भूकम्प पीडित अझै जोखिमयुक्त बस्तीमा

बेत्रावती । रसुवामा भूकम्प पीडित परिवार अझै जोखिमयुक्त बस्तीमा बसोबास गरिरहेका छन् । उनीहरु अझैसम्म अस्थायी टहरामै छन् । भूकम्पबाट विस्थापित भएका उनीहरु रसुवा र नुवाकोट को विभिन्न स्थानमा बसोवास गरिरहेका छन् । रसुवाको धेरैजसो विस्थापित परिवार उत्तरगया गाउँपालिका–५ बोगटीटार र खाल्टेमा बसेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरिएको भौगर्भिक अध्ययनले खाल्टेलाई जोखिमयुक्त बस्ती औंल्याएको छ । खाल्टेमा २ सय ३१ विस्थापित परिवार बसोबास गरिरहेका छन् । विस्थापित परिवारको सुरक्षित स्थानमा स्थानान्तरण नहुँदा पाँच वर्षदेखि अस्थायी टहरामै बसोबास गर्दै आएका छन् ।

लामो समयदेखि टहरामा बस्दा विस्थापितहरुको दैनिकी कष्टकर बन्दै गएको खाल्टेकै बसिरहेका छेकु लामाले बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरिएको भौगर्भिक अध्ययनले जिल्लाका ७० स्थानका बस्ती जोखिमयुक्त देखाएको छ । उत्तरगया गाउँपालिकाको करुम-याङ, चिप्लेटी, गोगने, मैलुङ, सिरुचेत, तिरु, पैरेबेसी, लयुङ लगायत विभिन्न ठाउँलाई जोखिमयुक्त बस्ती भनिएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दोगाउँ, तार्सा, देश्यागाउँ, लाङटाङ, मुन्डुप, सिन्धुम, गुम्चेत, लामा होटल लगायत बस्ती पहिरोको जोखिममा छ । यी बस्तीहरुमा अझै भूकम्प पीडित परिवार बसोबास गरिरहेका छन् । ७० मध्ये बसोबास रहेको ३० वटा बस्तीलाई पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको थियो । अन्य २५ बस्तीलाई भने आवश्यक पूर्वाधार तारजाली, ढल निकास, पर्खाल, वृक्षारोपण गरी सुरक्षित गर्न सकिने प्राविधिकहरूले सुझाव दिएका छन् ।

प्राधिकरणले जोखिमयुक्त ७० वटा बस्तीमा रहेका एक हजार १ सय २७ परिवारको नाम लाभग्राही सूचीमा प्रकाशन गरेको छ । तीमध्ये अहिलेसम्म ६ सय ८७ परिवारले सुरक्षित स्थानमा बसोबासका लागि जग्गा खरिद गरिसकेका छन् । ३ सय ४८ परिवारको स्थानान्तरण गर्ने प्रक्रिया बाँकी छ । सुरक्षित स्थानमा बसोबास गर्न जग्गा खरिद गरिसकेका परिवारले पनि अझै घर बनाउन सुरु गरेका छैनन् । ६ सय ८७ परिवार मध्ये २ सय ६८ परिवारले मात्र घर बनाउन सुरु गरेका छन् ।

सुरक्षित स्थानमा स्थानान्तरण हुने ६ सय ८७ परिवार मध्य धेरै जसो एकीकृत बस्तीमा जाने तयारीमा छन् । एकीकृत बस्ती निर्माणमा ढिलाइ हुँदा जोखिमयुक्त बस्तीमा बसोबास गरिरेका पीडित परिवार थप जोखिममा छन् । प्राधिकरणले रसुवाको ५ स्थान लाङ्बुमा २२, तिरुमा १ सय २५, बोगटी टारमा ५५, पैरेबेसीमा १ सय २८ र पाङलिङमा ५१ परिवारलाई एकीकृत बस्ती बसाएर राखने प्रक्रिया अघि बढे पनि काम सुरु हुन सकेको छैन ।

चार ठाउँमा एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट एक वर्ष अगाडि नै कार्याक्रम स्वीकृत भइसकेको हो । तर, अहिले सम्म एकीकृत बस्तीमा जाने परिवारको पनि घर निर्माण हुन सकेको छैन । डीपीआर निर्माणमा ढिलाइ, लकडाउन लगायत कारणले गर्दा एकीकृत बस्ती निर्माणमा ढिलाइ भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका इन्जिनियर सरोज कुमार यादवले बताए ।

हालसम्म रसुवामा १० हजार ९ सय ९८ घरनिर्माण भइसकेका छन् । जिल्लामा सबै गरेर १२ हजार ८ सय १७ जना भूकम्प पीडित लाभग्राही छन् । त्यसमध्ये १२ हजार १ सय ४९ जनाले पहिलो किस्ता बापतको ५० हजार बुझिसकेका छन् । दोस्रो किस्ता बुझ्नेको संख्या ११ हजार ५ सय ६८ रहेको छ । १० हजार ९ सय ९८ जनाले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

१३ आश्विन २०७७, मंगलवार ११:३३



तपाईको प्रतिक्रिया