नेपाली कामदारको पीसीआर परीक्षण चीनले गर्ने

A truck preparing to enter into China at Nepal's boarder to Tibet in Rasuwagadhi.

रसुवा । रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको पीसीआर परीक्षण चिनियाँ पक्षले नै गर्ने भएको छ । नेपालतर्फ कोरोना परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि नाकामा कार्यरत कामदार तथा चालकको पीसीआर परीक्षण चीनले नै गर्ने भएको हो ।

सुरुमा चिनियाँ पक्षले नेपाललाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो । रसुवागढी नाकास्थित मितेरी पुलमा दुई देशका अधिकारीबीच भएको बैठकमा चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको पीसीआर ७/७ दिनमा गरिदिने सहमति जनाएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

नाकामा खटिएकाहरूको कोरोना परीक्षणका लागि प्रत्यक शनिबार चिनियाँ पक्ष रसुवागढी नाकामा आउने पनि खड्काले जानकारी दिए । रसुवागढी नाकाबाट बिहीबारदेखि सामग्री आयात सुरु भएको छ । चिनियाँ पक्षले नाकाभन्दा ५ सय मिटर पर गएको पहिरो हटाए पछि चार दिनदेखि बन्द रहेको नाका सञ्चालनमा आएको हो । चीनले रसुवागढी नाका एकतर्फी रूपमा सञ्चालनमा ल्याएदेखि १७ जना चालक र ३२ जना मनदुर खटिएका छन् ।

१९ आश्विन २०७७, सोमबार १९:२३



तपाईको प्रतिक्रिया