मौखिक थपियो म्याद

खरानीटार–उर्लेनी सडक अन्र्तगतको डाँडागाउँको सडक अवस्था । तस्बिर : फाइल

खरानीटार । कार्यपालिका बैठकले ठेक्काको निर्धारित समयभित्र सम्झौता बमोजिमको काम नगर्ने ठेक्काहरूको हकमा म्याद नथप्ने गरी निर्णय गरेपनि तादी गाउँपालिका अध्यक्षले मौखिम रुपमा निर्माण ब्यवसायीलाई काम लगाएको पाइएको छ ।

गाउँपालिका अध्यक्ष सन्तमान तामाङले आफु निकट दल (काँग्रेस)का निर्माण ब्यवसायी जोडिएको कामलाई मौखिम रुपमा म्याद थप गरेर असोज मसान्तसम्म पु-याएका छन् । तादी गाउँपालिका वडा नं. ३ को खरानीटार–डाडाँगाउँ सडक योजनालाई अध्यक्ष तामाङले ‘मौखिक म्याद’ थप गरेका हुन् । कार्यपालिकाको निर्णय विपरित उक्त कार्य भएको भन्दै कार्यपालिका सदस्यहरूले एकमुष्ठ रुपमा विरोध जनाइरहेको भएपनि निर्माण ब्यवसायीले आफ्नो कागजी प्रक्रिया समेत पुरा गरिसकेको छ ।

बागमती प्रदेशबाट समपुरक बजेटमा निर्माण आरम्भ भएको उक्त सडकमा अहिले ५० देखि ५४ प्रतिशत मात्रै काम भएको छ । खरानीटार–डाडाँगाउँ–टुटुङ–उर्लेनी सडकखण्ड अन्तरगतको खरानीटार-डाँडागाउँको एक किलोमिटर क्षेत्रका लागि गाउँपालिकाले दुई करोडको ठेक्का निकालेको थियो । प्रदेश सरकार र गाउँपालिकाले आधाआध रकम ब्यहोर्नुपर्ने उक्त योजनामा पछिल्लो समय निर्माण ब्यवसायीले हातै हाल्न छाडेको छ । काठमाडौं उपत्यकाको थ्रिडिआई कन्ट्रक्सनले एक करोड दुई लाख रुपैयाँमा उक्त ठेक्का लिएको हो । सो ठेक्का काँग्रेस बागमती प्रदेश सदस्य प्रमोद रिमाल (तादी गाउँपालिकावासी) का छोरा प्रभाकर रिमालले हेरिरहेका छन् । उनी उक्त कम्पनी सञ्चालक भने होइनन् । यही ठेक्काका लागि यो कम्पनीलाई गाउँपालिका भित्र्याएका हुन् ।

२०७८ सालको चैतमा सक्नुपर्ने कामको प्रगती निराशाजनक भएपछि गाउँकार्यपालिकाले म्याद नथप्ने गरी निर्णय गरेको एक कार्यपालिका सदस्यले बताए । त्यो बेला समेत अन्तिम पटक भन्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्जुन आचार्यले असार मसान्तसम्मका लागि तीन महिना म्याद थप गरेका थिए । तर चुनावको अबधी र बर्खा भन्दै ठेकेदारले एक साबेल माटो पनि उक्त सकडमा खोतलेन । अहिले भने गाउँपालिका अध्यक्ष सन्तमान तामाङले काम गर्नु भनेर मौखिक आदेश दिएको र सोही आदेश अनुसार म्याद थप भएर काम थालेको निर्माण ब्यवसायीले जनाएका छन् ।

थ्रिडिआई कन्ट्रक्सनका दिनेश चौलागाइँका अनुसार गाउँपालिकाबाट बैंक ग्यारेण्टी जम्मा गर्न असारमसान्तमा पत्र काटिएको छ भने गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ र प्राविधिक शाखाबाट फोन गरेर काम गर्दै गर्नु भन्ने खबर आएको छ । उनका अनुसार असोज मसान्तसम्म योजनाको म्याद थप भएको छ । ‘हामीले असोजसम्मका लागि काम गर्ने अवधी पाएका छौं, बैंक ग्यारेन्टी पनि बुझाएका छौं’ उनले भने । उनका अनुसार कामका लागि म्याद थप भएको पत्र गाउँपालिकाबाट आउन बाँकी रहेको छ ।

