क्वारेन्टाइन र पिसिआर खर्च व्यक्ति आफैले व्यहोर्नुपर्ने

आज रातीबाट नुवाकोटको २० वडामा मात्रै निषेधाज्ञा

विदुर । आज मंगलवार राती १२ बजेबाट नुवाकोट जिल्लाको अधिकांश स्थानमा लागेको निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालयले अन्त्य गरेको छ । तर नुवाकोटका केही स्थानीय तहहरुको वडाहरुमा भने थप सात दिनका लागि निषेधाज्ञा कायमनै छ ।

६ वटा स्थानीय तहको विभिन्न वडाहरुमा थप सात दिनका लागि निषेधाज्ञा जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । उनका अनुसार अब लिखु गाउँपालिकाका वडा नं. ४, ५ र ६ नम्वर वडा, तादी गाउँपालिकाको वडा नं. ३ र ५, बेलकोटगढी नगरपालिकाको वडा नं. ५, ७, ८, १२ र १३, शिवपुरी गाउँपालिकाको वडा नं. ६, ७ र ८, ककनी गाउँपालिकाको वडा नं. १, २, ४ र ६ र तारकेश्वर गाउँपालिकाको वडा नं. २, ४ र ५ का सबै क्षेत्रमा निषेधाज्ञा लागू भएको छ ।

आज राती १२ बजेदेखि सात दिनसम्म लागू हुने छ । ति क्षेत्रहरुमा यस अघि निषेध गरिएको सबै कार्यहरु जारी रहने छ । नुवाकोटको अन्य स्थानहरुमा निषेधाज्ञा हटेपनि निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

त्यस्तै, कोल्पुटारबाट नुवाकोट प्रवेश गर्ने जुनसुकै व्यक्तिलाई पनि माझिटारको जिल्ला स्तरिय एकीकृत क्वारेन्टाइनमा राखिने छ । परिक्षण पनि कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएपछि मात्रै उनीहरुलाई घर जना दिइने छ । तर यसरी परिक्षण गर्दा लाग्ने खर्च र क्वारेन्टाइनको खर्च भने व्यक्ति आफैले ब्यहोर्नु पर्ने भएको छ । कुखुरा दाना ल्याउने सवारी साधनमा रहेका मानिसहरुले समेत अब क्वारेन्टाइन बसेर पिसिआर चेक गराउनु पर्ने भएको छ । अन्य नाकाबाट नुवाकोट प्रवेश गर्नेहरुलाई पनि सोही अनुसार गर्न प्रशासनले निर्देशन दिएको छ ।

त्यस्तै निषेधाज्ञा जारी रहेको स्थान बाहेकका अन्य ठाउँहरुमा केही खुकुलो गरिएपनि सवारी साधन सञ्चालनलाई निषेध गरिएको छ । बैंक, सहकारीहरु केही घण्टा मात्रै सञ्चालनमा आउने भएका छन् । पैदल हिड्न समेत यात्रुहरुलाई निषेध गरिएको छ । तीन वटा टोली बनाएर जिल्लाको अवस्था अनुगमन र निर्णय कार्यान्वयका लागि प्रशासनले थप कडाई गर्ने तयारी गरेको छ ।

९ भाद्र २०७७, मंगलवार १८:४३



तपाईको प्रतिक्रिया