गुनासो पेटिकामा प्रहरी विरुद्ध हालेको उजुरी सिधै हेटौडा

विदुर नगरपालिकामा उजुरी पेटिका स्थापनाको क्रममा प्रमुख प्रशासकिय अधिकृत पोखरेल, एसपी कार्की, पत्रकार महासंघका अध्यक्ष खनाल लगायतका ।

नुवाकोट । बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ ।

प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका काम कारबाहीको सम्बन्धमा नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी सल्लाह सुझाव अनुरुप प्रहरी सेबालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव संकलन पेटिका राखिएको हो ।

नुवाकोट जिल्लाका लागि विदुर नगरपालिकाको कार्यालय भित्र गुनासो पेटिका राखिएको छ । गुनासो पेटिकाको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेबकुमार पोखरेलले यो अभियानले झन् नागरिकहरुलाई सर्बोच्च बनाएको बताए । प्रहरीको विषयमा प्रहरी कार्यालमै पुगेर गुनासो वा उजुरी गर्ने वातावरण नभएको अवस्थामा यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् ।

प्रहरीले गरेको काम कारबाहीको विषयमा चित्त नबुझेमा वा सुझाव दिन मन लागेमा नगरपालिकाको कार्यालय परिषरमा राखिएको पेटिकामा लिखित रुपमा राख्न सकिने छ । जसले गर्दा नागरिकहरुको सेवामा खटिएका प्रहरीहरुलाई अझ जिम्मेवार र मर्यादित बनाउने पोखरेलले बताए ।

विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पोखरेल र नुवाकोटका प्रहरी प्रमुख एसपी कार्की

गुनासो तथा सुझाव संकलन पेटिका स्थापनाको क्रममा नुवाकोट प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले यसरी संकलन हुने सुझाव, गुनासो वा उजुरी सिधै प्रदेश कार्यालयमा पठाइने बताए । नगरपालिका र प्रहरी कार्यालयको रोहवरमा हरेक महिनाको १ गते पेटिका खोलेर त्यहाँ भएको उजुरीलाई सिधै प्रहरीको प्रदेश कार्यालयमा पठाइने उनले जानकारी दिएका छन् । प्रहरीका विषयमा विना हिचकिचाहट केही सुझाव दिन मन लागे वा उजुरी गर्नुपर्न भए लिखित रुपमा दिन उनले नागरिकहरुलाई आग्रह गरेका छन् ।

यसरी प्राप्त भएका उचित गुनासो तथा सुझावलाई कार्यान्वयन पछि त्यसको जानकारी सम्बन्धीत व्यक्तिलाई हुन प्रदेश प्रहरीको आधीकारीक वेव साईट मार्फत समेत सार्वजनीक गरिने उनले जानकारी दिएका छन् ।

उजुरी पेटीकामा नागरिकहरुले प्रहरी कार्यालय र प्रहरी कर्मचारीको काम कारबाहीका सम्बन्धमा आफ्नो गुनासो, सुझावका साथै अन्य क्षेत्रमा आवश्यक पहलका लागि प्रहरीसंग राखिएको अपेक्षाहरु समेत राख्न सक्ने छन् । अन्य क्षेत्रसंग सम्बन्धीत रहेका गुनासो तथा सुझावहरुलाई आवश्यक सम्बोधनका लागि सम्बन्धीत निकायमा पठाईने एसपी तुलबहादुर कार्कीले बताए ।

नुवाकोटका प्रहरी प्रमुख एसपी कार्की

विदुर नगरपालिकाको कार्यालयमा प्रहरीले स्थापना गरेको गुनासो तथा सुझाव संकलन पेटिकाको आरम्भ समारोहमा विदुर नगरपालिकाका जनसम्पर्क अधिकारी रामहरि अधिकारी, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालको सहभागिता थियो ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष तामाङ र रसुवा प्रहरी प्रमुख सुवेदी

यसै बीच, रसुवा जिल्ला प्रहरी कार्यालयले समेत धुञ्चेमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको छ । गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय स्याफ्रुवेशीमा उजुरी पेटिका स्थापना भएको हो । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी ईन्द्रप्रसाद सुवेदी लगायतको सहभागिता थियो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ल्याएको यो कार्यक्रम अन्र्तगत स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटिका राखेको हो । बागमती प्रदेश प्रहरी अन्तर्गतका १० वटा जिल्लाहरुमा रहेका एउटा महानगरपालिका, एउटा उपमहानगरपालिका, २५ वटा नगरपालिका र सदरमुकाममा रहेका एउटा गाउँपालिकामा गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ ।

नागरिकबाट प्राप्ते हुने गुनासो तथा सुझावलाई तत्कालै सम्बोधन गरी प्रहरी सेवालाई प्रभावकारी एवम् जवाफदेही बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले गुनासो तथा सुझाव पेटिका सञ्चालन सम्बन्धी कार्ययोजना २०७७ तयार गरी चरणगत रुपमा प्रदेशभरीका सबै स्थानीय तहको कार्यालयमा सुझाव संकलन पेटिका राख्ने कार्यक्रम तय गरेको छ ।

हेटौडा

दोस्रो चरणमा ७० वटा गाउँपालिका र तेस्रो चरणमा प्रदेश भरीका ८ सय ७४ वटा वडा कार्यालयहरुमा प्रहरीले गुनासो तथा सुझाव संकलन पेटिका राख्ने छ । यसको सुरुवातमा बिहिवार २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको हो ।

प्रहरीको बिरुद्ध प्रहरी कार्यालयमै गएर गुनासो ब्यक्त गर्नु सहज महशुस नगरेको कारण अपेक्षित गुनासोहरु संकलन हुन नसकेकोले यो कार्यक्रम लागू गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।

प्राप्त गुनासो तथा सुझावको सम्बोधनको लागि प्रदेश प्रहरी कार्यालयमा उजुरी छानबिन शाखा समेत स्थापना गरेको छ । पत्रहरु प्रदेश प्रहरी कार्यालयको लागि संकलन गरिने भएकोले उजुरीकर्ताको गोप्यता समेतलाई ध्यानमा राखी पेटिकामा भएको पत्र नखोली बागमती प्रदेश प्रहरी कार्यालयले प्राप्त गर्ने गरी पठाइने छ ।

हेटौडा

१ आश्विन २०७७, बिहीबार १८:३७



तपाईको प्रतिक्रिया