विदुर । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक आयोजना अन्तर्गत ढुङ्गे–बेत्रावती सडक खण्डको मुआब्जा समस्या समाधानसँगै निर्माण सुरु भएको छ । योसंगै ठेकेदारले आउँदो असार भित्र ४१ किलोमिटर सडक पिज गर्ने लिखित प्रतिवद्धता जनाएको छ ।
ठेकेदार कम्पनी तुन्दी/कोभेक/रसुवा जेभीले आवश्यक निर्माण उपकरण लगेर काम थालिसकेको छ । मुआब्जा वितरण गर्ने योजना र निर्माण प्रक्रिया अगाडि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । आयोजनाले घरधनीलाई मुआब्जाका लागि कागजपत्र सहित सम्पर्क गर्न आग्रह गरेको छ । आयोजना कार्यालयले गत हप्ता ठेकेदारलाई काम सक्ने गरी तालिका बनाएर प्रतिबद्धता जनाउन लगाएको छ ।
कार्यालयले आगामी पुस महिनाभित्र बुधसिंघाटको पहरोको कटिङ सक्ने, धुरपुरे–देवीघाट खण्डको पहिरो रोकथाम बाहेक सम्पूर्ण क्षेत्रमा निर्माण कार्य गरिसक्ने गरी प्रतिबद्धता जनाएको छ । पुस महिनामा ६ किलोमिटर डिबिएमको कार्य र थप चार किलोमिटरमा बेस गर्ने र आउँदो असार मसान्तसम्म ४१ किलोमिटरसम्मको सम्पूर्ण निर्माण कार्य सक्ने प्रतिबद्धता लिखित रूपमा गरेको छ ।
ठेकेदारले कार्यालयसँग असोजभित्र थप १३ किलोमिटरमा पिच गर्ने, कल्चौँडेभिर काट्ने काम सक्ने र गेर्खु–शुभघाट र रसुवाको खाल्टे सडक खण्डमा ४ किलोमिटर ‘बेस लेभल’को काम सक्ने प्रतिबद्धता जनाएको छ ।
ठेकेदारले उक्त खण्डमा ६ ठाउँबाट काम सुरु गरेको छ । आयोजना कार्यालयले नियमानुसार निर्धारण गरिएको मुआब्जा बितरणको प्रक्रिया अगाडि बढाएपछि ठेकेदार कम्पनीले निर्माण सुरु गरेको हो ।
दुई वर्षदेखि सडक सरोकारवालाले उचित मुआब्जाको माग गर्दै सर्बोच्च अदालतसम्म पुगेका थिए । अदालतले मुआब्जा बितरण गरेर निर्माण कार्य गर्न निर्देशन दिएपछि मुआब्जा बितरण र निर्माणकार्यसँगै थालनी गर्ने सहमती भएको थियो ।
२ आश्विन २०७७, शुक्रबार १९:००