नुवाकोट । गेर्खुटार युवा क्लब नुवाकोटले नुवाकोट र रसुवाको दुई गाउँमा सञ्चालन गरेको एक घर एक धारा अभियान सम्पन्न गरेको छ । एसिएफको र गाउँपालिकाको आर्थिक सहयोग, लाभग्राहीहरुको श्रमदानबाट एक घर एक धारा निर्माण सम्पन्न भएको क्वलका अध्यक्ष मकुन्द नेपालले जनाकारी दिएका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. २ गाँउपालिका चिलाउनेगाउँ र रसुवाको उत्तरगया गाँउपालिकाको सिम्लेमा यो अभियान सम्पन्न भएका हो । स्थानीय नागरिकलाई खानेपानीको सहज आपूर्तिका लागि एक घर एक धारा कार्यक्रम सञ्चालन गरेको बताईएको छ । ‘मानिसको पहिलो आधारभूत आवश्यकता पानी नै भएकाले यो कार्यक्रम सञ्चालन गरेका हौं’ अध्यक्ष नेपालले भने ।

‘याक्सन अगेन्स हङगर’को आर्थिक सहयोगमा गेर्खुटार युवा क्लब मार्फत ग्रामीण खानेपानी तथा सरसफाई परियोजना मार्फत नुवाकोटको किस्पाङ गाउँपालिका चिलाउने र रसुवाको उत्तरगया गाँउपालिकाको सिम्लेमा ५१ वटा धारा निर्माण भएको छ । योसँगै सामुदायिक धारा समेत निर्माण सम्पन्न भएको छ । नुवाकोट र रसुवाका दुई स्थानीय तहमा बिद्यालय र स्वास्थ्य चौकीमा समेत गरी ५१ वटा धारा निर्माण सम्पन्न गरी पानी बितरण ब्यबस्थित भएको ‘याक्सन अगेन्स हङ्गर’को खानेपानी तथा सरसफाई परियोजना अधिकृत कपिल देबकोटाले जानकारी दिएका छन् ।

आयोजना निर्माणपछि दुबै स्थानीय तहका नागरिकहरु लाभाम्बित भएका छन् । स्थानीय नागरिकहरुले दैनिक पिउने पानीका लागि भोग्दै आएको समस्याबाट मुक्ति पाएसँगै त्यो समय अन्य काममा प्रयोग गर्न थालेका छन् । सिम्लेका घरघरमा धारा निर्माण भएपछि पानीको बचत समेत भएको छ । सिमित परिवारले चलाउदै आएको पानिलाई ट्याङ्की मार्फत् ब्यबस्थित बनाएसँगै गाँउका सबैले प्रयोग गर्न पाएको किस्पाङ गाँउपालिका वडा नम्बर २ चिलाउनेका निर्मला तामाङले बताए ।
प्रत्येक घरमा धारा पु-याउने उद्देश्यले खानेपानीको पहुँच बाहिरका नागरिकलाई स्थानीय स्तरमा नै रहेको पानीको मुहानको संरक्षण तथा ब्यबस्थापन गर्दै सबै घरघरमा धारा पु-याइएको हो । घरसँगै समुदायमै रहेको स्कुल, स्वास्थ्य चौकी र सार्बजानिक स्थलमा समेत धाराको निर्माण गरेको छ ।
घरमै धारा आएपछी पानीको आपुर्तीमा सहज भएको किस्पाङ गाँउपालिका वडा नम्बर २ चिलाउनेका चरिमाया तामाङले बताए । ‘पहिला पानी लिनको लागी लामो समयसम्म कुर्नुपर्ने, बर्षातको समयमा पानी नआउने लगायतको समस्या थियो’, उने भने– ‘अहिले खानेपानीको मुहानलाई ब्यबस्थित र ट्याङ्की निर्माण गरी पानीको बितरण भएसँगै सहज भएको छ’ तामाङले भने । उनका अनुसार घरमै पानी आएपछी पानी खोज्न हिड्नुपर्ने समय खेतिपाती र घरको अन्य काममा लगाउने अवसर मिलेको छ ।

त्यस्तै, गाँउमै पानीको मुहान भएपनि त्यसलाई ब्यबस्थित गर्न नसक्दा रसुवा उत्तरगया गाँउपालिका वडा नं. ५ सिम्लेमा खानेपानीको समस्या हुँदै आएको थियो । गाँउमै रहेको मुहानलाई ब्यबस्थित बनाउन गेर्खुटार युवा क्लबले सहयोग गर्ने भएपछि स्थानीय तहको बजेट पाँच लाख र श्रमदान समेत गरी खानेपानीको मुहान र बितरण प्रणालीलाई स्थानीयहरुले ब्यबस्थित बनाएका छन् । यस अघि पानी आधा गाग्रो बनाएर हिड्नु पर्ने बाध्यता अब घरघरमा धारा जडान भएसँगै सकिएको सिम्लेका रामप्रसाद आचार्यले बताए । ‘गाउँमाथि भएको पानीको श्रोतलाई संरक्षण गर्ने र घरघघरमा धारो पु-याउने कल्पना समेत गरेका थिएनौं, बजेट अभावका कारण गाउँपालिकाले समेत काम गर्न सकिरहेको थिएन’, आचार्यले भने– ‘जब गेर्खुटार युवा क्लबले यो कार्यक्रममा सहयोग गर्ने भयो त्यसपछि हाम्रो हाम्रो दिन फिरेको ।’ उनका अनुसार अहिले १४ घरले बेग्लाबेग्लै पानीको धारा आगँनैमा पाएका छन् । बाटो हिड्नेहरुका लागि सडकको छेउमा एउटा सार्वजनिक धारो पनि बनाइएको छ ।

गेर्खुटार युवा क्लबका कोषाध्यक्ष बद्री प्याकुरेलका अनुसार विश्व महामारी कोभिड–१९ (कोरोना भाईरस)को संक्रमणको भयाबह अबस्था रहेको समयमा पनि आयोजना सम्पन्न गर्नका लागि काम तिब्र पारिएको थियो । अघिल्लो महनिा सबै धारा निर्माण सम्पन्न गरेर घरघरलाई हस्तान्तरण गरिएको छ । उनका अनुसार गाउँलेको माग र आवश्यकताका आधारमा क्लबले दातृ निकायको खोजी गरेर खानेपानीको योजना निर्माण स्म्पन्न गरेको छ ।
दुवै गाउँमा पानी जम्मा गर्नकाका लागि आधुनिक र ब्यवस्थित पानी ट्याङ्कीको समेत निर्माण गरिएको छ । पानी ट्याङ्कीदेखि पानीको मुहान र श्रोत अनि पानीको धारो स्थानीयलाई हस्तान्तरण गरिएको छ । पानी व्यवस्थापन र सञ्चालनका लागि उपभोक्ता समिति समेत गठन गरेर मर्मत सम्भारको समेत जिम्मा दिइएको छ ।



६ पुष २०७७, सोमबार १३:४८