२५ जना आइसोलेसनमा

विदुर । नुवाकोटका कोभिड–१९ (नोबल कोरोना भाइरस) संक्रमितहरु २४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । एक जना नुवाकोटका बाहिरका पुरुषले त्रिशुली अस्पतालको आइसोसेलनबाट उपचार लिइरहेका छन् ।

आज किस्पाङ गाउँपालिकाका एक जनाको कोरोना भाइरस संक्रमण रहेको प्रतिवेदनसंगै उनी काठमाडौंको एक अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । काठमाडौं नै बस्दै आएका ३८ वर्षिया पुरुषमा भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानएको छ ।

कार्यालयका सूचना अधिकारी उत्तमराज खनालद्धारा आज जारी विज्ञप्ती अनुसार काठमाडौंमा नुवाकोटका ५ जनाले उपचार गराइरहेका छन् । त्यस्तै खरारीटार अस्पतालमा ५ जना र त्रिशुली अस्पतालमा १५ जना छन् । त्रिशुली अस्पतालको आइसोलेसनमा रहेका एक जना भने तराईका हुन् । विदुर नगरपालिका वडा नं. ६ मा व्यवसायका लागि बस्दै आएका ति तराईका पुरुषमा तीन दिन अघि संक्रमण भएको पुष्टि भएको थियो ।

अस्पतालको आइसोलेसनमा रहेर उपचार गराईरहेका सबै कोरोना संक्रमितहरुको अवस्था सामान्य रहेको छ ।

नुवाकोटमा भेटिएका र काठमााडौंमा फेला परेको नुवाकोटका कोरोना संक्रमित नागरिकहरुको संख्या अब ६९ पुगेको छ । त्यस मध्ये ४४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोना निको भएर घर गएकाहरु कसैमा पनि दोहो-याएर समस्या देखिएको छैन ।

नुवाकोटमा अझै १५ आइसोलेसन बेड खाली छ । जिल्लाको त्रिशुली र खरानीटार अस्पतालमा गरी नुवाकोटमा ४० बेड तयार गरिएको छ । अहिले नुवाकोटमा १४० जना होम क्वारेन्टाइनमा बसिरहेको खनालले जानकारी दिएका छन् ।

नुवाकोट जिल्लामा पहिलो कोरोना संक्रमित नै समुदायस्तरमा भेटिएको थियो । ककनी गाउँपालिकाका एक पुरुषमा पहिलो कोरोना संक्रमण भएको पुष्टि भएको थियो । करिव एक सात टेकु अस्पतालमा उपचार पछि उनी बैशाख पहिलो साता घर फर्किएका थिए । त्यसपछि विदेशबाट र कोरोना संक्रमित स्थानबाट आएकाहरुमा मात्रै संक्रमण देखिदै आएकोमा असारदेखि नुवाकोटमा पुनः समुदायस्तरमा कोरोना भाइरसको संक्रमण भेटिदै आएको छ ।

कोरोना भाइरसको संक्रमण कम गर्नका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले चरणबद्ध रुपमा निषेधाज्ञा जारी गर्नेक्रममा अहिले जिल्लैभरी निषेधाज्ञा लागू भएको छ । भदौ ३ गते प्रशासनले लगाएको निषेधाज्ञा सकिदै छ । तर जिल्लाको अवस्थालाई मुल्याङ्कन गरेर संकट व्यवस्थापन केन्द्रले पुनः निषेधाज्ञा जारी गर्ने विषयमा आन्तरिक गृहकार्य र परामर्श थालेको छ । अहिले नुवाकोटमा बैंकिङ्गक क्षेत्रको सेवा समेत ठप्प रहेको छ । अब हुने निषेधाज्ञामा भने सुरक्षित रुपमा र आलोपालो गरेर बैंकहरुले सेवा दिने गरी व्यवस्था मिलाउन नागरिकहरुले माग गरेका छन् ।

३२ श्रावण २०७७, आईतवार २०:०४



तपाईको प्रतिक्रिया