साइकलमा भागेका संक्रमित पक्राउ

विदुर । चितवनको भरतपुर अस्पतालको आईसोलेसनमा उपचार गरिरहेका एक नुवाकोटका युवा भागेका छन् । उनी चितवनबाट साइकल चढेरै आज नुवाकोट भित्रिएका थिए ।

हिजो मंगलबार बिहान ५ बजे आईसोलेसनबाट भागेका ति युवालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएर थप उपचारका लागि त्रिशुली अस्पताल पठाएको छ । बेलकोटगढी नगरपालिकाका ति युवालाई नुवाकोट र धादिङको सिमाना कोल्पुटारमा रहेको चेकप्वाईन्टबाट प्रहरीले त्रिशुली अस्पताल पठाएको छ । आज बिहान दुईपिपल जाने बाटोस्थित सुकौरा खोलाको किनारमा बसिरहेको अवस्थामा स्थानियहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका यि युवा बेलकोटगढी नगरपालिका वडा नम्वर ५ दुईपिपलका सुनिल परियार रहेको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् । उनी १७ बर्षका छन् । कोल्पुटारबाटै उनलाई एम्बुलेन्समा राखेर त्रिशुली अस्पतालको आईसोलेसनमा पठाइएको छ ।

नुवाकोट प्रहरीका अनुसार चोरीको अभियोगमा चितवनमै पक्राउ परेका परियारलाई हिरासतमा राख्नु अघि प्रहरीले कोरोना परीक्षण गराउँदा उनको नतिजा पोजेटिभ आएको थियो । उनको श्रीमतीको जिम्मामा भरतपुर अस्पतालको आईसोलेसनमा प्रहरीले भदौ ६ गतेदेखि उपचार गराइरहेको थियो । उनी भरतपुर महानगरपालिकाको गाडीमा फोहोर उठाउने काम गर्ने र भरतपुर महानगरपालिका वडा नं. १२ बस्दै आएका थिए ।

साईकल चढेर चितवनबाट संक्रमित नुवाकोट आईपुगेपछि उनीसंग नजिकको सम्पर्कमा रहेकाहरुको पहिचान जटिल बनेको जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् । तै पनि उनको सम्पर्कमा रहेकोहरुको विवरण संकलन भएको जानकारी उनले दिएका छन् ।

१० भाद्र २०७७, बुधबार १८:५६



तपाईको प्रतिक्रिया