मौसम सुधार हुन दुई दिन लाग्ने

फाइल तस्बिर : नुवाकोट साततले दरवार परिसरबाट देखिएको विदुर, बट्टार, पिपल्टार, चारघरे जिलिङ्ग लगायतको क्षेत्र ।

विदुर । अझै मौसम सुधार हुन दुई दिन लाग्ने अनुमान गरिएको छ । आइतवारबाट मात्रै मौसम सफा हुने अनुमान छ ।

अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका भूभागहरूमा बदलीको अवस्था छ ।

यस्तो अवस्था शनिबार रातिसम्म रहने मौसम पूर्वानुमान महाशाखा मौसमविद निराजन सापकोटाले जानकारी दिए । ‘आइतबार बिहानदेखि बिस्तारै पश्चिमबाट खुल्दै पूर्वी भूभागतिर जान्छ । यसबाट पारदर्शितामा पनि वृद्धि हुन्छ,’ मौसमविद् सापकोटाले भने ।

अरब सागरमा विकसित निम्न चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागहरूमा चिसो बढ्ने र तुवालेको कारणले पारदर्शितामा कमी आउने महाशाखाले जनाएको छ । पारदर्शितामा कमी आउँदा सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल छिमेकी मुलुक भारतमा देखिएको वायुप्रदूषणको आंशिक प्रभाव पनि नेपालमा परेको मौसमविद सापकोटा बताउँछन् । ‘त्यो जलवाष्पयुक्त हावामा डष्ट पार्टिकलहरू (धुलोका कणहरू) मिसिएर नेपाल प्रवेश गरेकाले भिजिबिलिटी (पारदर्शिता)मा कमी ल्याएको छ,’ सापकोटाले भने ।

३ मंसिर २०७८, शुक्रबार १०:००



तपाईको प्रतिक्रिया