोर र जगात क्षेत्रको कालोपत्रे तथा ढलानसहित पक्की सडक बनिसकेको छ । गुर्जेभञ्ज्याङदेखि गुरुङगाउँ, थानाभञ्ज्याङ, चाँपबोट क्षेत्रसम्मै कहींकतैबाहेक सडक बिनाअवरोध यातायात सञ्चालनको लागि बर्खायाममा पनि सहज बनेको छ । अब करिब ५ किलोमिटर जति स्तरोन्तति आफ्नो कार्यकालमा सकाउने लक्ष्य रहेको उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङको भनाइ छ ।

सांसद तामाङले अघिल्लो कार्यकालमा गुर्जेको माउन्टेन भ्यू रिसोर्ट आसपासदेखि गुर्जे सार्वजनिक शौचालयसम्म निर्माणका लागि संघ र प्रदेशबाट बजेट छुट्याउन सफल भएका छन् । सांसद तामाङ, बागमती प्रदेश सांसद राधिका तामाङ लगायत जनप्रतिनिधिहरूकै पहलमा गुर्जेको सार्वजनिक शौचालयदेखि गुरुङगाउँ, थानाभन्ज्याङ, सिस्नेरी भीर कटिङ हुँदै चाँपबोटसम्म आर्थिक वर्ष ०७७/७८ मा १० करोड र सडक बोर्डबाट ५ करोड बजेट परेको थियो ।

१० करोड बजेट प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसबमोजिम योजनामा खर्च गर्न मिल्ने सरकारको नीतिअनुसार सांसद तामाङले सो सडक खण्ड निर्माणका लागि एकमुष्ठ सिफारिस गरेका थिए । अन्य निर्वाचन क्षेत्रका सांसदले भने उक्त १० करोड रकम ८/१० वटा योजनामा कनिक छरेझै गरिएको पाइएको छ ।

त्यस्तै, थप बजेट आवश्यक परेको सिस्नेरी भीर कटिङलगायतका लागि सडक बोर्डबाट सांसद तामाङलगायतको पहलमा १० करोड रुपैयाँ पारिएको थियो । जसको काम सम्पन्न भइसकेको छ । २०७८/७९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ७ करोड रहेको बजेटलाई नयाँ अर्थमन्त्री बनेका माओवादी नेता जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत उक्त सडकखण्डलाई १० करोड बजेट पु-याइदिएका हुन् । चालु आर्थिक वर्ष २०७९/८० मा पनि ६ करोड रुपैयाँ परेको थियो । जसको ठेक्का सम्झौतापछि कार्यान्वयन जारी छ ।

२५ बैशाख २०८०, सोमबार १८:२८



तपाईको प्रतिक्रिया