मैलुङ स्याफ्रुबेँसी सडक वर्षायाम भर सञ्चालन नहुने

विदुर । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटोदुरीको मैलुङ स्याफ्रुबेँसी सडक वर्षायाम भर सञ्चालन नहुने भएको छ ।

मैलुङदेखि स्याफ्रुबेँसीसम्मका विभिन्न स्थानमा वर्षाका समयमा पहिरो जाने तथा ठुला ढुङ्गाहरु खस्ने, खोलामा कज्वे समेत नभएको र जोखिम बढी हुने भएकाले सो सडकमा अबको तीन महिना यातायात सञ्चालनमा नल्याउने गल्छी–त्रिशूली मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

सडकको ट्रयाक खोली स्तरउन्नोतीसँगैे निमार्णको क्रममा रहेको उक्त सडकको जोखियुक्त स्थानहरुमा निमार्णको काम बर्षा यामभर नगरिनुका साथै यातायात समेत सञ्चालन नगरिने भएको हो ।

रसुवाको स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडक भन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन छोटोदुरी हुँदा पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने हुँदा चीनबाट ल्याईएका समाग्रीको ढुवानी गर्ने कन्टेनर चालकहरू यो सडक प्रयोग गर्दै आएका छन् ।

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो रहेको छ ।

५ असार २०७८, शनिबार १८:३७



तपाईको प्रतिक्रिया