भण्डारी दुई वटा कार्यालयको प्रमुख

विदुर । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारी दुई वटा सरकारी कार्यालयको प्रमुख बनेका छन् । उनको कार्यशैली र कार्यसम्पादनको मुल्याङ्कन गर्दै एकै पटक दुई वटा कार्यालयको प्रमुख तोकिएको बुझिएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले असोज २८ गते भण्डारीलाई आयोजनाको अतिरिक्त सडक डिभिजन नुवाकोटको प्रमुखमा पनि जिम्मेवारी प्रदान गरेको हो । भण्डारीले शुक्रवार पदभार ग्रहण गरेका छन् । उनलाई यस अघिका डिभिजन प्रमुख राजेश दासले स्वागत गरेका थिए । उनको सरुवा भएको र तत्कालन सडक डिभिजन नुवाकोटमा प्रमुख नआउने भएपछि मन्त्रालयले डिभिजनको जिम्मेवारी पनि भण्डारीलाई दिएको हो ।

सडक डिभिजन नुवाकोटमा लामो समय अर्को प्रमुख नआउने बुझिएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको कार्य प्रगतीको मुल्याङ्कनका आधारमा आयोजना प्रमुख नारायणदत्त भण्डारीलाई मन्त्रालयले यो जिम्मेवारी दिएको हो ।

सडकको काम ६२ प्रतिशत

विदुर । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ रसुवागढी सडक अन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम ६२ प्रतिशत सकिएको छ ।

नाका जोड्ने छोटो दूरीको रूपमा रहेको यो सडकको तीन खण्डमा स्तरोन्नतिको काम हुने छ । जसअन्तर्गत पहिलो खण्डमा पर्ने गल्छी मैलुङ सडक खण्डको ६२ प्रतिशत भौतिक प्रगति भएको हो । गल्छी मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका अनुसार सडकमा पहिलो चरणको २१ किलोमिटर कालोपत्रे गरिएकोमा १३ किलोमिटर दोस्रो चरणको कालोपत्रे गरिएको छ ।

अहिले कालोपत्रे गर्ने, वाल लगाउने र पहरा काट्ने लगायतको काम चलिरहेको छ । गल्छी मैलुङ सडकको स्तरोन्नतिको काम आगामी पुससम्मका लागि थप गरिएको छ । दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकको स्तरोन्नतिको लागि निर्माण व्यवसायीसँग सम्झौता भएर निर्माण कार्य अघि बढेको छ । वर्षाको कारण सडक खण्डको विभिन्न स्थानमा पहिरो झरेकोमा अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ ।

त्यसैगरी स्याफ्रु रसुवागढी सडक खण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकोमा अहिले काम अघि बढेको छैन । नेपाली पक्षले बिजुलीको पोल सार्ने कार्यलाई अघि बढाएको छ । कोभिड–१९ का कारण यो सडक खण्डको काम अघि बढ्न नसकेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डमा निर्माण हुने ३२ वटा पुलमध्ये ११ वटाको डिजाइन र निर्माण कार्य भइरहेको छ । जसमा १० वटाको अहिले निर्माण कार्य भइरहेको योजनाले जनाएको छ । ५ वटा पुल मूल्यांकनको चरणमा रहेको छ । बाँकी पुलहरूको डिपिआर भइरहेको र यसै आर्थिक वर्षमा सम्झौता हुने उनले बताए ।

सल्लेरी खण्डमा जग्गा एकिन गर्न नसकिएको भनेर नापी कार्यालले जानकारी दिएको, टिमुरे खण्डमा लामो समयदेखि मुआब्जाको दररेट निर्धारण हुन नसकेको, यस आर्थिक वर्षमा विनियोजित रकम वितरण भइसकेको र थप ५९ करोड माग गरी फाइल अर्थ मन्त्रालयमा पुगेको भएपनि प्राप्त हुन नसकेको योजनाले जनाएको छ ।

पिपलटारदेखि ढुंगेसम्म अदालतको स्टे अडरका कारण काम अघि बढ्न नसकेको उनले जानकारी दिए । यी समस्याका कारण सडकको स्तरोन्नतिमा ढिलाइ भएको हो । यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो रहेको छ ।

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन । गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती रहेको छैन।

मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेसी सडक प्रयोग गर्न सकिने बताइएको छ । २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ ।

१ कार्तिक २०७७, शनिबार १५:०७



तपाईको प्रतिक्रिया