निषेधाज्ञा जेठ २५ सम्म लम्बियो

विदुर । नुवाकोटमा अर्को एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ । नयाँ निर्णय अनुसार जेठ २५ गतेसम्मलाई लम्बिएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसि एमसी) ले यसअघि जारी गरेको निषेधाज्ञा भोली जेठ १८ गते मंगलवार राति १२ बजेबाट सकिँदै थियो ।

जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो । जिल्ला संकट ब्यबस्थापन केन्द्रको हिजो आइतवार बसेको बैठकले यही जेठ २५ गते राति १२ बजेसम्म जिल्लाभर लागू हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ ।

अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्दा आवश्यक कागजपत्र देखाई प्रहरीसँग समन्वय गरी अनुमति प्राप्त भएपपछि यात्रा गर्ने, सरकारी, अर्धसरकारी, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूमा अनावश्यक भिडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय आलोपालो प्रणाली अनुसार कर्मचारी खटाई काम सुरु गर्ने व्यवस्था मिलाउन पर्ने छ । घरबाटै गर्न सकिने कामको हकमा वर्क फम होमको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

खाद्यवस्तु तथा पशुपक्षीको दाना, खाना पकाउने ग्यास, तरकारी, फलपूmल, डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्री लगायतका अत्यावश्यक पसलहरू बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्ने र अन्य पसलहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने निर्णय गरेको छ । औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सैं घण्टा खुला हुने छ । आदेशको अवेज्ञा गरी कार्य गरे वा गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने छ ।

विदुरमा संक्रमण दर बढी

नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित र निको हुनेको दर नुवाकोटमा बढ्दो छ । सबैभन्दा बढी विदुर नगरपालिकामा कोरोना संक्रमण बढ्दो छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हरेक ९० जनामा १ जना संक्रमित छन् । कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार विदुर नगरपालिकामा हालसम्म १४ सय ४४ जना कोरोना संक्रमित छन् । विदुर नगरमा २६ सय २७ जना छन् । जसमा ७१५ महिला र १९ सय १२ पुरुष छन् ।

विदुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीका अनुसार दोस्रो भेरियन्ट यता चैत्र २४ गतेदेखि नगरका १३ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । जेठ १३ गतेसम्म नगरका सबै वडामा ६ सय ५६ जना संक्रमित भएको उनले जानकारी दिए ।

सबैभन्दा बढी वडा नं. २ मा १०५ जना संक्रमित छन् । सबैभन्दा कम वडा नम्बर ६ मा २१ जना छन् । कोरोनाभाइरस महामारीको पहिलो लहरमा विदुर नगरपालिकाका ७८८ जना संक्रमित भएको बताइएको छ ।

१७ जेष्ठ २०७८, सोमबार १०:२५



तपाईको प्रतिक्रिया