कानको सुन लुट्न छ वर्षीया बालिकाको हत्या

हत्या भएको ६ वर्षीया सुमिना तामाङ

विदुर । रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको हत्या भएको छ । कालिका गाउँपालिका १ फैलिगाङ कि ६ वर्षीया सुमिना तामाङको हत्या भएको हो । हत्या बालिकाले लगाएको कानको मुन्द्रा लुट्नका लागि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदा रसुवामा महिलाबाटै बालिकाको अपहरणपछि हत्या भएको हो ।

अघिल्लो आइतबार (मंसिर २१ गते) बिहान ९ बजे बालिका ग्राङ प्राथमिक विद्यालय गएको र विद्यालयबाट घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । खोजतलासका क्रममा एकजना महिलाले लगेको हल्ला गाउँमा चलेपछि बालिकाको परिवारले नजिकैको अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी गरेका थिए ।

बालिकालाई नुवाकोटको किस्पाङ गाउँपालिका ५ की १९ वर्षीया सपना तामाङले आइतबार विद्यालय छुट्टीपछि घर फर्कने क्रममा बाटैबाट अपहरण गरेको खुलासा भएको थियो । खोजतलासको क्रममा मंगलबार (मंसिर २३ गते) कालिका गाउँपालिका १ पलेपस्थित नागुर्दुङ भिरको ढुङ्गाको ओढारमा सुक्न लागेको बिलाउनेको सेउलाले छोपिएको अवस्थामा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताए ।

बालिकाको झोला, चप्पल र शवनजिकै झाडीमा रहेको र शवभन्दा केही तल नीलो प्लास्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको उनले बताए । उनका अनुसार बालिकाले कानमा लगाएको सुनको एकजोर मुन्द्रासमेत कानमा थिएन । डिएसपी सुवेदीले दिएको जानकारी अनुसार घाँटीमा डोरीले कसिएको डाम थियो, मुन्टो घुमाउँदा घुम्थ्यो, स्कुलको ड्रेस झोलाभित्र थियो । बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गर्ने उद्देश्यले सपना तामाङले अपहरण गरी हत्या गरेको खुलेको हो ।

बालिकाको घाँटीमा डोरीले कसी निर्ममतापूर्वक हत्या गरी शव लुकाईराखेको अवस्थामा पाइएको रसुवा प्रहरीले बताएको छ । सपना तामाङले यस अघि पनि रसुवालाई आधार बनाई राम्चेलगायतका ठाउँमा अपराध गरेको खुल्न आएकोसमेत प्रहरीले जनाएको छ । यसअघि तीनपटकसम्म सुन चोरीसम्बन्धी मुद्दामा पक्राउ परेको र एक वर्ष बाल सुधारगृह भक्तपुरमा समेत सपनालाई राखिएको थियो ।

यी १९ वर्षिया सपना तामाङ यसअघि तीनपटक चोरीको घटनामा पक्राउ परेकी थिइन् । दुईपटक बालिका नै रहेको हुँदा चोरीका सामान सम्बन्धित व्यक्तिलाई फिर्ता गरी मिलापत्र गरी पठाइएको थियो । तेस्रोपटकको समयमा उनी १७ वर्षकी थिइन् र रसुवा जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश दिएको थियो । एक वर्ष सुधारगृहमा बसी निस्किएकी उनले अहिले बालिका हत्या गरेका छन् ।

यसै बीच, बालिका हत्या अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिकाका १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीका अनुसार पक्राउ परेका सपनाले सुमिनाको हत्या गरेको स्वीकार गरिसकेका छन् । डिएसपी सुवेदीका अनुसार सपनाले चाउचाउ दिएर बालिकालाई फकाएको र अपहरण गरि हत्या गरेको अनुसन्धानमा खुलेको छ । हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको सपनाले प्रहरीसमक्ष बताएका छन् । हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२९ मंसिर २०७७, सोमबार ११:१५



तपाईको प्रतिक्रिया