प्राविधिक शाखाका प्रमुख ईञ्जिनियर सन्तु तामाङले समेत कार्यालयको तर्फबाट म्याद थपको पत्र निर्माण ब्यवसायीलाई नगएको बताएका छन् । उनका अनुसार बैंक ग्यारेन्टीका लागि मात्रै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत आचार्यले पत्र काटेका हुन् । ठेकेदारसंग आवश्यक कागजपत्र गाउँपालिकाबाट माग भएको भन्दै साउन पहिलो साता प्राविधिक शाखामा आइपुगेको छ । ‘मैले उक्त सडकको टिप्पणी चाँही उठाएर राखेको छु, काम ५० प्रतिशत मात्रै भएकोले कार्यपालिकाबाट म्याद थप गर्ने निर्णय नभएकोले मैले टिप्पणी सदरको लागि माथी पठाएको छैन’ ईञ्जिनियर तामाङले भने ।

सरुवा भई हाल अर्थ मन्त्रालयमा रहेका अघिल्लो प्रमुख प्रशासकीय अधिकृत आचार्यले समेत आफुले उक्त ठेकेदारलाई म्याद थपको पत्र नपठाएको बताए । बिहीवार यस प्रतिनिधिसंग टेलिफोनमा कुराकानी गर्दै आचार्यले बैंक ग्यारेण्टीका लागि मात्रै आफुले पत्र लेखेको र अबधी बढाउनका लागि म्याद थपको पत्र आफुले नपठाएको बताए । ‘कार्यपालिकाले म्याद थप गर्ने निर्णय नगरिकन मैले कसरी म्याद थपको पत्र पठाउन मिल्छ र’ उनले भने ।

तर गाउँपालिका अध्यक्ष सन्तमान तामाङले भने ठेकेदारले काम गरिरहेको र गाउँपालिकाबाट पत्र गएको दावी गरेका छन् । उनले आफुबाट मैखिक आदेश नभएको र कर्मचारीको तर्फबाट गर्नुपर्ने काम पुरा भएर नै ठेक्काले निरन्तरता पाएको दावी गरेका छन् । साथै उनले गाउँपालिकाको बैठकमा ठेक्काको म्याद नथप्ने गरी कुनै निर्णय नभएको पनि जिकिर गरेका छन् ।

तर, तादी गाउँकार्यपालिकाको मिति २०७९ असार २४ गते बसेको १३१ औं बैठकमा उक्त निर्णय भएको एक वडा अध्यक्षले बताएका छन् । एउटा मात्रै बुँदामा छलफल भएको उक्त बैठकमा वडा नं. १ का अध्यक्ष नकुरदोङ तामाङ बाहेक (बैठकमा अनुपस्थित) सबैको सहमती रहेको थियो । ठेक्काको म्याद थप सम्वन्धमा बसेको सो बैठकको निर्णयमा लेखिएको छ– ‘निर्धारित समयभित्र ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गर्न नसक्ने ठेक्काहरूको हकमा श्रोतको सुनिश्चितताको अभाव समेत रहेको कारण ऐन तथा नियमावलीको परिधिभित्र रही आवश्यक प्रक्रिया अवलम्व गर्ने निर्णय गरियो ।’ यही निर्णय अनुसार पनि उक्त ठेक्काको म्याद थप नहुने देखिन्छ ।

‘तर गाउँपालिका अध्यक्षले असार २४ गते नै बेलुका फोन गरेर कार्यपालिकाले दिउँसो गरेको निर्णय गलत भएको र जसरी पनि ठेक्काको म्याद थप गर्नुपर्यो भनेर सबै कार्यपालिका सदस्यहरूलाई फोन गरेका थिए’ एक वडा अध्यक्षले भने । उनको सो प्रस्तावलाई उनी निकट (काँग्रेसका) वडा अध्यक्षले समेत अस्विकार गरेका थिए ।

गाउँपालिका अध्यक्ष तामाङ भने ठेक्का सम्झौता तोड्नका लागि गर्नुपर्ने कानूनी प्रक्रियामा कार्यालय ढिलो भएका कारण सम्झौताको म्याद थप्नु पर्ने बाध्यता रहेको बताउछन् । ‘१५ दिने सूचना दिएर सम्झौता भंग गर्नुपर्नेमा एकैपटक कार्यपालिका बैठकले म्याद नथप्दा गाउँपालिका कानूनी रुपमा तल पर्ने देखियो’ तामाङले भने ।

