सुक्खा बन्दरगाहको काम २० प्रतिशत मात्रै

फाइल तस्बिर

रसुवा । कोभिड संक्रमणका कारण सुस्त गतिमा रहेको रसुवाको सुक्खा बन्दरगाहको काम २० प्रतिशत मात्रै पुरा भएको छ । नेपाल–चीनबीचको आयात निर्यात सामग्री परीक्षणमा सहज बनाई दुई देशबीचको व्यापार व्यवसाय अभिवृद्वि गराउने उद्देश्यले सुक्खा बन्दरगाह निर्माण थालिएको हो ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिका अनुसार टिमुरे गाउँमुनि भोटेकोसी नदिको बगरलाई बाँध बाध्ने काम धमाधम अगाडि बढिरहेको छ । निर्माणस्थलमा ४० नेपाली एवं १३ चिनियासहित ५३ कामदार कार्यरत छन् । यस बन्दरगाह ३० महिनाभित्र सम्पन्न गर्ने शर्तका साथ सन् २०१९ को नोभेम्वरबाट निर्माण थालनी भएको थियो । कोभिडको असरप्रति सावधानी अपनाउँदै काम अगाडि बढी रहेकाले सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने प्राबिधिक अनुमान छ ।

चीन सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण भइरहेको सो बन्दरगाहाको निर्माणको जिम्मा चिनियाँ तिब्बत फुल्ली कन्ट्रक्सनले पाएको छ । विकास समितिका प्राविधिकले कामको सहजीकरण गरिरहेको बताइन्छ । निर्माण सम्पन्न भएपछि मालवाहक ठूला दुई सय पचास कन्टेनर र साना तथा मझ्यौला एक सय सवारी साधनलाई पार्किङमा सहज हुने साइट इञ्चार्ज इञ्जिनियर शोभाकान्त राउतले जानकारी दिए ।

बन्दरगाह निर्माणलाई थप सहज पार्न आयोजनास्थलका आसपासमा रहेका ११ व्यक्तिगत घर टहरा हटाउन मुआब्जा निर्धारण गराउने कार्य सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार गएको आइतबार बसेको मूल्याङ्कन समितिको बैठकमार्फत प्राविधिक मूल्याङ्कनको आधारमा घर टहराको मुआब्जा निर्धारण गर्ने काम सम्पन्न भएको हो । निर्धारित मुआब्जा रकम करिब ३९ लाख भएको उनले जानकारी दिए । बन्दरगाह निर्माणका लागि पाँच वर्ष अगाडि अधिग्रहण गरिएको थियो ।

१७ माघ २०७८, सोमबार ०५:५५



तपाईको प्रतिक्रिया