बालुवा तस्करले तिरे ५० हजार जरिवाना

बालुवा चोर्दै गर्दा कोल्पुखोलामा शनिवार फेला परेको स्काभेट नियन्त्रणमा लिदै नुवाकोट प्रहरी ।

विदुर । बेलकोगढी नगरपालिका वडा नं. ३ ठूलो बगरस्थित कोल्पु खोलामा बालुवा निकाली रहेको स्काभेटर मालिकले ५० हजार जरिवाना तिरेका छन् । हिजो नदीबाट बालुवा निकालिरहेको अवस्थामा पक्राउ परेको उक्त मेसिनका मालिकले जिल्ला समन्वय समिति (जिसस)मा जरिवना तिरेको हो ।

हिजो नै प्रहरीले जिससमा उक्त मेसिनमा लगाएको ताल्चाको साँचो बुझाएको थियो । अब कहिल्यै नदीमा तस्करी नगर्ने शर्तमा उक्त मेसिनका मालिकलाई जरिवाना तिराएर छाडिएको छ । तर ति तस्कर को थिए भन्ने चाँही प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरी लगायतका सुरक्षा निकाय र अनुगमन समितिका पदाधिकारी कोभिड–१९ नियन्त्रणका लागि ब्यस्त रहेको समयमा कोल्पु खोलामा केही दिनदेखि बालुवा चोरी हुँदै आएको थियो । प्रहरीलाई प्राप्त सोही सूचनाको आधारमा मेसिन नियन्त्रणमा लिइएको नुवाकोट प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले जानकारी दिएका छन् । उक्त मेसिनले हिजो दिउँसो साढे चार बजेदेखि बालुवा चोरी गर्न थालेको थियो । प्रहरीले साढे चार बजे नियन्त्रणमा लिएको हो ।

नुवाकोट प्रहरीले असार १ गतेदेखि नुवाकोटका सबै नदीहरुमा बालुवा तस्करहरुलाई निस्तेज पार्नका लागि विशेष युनिट खटाउँदै आएको छ । त्यसमा पनि नदी तथा खोलामा हरेक दिन पहरा दिने प्रहरीको बदली हुँदै आएको छ ।

यसै बीच, बालुवा चोरी निकासीमा सम्लग्न एक ट्रिपरलाई आज नुवाकोट प्रहरीले नियन्त्रणमा लिएर जिससमा कारबाहीको लागि पठाएको छ । जिससले उक्त ट्रिपरलाई २५ हजार जरिवाना तिराएर छाडेको छ । नुवाकोट प्रहरी कार्यालयका अनुसार यसरी पक्राउ पर्ने बालुवा चोरी निकासीमा सम्लग्न ट्रिपरमा बा २ क १७११ लाई कारबाही भएको हो । आज बिहान सात बजे विदुर नगरपालिका वडा नं. ५ शेरा स्थित तादी खोला किनारमा बालुवा चोर्दै गर्दा गाडी समातिएको थियो ।

जिल्ला समन्वय समिति नुवाकोटले असार १ गतेदेखि भदौ समान्तसम्म नदीबाट बालुवा उत्खनन्मा रोक लगाएको छ । अघिल्ला वर्षहरुमा भुकम्प पछिको पुननिर्माणका लागि बालुवा तस्करीमा समेत आँखा चिम्लिएको नियमक निकायले नुवाकोटमा यो पाली बालुवा दोहनको सन्र्दभमा शुन्यसहनशिलताको नीति दिएको छ ।

असार १ गतेदेखि अहिलेसम्म १३ थान सवारी साधनलाई बालुवा चोरी तथा निकासीमा सम्लग्न रहँदै गर्दा पक्राउ गरेर कारबाही गरिसकेको छ । ४ लाख १५ हजार रुपैयाँ बालुवा तस्करहरुबाट जरिवाना बापत जिसस नुवाकोटले संकलन गरिसकेको छ ।

शनिवार कोल्पुखोलामा बालुवा चोर्दै गर्दा पक्राउ परेको स्काभेटमा प्रहरीले लगाएको ताल्चा

३१ श्रावण २०७७, शनिबार २२:१२



तपाईको प्रतिक्रिया