संघका महासचिवनै म्याद नाघेको चिउरा बिक्रि गर्दै

विदुर । नुवाकोट जिल्लाका बजार तथा पसलहरुमा गुणस्तरहिन र म्याद नाघेका वस्तुहरुको खुलेआम बिक्रि भइरहेको गुनासो बढिरहेको बेला नुवाकोट उद्योग बाणिज्य संघका महासचिवकै उद्योगमा खुलेआम अवैध तथा गुणस्तरहिन खाद्य वस्तुहरुको बिक्रि भइरहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यलय नुवाकोटको नेतृत्वमा गएको बजार अनुगमन टोलीले गएको सोमबार बिदुर नगरपालिका वडा नं ५ देबीघाटमा रहेको संघका महासचिव कृष्णप्रसाद अधिकारीको जालपादेवी चिउरा भुजिया उद्योगमा उत्पादन म्याद नाघेका र अखाद्य वस्तुहरु बिक्री बितरण भैरहेको फेला पारेको हो ।

जालपादेवी चिउरा भुजिया उद्योग देबिघाटमा उत्पादन हुने गरेको चिउरा र भुजियाको बोरामा “बेष्ट बिफोर सिक्स मन्थ” अर्थात उत्पादन मितिले ६ महिनासम्म उपभोग गर्न मिल्ने देखिए पनि उत्पादन मिति भने उल्लेख गरिएको छैन ।

उत्पादित चिउरा भुजामा लेबल, ब्याच नं र पर्ने मुल्य समेत निर्धारण नगरी बिक्री भैरहेको पाइएको छ । अनुगमनको सुइको पाउना साथ उद्योगका कामदारहरुलाई नक्कली छाप लगाएर प्रशासनको आखामा छारो होल्ने प्रयास समेत गरेको थियो ।

उत्पादन सामाग्रीमा अनुगमन टोलीले उत्पादन मिति र ब्याच नं हुनु पर्ने भने पछि हतार हतार कागजमा लगाउने छाप बोरामा लगाएको भेटिएको हो । अनुगमन टोलीले भर्खरै मसी पोतिएको जस्तो देखेपछि अनुसनधान थालेको थियो । हातले छुँदा पुछिने गरी भर्खरै लगाइदै गरेको ‘रबर स्ट्याम’ का कारण झन् उनको गतिविधि शंकास्पद भएको टोलीका एक सदस्यले बताएका छन् ।

नुवाकोट उद्योग बाणिज्य संघले ब्याबसायीहरुलाई ब्याबसाय परामर्श तथा सञ्चालनमा सहजता प्रदान गर्नुपर्नेमा बर्षैदेखी सञ्चालनमा रहेको महासचिव अधिकारीको उद्योगले यस्तो हर्कत गर्नु अपराध भएको अनुगमन टोलीका एक जनाले भने ।

जालपादेवी चिउरा भुजाले हालसम्म खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यलयबाट अनुज्ञा पत्र नलिगी उद्योग सञ्चालन गरिरहेको पनि भेटिएको छ । १५ दिनमा अनुज्ञापत्र लिगी मापदण्ड अनुसारको खाद्य बस्तु उत्पादन नगरेमा कानुनी कारबाहीमा जाने खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यलयका प्रमुख नमराज श्रेष्ठले बताए । ‘आजका मितिले १५ दिन भित्र कानुनी प्रकृया पुरागरि उत्पादीत बस्तुमा ब्याच नं।, उत्पादित मिति ,मुल्य निर्धारण र अनुज्ञा पत्र लिएर काम नगरेमा खाद्य ऐन अनुसार २ बर्ष देखी ५ बर्ष सम्म कैद सजाए हुने छ’ प्रमुख श्रेष्ठले सोमवार भने ।

अनुगमन टोलीले अधिकारीको उद्योग सहित त्यहाँका ३९ वटा पसलमा अनुगमन गरेको छ । त्यस्तै अनुगमनको क्रममा अनुगमन टोलीले बजारमा म्याद गुज्रिएको पेय पदार्थ, खाद्यन्न फेला पारे पछि ब्याबसायीहरुलाई सम्झाइ बुझाई अबका दिनमा यस्तो नगर्न प्रतिबद्ध गराएको छ । अुनुगमनको क्रममा ब्याबसायीहरुले दर्ता नगरी ब्यासाय सञ्चालन गरेको, भेटेरीनरीहरुमा बिषादी र पशु चौपायहरुको लागी औषधि एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यलय नुवाकोटका शाखा अधिकृत दयाराम पौड्यालले जानकारी दिए । उनका अनुसार यो पहिलो चरणको अनुगमन भएकाले सम्झाई बुझाई गरी १५ दिन भित्र कानुनी प्रकृया पुरा गरी ब्याबसाय सञ्चालन गर्न अनुरोध गरिएको छ ।

भिडिओ : रुपा अर्याल

१३ आश्विन २०७७, मंगलवार १३:३०



तपाईको प्रतिक्रिया