चार वर्षमा पनि बनेन कारागार, सरकारी संयन्त्र नै कारक

फाइल फोटो

विदुर । पहिलो चरण अन्तर्गत १७ सय कैदीबन्दी स्थानान्तरणसहित काठमाडौंस्थित केन्द्रिय कारागार नुवाकोट ल्याउने सरकारी योजना बिफल भएको छ ।

काठमाडौ जैसिदेवलस्थित राणाकालिन केन्द्रीय कारागार जीर्ण र अव्यवस्थित बनेसँगै २०७० चैत २० गते तत्कालिन सरकारले, नुवाकोट सार्ने निर्णय गरेको थियो । त्यसै अनुसार ३६ महिने निर्माण अवधि राखेर २०७३ असोजबाट निर्माण कार्य थालिए पनि काम पूरा नहुँदा सरकारी योजना अधुरै बनेको छ । तीनचरणमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माणाधिन ८ हजार पाँच सय कैदी बन्दी अटाउने क्षमताको केन्द्रिय कारागारको, ३२ वटा भवन बनिरहेका छन् । अहिले दोश्रो चरणको निर्माण कार्य भैरहेको छ । कारागार निर्माण सम्पन्न भैसक्नु पर्ने समयसिमा गुज्रिसक्दा पनि आयोजनाको दोश्रो चरणको काम मात्रै भैरहेको छ ।

सरकारी संयन्त्रकै कारण कारागार निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले जनाउदै आएको छ । लामा/रमण जेभीद्धारा निर्माणाधिन कारागारको प्राविधिक डिजाइन तथा परामर्श र बिल भुक्तानीमा ढिलाई हुँदा कार्यतालिका बमोजिम निर्माणमा कठिनाई भएको कम्पनीले जनाएको छ ।

बन्दीहरूको वृत्तिविकास तथा रोजगार लगायत मानव अधिकार समेतलाई ध्यानमा राखी बृहत गुरुयोजना सहित निर्माणाधिन कारागारमा खेलमैदान, अस्पताल, बिद्यालय एवम् क्याम्पस, पुस्तकालय, सीप प्रर्वद्धन केन्द्र तथा योग केन्द्र र किरियापुत्री कक्ष लगायतका सुविधा हुनेछन् ।

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ६ को खम्बाली क्याम्पमा ५३९ रोपनी क्षेत्रफलमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार बनाउने लक्ष्य अनुसार निर्माण भइरहेको कारागारमा एकहजार पाँचसय जना रहने क्षमताको चारवटा पुरुष ब्लक र एकहजार जना क्षमताको एउटा महिला ब्लक गरी जम्मा पाँचवटा ब्लक निर्माण भएको छ । योसँगै सुरक्षा निकायको लागी र प्रशासनिक भवनको निर्माण सम्पन्न भएको छ । बाँकि संरचना निर्माणकै अबधिमा रहेको छ ।

निर्माणाधीन उक्त कारागारमा पुरुष, महिला, समलिङ्गी, तेस्रोलिङ्गी, जघन्य अपराधमा संलग्न, मानसिक रोगीका लागि समेत छुट्टाछुट्टै कक्ष निर्माण भैरहेको छ । कैदीबन्दीको प्रजनन अधिकारको कार्यान्वयनका लागि पति–पत्नी भेटघाट कक्ष निर्माण गर्न‘का साथै विभिन्न उमेर समूहका कैदीबन्दीहरूलाई समेत छुट्टाछुट्टै राखिने गरी उक्त कारागार निर्माण भइरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

नेपालमा कारागारको इतिहास १९७१ सालबाट सुरु भएको हो । नेपालको पहिलो कारागार कारागार शाखा काठमाडौँ जगन्नाथदेवल हो । सुरुमा यसलाई सदर जेल भनिन्थ्यो र अहिले केन्द्रीय कारागार भनिन्छ । पहिले जेल मुख्तियारको मातहतमा रहन्थ्यो र यसको प्रमुख जर्नेल रहने व्यवस्था थियो । २००७ सालको जनक्रान्तिपछि कारागार प्रशासन गृह मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको हो ।

२९ मंसिर २०७७, सोमबार ११:२३



तपाईको प्रतिक्रिया