प्रयोगमा आउदैनन् उजुरी पेटिका

विदुर । बुधवार जिल्ला हुलाक कार्यालय नुवाकोटका निमित्त प्रमुख गोपालप्रसाद अधिकारीले आफ्नो कार्यालयको सुझाव पेटिका खोले । तर यस अघिको जस्तै खाली भेटे । ‘उजुरी पेटिका त राखिएको छ तर, नागरिकहरुले गुनासो वा सुझाव केहि राख्ने गरेका छैनन्’ अधिकरीले भने ।

यो समस्या जिल्ला हुलाक कार्यालय नुवाकोटको मात्रै होइन, अहिले सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्न छाडेको छ । संघ, प्रदेश र स्थानीय तहका अधिकांश सरकारी कार्यालयमा राखिएका उजुरी पेटिका प्रायः रित्तै हुने गरेका छन् । कतिपय कार्यालयको गुनासो पेटिकामा भने माकुरा र बारुलाको राज हुने गरेको छ । गुनासो पेटिका खोल्दा प्रायः बाकस खाली पाइएको सम्बन्धित कार्यालयले जनाएका छन् ।

बिदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डितले आफू निर्वाचित भएर आएको करिब पाँच वर्षमा उजुरी पेटिकामा एउटा पनि उजुरी नपरेको बताए । नागरिकले चित्त नबुझेको कुरा सीधै जनप्रतिनिधि, सूचना अधिकारी, कार्यालय प्रमुखलगायतका व्यक्तिलाई आएर गुनासो गर्नसक्ने भएकाले पनि उजुरी पेटिकामा उजुरी नपरेको हुनसक्ने उनको भनाइ छ । आफूले दैनिक ४० जना भन्दा बढिसँग प्रत्यक्ष भेटघाट र सम्पर्क गर्ने गरेको, गुनासो सीधै आएर जनप्रतिनिधि र कर्मचारीलाई सुनाउने गरेकाले पनि उजुरी नपरेको उनले सुनाए ।

यस्तै, जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीबनप्रसाद दुलालले कार्यालयमा राखिएको उजुरी पेटिकामा ७ महिनामा एउटा पनि उजुरी नपरेको बताएका छन् । अहिले सेवाग्राहीको पहुँच सिधै कार्यालय प्रमुखसँग हुन थालेकाले उजुरी तथा सुझाव पेटिकामा उजुरी पर्न छाडेको उनको भनाई रहेको छ । जिल्लाका सबै कार्यालयमा उजुरी पेटिका छन्, तर ती कार्यालयमा राखिएका उजुरी पेटिकामा पनि उजुरी परेको छैन ।

कतिपय कार्यालयमा रहेको उजुरी पेटिका बर्षौसम्म नखुलेको समेत छ । सरकारी कार्यालयमा कार्यालयको कामकारबाही, कर्मचारीको व्यवहार, भ्रष्टाचार, ढिलासुस्ती लगायतका विषयमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न उजुरी पेटिका राख्ने गरिएको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ३१ मा सार्वजनिक निकायले सम्पादन गरेको कामकारबाहीको गुणस्तर, प्रभावकारिता र त्यसमा हुनसक्ने अनियमितताका सम्बन्धमा गुनासो सुन्न, सबैको पहुँच पुग्ने गरी गुनासो पेटिका राख्नुपर्ने उल्लेख गरिएको छ । गुनासो पेटिकालाई सोही ऐनबमोजिम प्रत्येक तीन–तीन महिनामा खोल्नुपर्ने व्यवस्था छ ।

दैनिक बढ्दै गएको सूचना र प्रविधिको विकास पनि उजुरी नपर्नुको कारणमध्ये एक हो । सेवाग्राहीका कुनै गुनासो भए सीधै कार्यालयमै आएर, फोन, एसएमएस, फेसबुक पेज, ई–मेललगायतका माध्यमबाट गुनासो गर्ने गरिएकाले गुनासो पेटिकामा उजुरी नपरेका हुन् ।

राष्ट्रिय सूचना आयोगका सूचना अधिकारी विश्वबन्धु पौडेलले सूचनासम्बन्धी हकले नागरिकलाई सीधै सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्न सक्ने बनाएकाले गोप्य रूपमा उजुरी पेटिकामा गुनासो नपरेको बताए । उनका अनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेको र सूचना अधिकारीमार्फत सेवाग्राहीको गुनासो सुनुवाइ हुने व्यवस्था भएकाले पनि उजुरी पेटिकामा उजुरी पर्दैनन् ।

पेटिकामा उजुरी हाल्दा हातले लेख्नुपर्ने, त्यसमा समय र श्रम खर्च हुने, पेटिकामा हालिएका उजुुरी निश्चित अवधि नभई गुनासो सुनुवाइ नहुने तर फोन वा ई–मेलबाट हालिएका गुनासो भने छिट्टै सुनवाइ हुने भएकाले उजुरी पेटिकामा उजुरी नपरेका हुन् ।

२८ पुष २०७८, बुधबार १२:४१



तपाईको प्रतिक्रिया