जहाँ अप्ठ्यारो त्यहाँ सेना (फोटो फिचर)

आँखै चिम्लेर हिड्न सकिन्छ गोसाइँकुण्डको बाटो

रसुवा । प्रमुख धार्मिक एवं पर्यटकीय स्थल गोसाइँकुण्ड आवतजावत गर्न सहज भएको छ । रसुवा जिल्लामा तैनाथ नेपाली सेना कालीजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको अप्ठ्यारो भिरको बाटोमा रेलिङबार निर्माण गरेपछि पदयात्रामा सहजता भएको हो ।

नेपाली सेनाको सैनिक–नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत गोसाइँकुण्ड मार्गको बुद्ध मन्दिरदेखि गोसाइँकुण्डसम्मको २.५८ किलोमिटर अप्ठ्यारो भिरको बाटोमा रेलिङबार बनाइएको हो । गणले चोलाङपाटीमा ४० फिट लम्बाइ २० फिट चौडाईको विश्रामघर, भूकम्पले भत्केको बुद्ध मन्दिरको पुनर्निर्माण र केही अप्ठ्यारो बाटो मर्मत समेत गरेको छ । बुद्ध मन्दिरमा हेलिप्याड निर्माण, गणेशगौँडा, बुद्ध मन्दिर र गोसाइँकुण्डमा विश्रामस्थल निर्माण गरेको छ । गणले निर्माण गरेको उक्त रेलिङबार र अन्य भौतिक संरचना असोज ११ गते गाउँपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापतिको निर्देशन र लक्ष्य अनुसार छिटो लाभ पुग्ने योजना अन्तर्गत रेलिङबार निर्माणमा ५० लाख बजेट आएको थियो । टेन्डर गर्दा अमृत घले निर्माण सेवाले निर्माण सामग्री तथा आपूर्तिको ठेक्का ३५ लाख ६ हजार ६६२ रुपैयाँ सम्झौता गरेको थियो । गणले १० लाख १२ हजार ३६९ रुपैयाँबराबरको श्रमदान गरेको छ । गत माघ १५ गते सम्झौता गरेर काम सुरु गरेको यो योजना असोजको पहिला हप्ताभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

कालीजंग गणले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । अहिले रेलिङबारमा रङ लगाउने, पार्टी निर्माण र बुद्ध मन्दिर निर्माणको काम थोरै बाँकी रहेको छ । गणका सहसेनानी रामभक्त आचार्यको नेतृत्वमा अधिकृत पदिक गरी ३६ जना गत जेठ महिनादेखि निर्माणमा अहरोत्र खटिरहेका छन् । कोरोनाको असहज परिस्थिति र वर्षात्को समेत वास्ता नगरी गणले निर्धारित समयमै तोकिएको जिम्मेवारी पूरा गर्ने गरी खटिरहेको छ ।

गणमा कार्यरतका तर्फबाट गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा ५५ किलो घन्टसमेत चढाइएको छ । सेनाको कार्य प्रशंसा र स्मरणयोग्य रहेका चन्दनबारीका होटेल सञ्चालक सुब्बा लामाले बताए । रसुवावासीमा दैनिक जीवनलाई फाइदा र सहजता पु-याउने कार्य सेनाले गर्दै आइरहेको नागरिक समाज रसवाका अध्यक्ष बाबुलाल तामाङले बताए । गोसाइँकुण्ड मार्गको सबभन्दा अप्ठ्यारो क्षेत्रमा रेलिङबार, बाटो मर्मत, विश्रामघर, विश्रामस्थल, बुद्ध मन्दिर पुनर्निर्माण र गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा सरसफाइ गरी घण्ट राखिदिएको कारणले तीर्थयात्रीलाई सहज भएकाले आगामी दिनमा तीर्थयात्री बढ्ने अपेक्षा गोसाइँकुण्ड गाउँपालिका वडा नं. ६ का सोनामछिरिङ तामाङले गरेका छन् ।

सेनाले रसुवाको धार्मिक क्षेत्रको संरक्षण, पदमार्गको मर्मतलगायत गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा र जनैपूर्णिमा मेलाको बेलामा गरेको स्वास्थ्य शिविरबाट रसुवावासीलाई सहयोग पगेको गोसाइँकुण्ड होटेल तथा लज व्यवस्थापन उपसमितिका अध्यक्ष रेन्जन तामाङले बताए । चार हजार ३८० फिटको उचाईमा रहेको गोसाइँकुण्डमा विगतदेखि नै दशहरा र जनैपूर्णिमाको मेलाको अवसरमा चन्दनबारी र चोलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन र आवतजावत गर्ने भक्तजनका लागि तातोपानीको व्यवस्थाको साथै बिरामी तीर्थयात्रीलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धुन्चे पु¥याउने कार्यमा कालीजंग गणले उल्लेखनीय कार्य गर्दै आइरहेको छ ।

लामटाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ गणले जिल्लाको सुरक्षाको साथसाथै जिल्लावासीको दैनिक जीवनलाई प्रत्यक्ष सेवा पुग्ने कार्यसमेत गर्दै आएको छ । गणले नेपाल–चीनको सिमाना रसवागढीमा नेपालको राष्ट्रिय झन्डा र सङ्क्षिप्त परिचात्यामक इतिहास उल्लेखित अभिलेख प्रतिस्थापन गरेको छ । गत वर्ष गणले गोसाइँकुण्ड गाउँपालिका– ६ बोकेझुण्डामा रहेको गाउँखर्क प्रावि र नागनमा रहेको जनज्योति प्राविमा तीन–तीनकोठे शौचालय निर्माण गरिदिएको थियो । जनज्योति प्राविको परिसरको भत्किएको कान्लो पन्छाएर ग्याबिन पर्खाल निर्माण गरी हुन सक्ने जनधनको क्षतिबाट जोगाएको थियो । ब्यारेक हाताभित्र गणले रात्रिकालीन अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरी आवश्यक पर्दा जिल्लावासीले प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

२ आश्विन २०७७, शुक्रबार १८:३१



तपाईको प्रतिक्रिया