विदुर । बागमती प्रदेश सभाका उप सभामुख राधिका तामाङ नौं वर्षिया छोरा सहित अहिले हेटौडामा छन् । आज कोरोना संक्रमित भएको पुष्टि भएसंगै उप सभामुख निवासमै आइसोलेसन तयार गरेर उनी बसेका छन् ।
आज दिउँसो करिव ४ बजेतिर नतिजा आएको हो । तर आफु कोरोना संक्रमित भएको जानकारी फेसबुकबाट थाहा पाएर झस्याङ्ग भएको उनले सुनाईन् । ‘मैले थाहा पाउनु भन्दा पहिल्यै फेसबुकतिर ब्यापक भइसकेछ, उप सभामुख तामाङले भने–‘मलाई र छोरालाई कोरोना संक्रमण देखिएको सत्य हो । तर आफ्नो श्रीमान्, स्वकिय सचिव लगायतका परिवारका सदस्य तथा सचिवालयका अन्यमा संक्रमण नदेखिएको उनले जानकारी दिए ।
‘हामी एकदम ठिक छौं, स्वास्थ्यमा कुनै समस्या देखिएको छैन, उनले भने– शुभेच्छुकहरुले फोन गरेर जिज्ञासा व्यक्त गरिरहनुभएको छ, त्यस्तो आत्निुपर्ने कुनै लक्षण अनि अवस्था नै छैन ।’ कामको सिलसिलामा काठमाडौंमा भेटभएका एक जनप्रतिनिधि नै कोरोना संक्रमित भएको जानकारी आएपछि आफुलाई पनि छ कि भनेर परीक्षण गराउँदा संक्रमित भएको थाहा भएको उप सभामुख तामाङले बताए ।
तामाङ बागमती प्रदेश सभाको सदस्य पदमा नुवाकोट निर्वाचन क्षेत्र नं. १ को ‘क’ बाट निर्वाचित भएका हुन् ।
तादीमा भेटिएका अर्का संक्रमित

विदुर । कोभिड–१९ (नोबेल कोरोना भाइरस)बाट नुवाकोटमा आज थप एक जना संक्रमित भएको पुष्टि भएको छ । यो संगै नुवाकोटमा संक्रमित हुनेको संख्या ७० पुगेको छ । यसमा बागमती प्रदेश सभाका उपसभामुख तामाङ र उनको छोरालाई गणना गरिएको छैन ।
स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालका अनुसार तादी गाउँपालिकाका उक ३८ वर्षिया पुरुषमा कोरोना भएको पुष्टि भएको हो । त्रिवि शिक्षण अस्पतालमा उनको स्वाव परिक्षणको क्रममा संक्रमण फेला परेको र काठमाडौंमै बसोवास रहेको कारण उतै आइसोलेसनमा राखेर उपचार थालिएको छ ।
यसै बीच, आज त्रिशुली अस्पतालबाट आठ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । स्वास्थ्यकर्मी सहितका आठ जना आज बिहानै अस्पतालबाट घर गएको स्वास्थ्य कार्यालयले जनाएको छ । अब त्रिशुली अस्प्तालमा ७, खरानीटार अस्पतालमा ४ र काठमाडौंको विभिन्न अस्पतालमा ५ जना नुवाकोटका नागरिकहरुको उपचार भइरहेको छ ।
१ भाद्र २०७७, सोमबार २०:२७