‘स्टक’को नाममा बालुवाको खेलो हुने आशंका

विदुर । विभिन्न खोला तथा नदीहरुबाट उत्खनन गरी ‘स्टक’ बालुवा, गिटी र ढुङ्गाको नाप जाँच गरी जिल्ला समन्वय समितिमा पठाउन स्थानीय तहहरुलाई आग्रह गरिएको छ ।

जिल्ला अनुगमन समितिको बैठकले खोला, नदी तथा खानीबाट उत्खखन गरी घाटगद्दीमा संकलन गरिएको ढुङ्गा, गिटी र वालुवा एवं क्रसर उद्योगमा संकलित नदीजन्य सामाग्रीको सम्वन्धित स्थानीय तहले नाप जाँच गरी दुई साताभित्र विवरण जिल्ला समन्वय समितिलाई पठाउनुपर्नेछ ।

क्रसर उद्योगमा संकलन भई प्रशोधन भएको र नभएको दुबैको विवरण पढाउनु पर्ने जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक सन्तमान तामाङले बताए ।

यस्तै हरेक वर्षको वर्षातको तीन महिना असार श्रावण र भदौमा नदी जन्य सामाग्री उत्खनन् गर्न नपाइने सरकारी नियम नै रहेको छ । यस अवधीमा नदीजन्य पदार्थको कोहीकसैबाट उत्खनन, संकलन तथा ओसारपसार हुन नदिनलाई स्थानीय तह तथा सम्वन्धीत कार्यालयहरुबाट पूर्ण सक्रियताको साथ अनुगमन गरिने समितिले जनाएको छ ।

यस अवधीमा अवैध रुपमा कार्य नदीजन्य सामाग्री उत्खननको कार्यमा संलग्न रहेको पाइएमा सुरक्षा निकायलाई जानकारी गराउन जिल्ला अनुगमन समितिले जनाएको छ । जिल्लामा बहने नदीहरुमा वर्षाको समयमा बगेर जाने बालुवा सदुपयोग गराउन नदीमा बाँध बाधी ‘हार्भेष्टिङ’ सम्वन्धमा जिल्ला समन्वय समितिले सम्भाव्यता अध्ययन गराउने कार्य गर्ने जिल्ला अनुगमन समितिको वैठकले निर्णय गरेको छ ।

तर ‘स्टक’को नाममा नदीजन्य पदार्थको अवैध कारोवार र ओसारपसार हुने शंका सरोकारवालाहरुको छ । नदीबाट निकाल्दै ‘स्टक’ भन्दै ‘धन्दा सञ्चाल हुने र त्यसमा नियमन निकाय मौन रहने आरोप वर्षेनी लाग्दै आएको छ ।

५ असार २०७८, शनिबार १९:५०



तपाईको प्रतिक्रिया