तर उनले म्याद थप गर्नका लागि पहिल्यै देखि योजनाबद्ध काम गरको आरोप अन्य कार्यपालिका सदस्यहरूको छ । असार २४ भन्दा अघिल्लो कार्यपालिका बैठकको एजेण्डामा त्यस विषयलाई समावेश नगर्ने, समयमै सूचना ननिकाल्ने र असार मसान्तमै बैंक ग्यारेण्टीका लागि पत्राचार गर्न लगाउने घटनाक्रमले उनी म्याद थप गर्ने खेलमा सुरुदेखिनै थिए भन्ने बुझ्न सकिने एक वडा अध्यक्षले बताएका छन् ।

बैठक नै अबैध बनाउने प्रयास

खरानीटार । तादी गाउँ कार्यपालिकाको बैठकको ‘क्लोज’ अध्यक्षले हस्ताक्षर गरेर गर्ने प्रावधान रहेको छ । कम्युटर प्रिन्ट गरेर रजिष्टरमा टाँसिने माइन्युटको पहिलो पानामा उपस्थिति मात्रै र दोश्रो पानादेखि प्रस्ताव र निर्णयहरू लेखिने चलन छ । कार्यपालिका सदस्यहरूको उपस्थितिमा हस्ताक्षर गर्ने र निर्णय पुस्तिका (माइन्युट) को अन्त्यमा गाउँपालिका अध्यक्षले मात्रै हस्ताक्षर गर्ने चलन रहेको छ । तर ठेक्काको म्याद थप गर्ने सम्बन्धमा बसेको बैठकको निर्णयमा अध्यक्षले हस्ताक्षर गरेका छैनन् ।

अध्यक्षले हस्ताक्षर नगर्दा बैठकले मान्यता नपाउने र निर्णय कार्यान्वयन नहुने भएकै कारण यो तरिका गाउँपालिका अध्यक्षले अपनाएको एक कार्यपालिका सदस्यले बताए । अघिल्लो आर्थिक वर्षमा कार्यपालिकाले गरेका निर्णयहरूको अध्ययन र त्यसको कार्यान्वयनको अवस्था बुझ्न एक कार्यपालिका सदस्यले बैठकको निर्णय फोटोकपी गरेर लिदा मात्रै उक्त बैठकको ‘क्लोजिङ’मा अध्यक्षको हस्ताक्षर नभएको पत्ता लागेको हो । ‘हामीलाई त जानकारी हुने कुरा पनि भएन, कार्यपालिका बैठकको क्लोजिङ नभएको देखेपछि ठेक्काहरूको खोजीनीति गर्न थाल्दा खरानीटार–डाँडागाउँ सडकलाई म्याद थप भएको जानकारी पायौं’ ति कार्यपालिका सदस्यले भने । उनका अनुसार कार्यपालिकाको बैठकको निर्णय भन्दा विपरित अध्यक्षले गरेको कार्यको विरोध भइरहेको छ । भुक्तानी दिन कार्यपालिकाले निर्णय गर्नुपर्ने भएकोले समस्या हुने उनले बताए ।

उक्त बैठकको निर्णयको अन्त्यमा अहिलेसम्म गाउँपालिका अध्यक्षले हस्ताक्षर गरेका छैनन् ।

यसरी सभाअध्यक्षका भुमिकामा रहेको गाउँपालिका अध्यक्षले बैठक पुस्तिकाको अन्त्यमा हस्ताक्षर नै नगरी बैठकलाई अबैध बनाउन थालेपछि गएको हप्ता बसेको कार्यपालिका बैठकमा हङ्गामा भएको छ । असार २४ गतेपछि एक्कैपटक भदौ ९ गते १३२ औं बैठक बसेको हो । उक्त बैठकमा कार्यपालिका सदस्यहरूले निर्णयको अन्त्यमा अध्यक्षले हस्ताक्षर नगरेसम्म आफुहरूले उपस्थिति नै नजनाउने अडान लिएका थिए । प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले अब त्यस्तो हुन नदिने र अर्को बैठकदेखि निर्णयको अन्तिम रुप देखाएर/सुनाएर मात्रै कार्यपालिका सदस्यहरूलाई विदाई गर्ने प्रतिबद्धता जनाएका छन् ।

पहिलो पानामा उपस्थिति सदस्यहरूको हस्ताक्षर हुने र अरु पानामा अध्यक्ष एक्लैको हस्ताक्षरमा प्रस्ताव र निर्णयहरू लेखिदा अध्यक्षको अनुकुल र आवश्यकता अनुसार निर्णय परिवर्तन गरेर पुनः कम्प्युटर प्रिन्टलाई रजिष्टरमा टाँस हुनसक्ने आशंका समेत कार्यपालिका सदस्यहरूले गर्न थालेका छन् ।

२० भाद्र २०७९, सोमबार ०६:२५



तपाईको प्रतिक्रिया