सम्पन्न नहुँदै बुढो भयो गंगटे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक

३० वर्षमा ५० किलोमिटर सकड पनि बनेन

समुन्द्रटार–गोल्फुभञ्याङ खण्डको सडक । तस्बिर : कपिलदेव खनाल

विदुर । सामान्यतया ‘गेम चेन्जर’ आयोजना सम्पन्न हुने समयावधि संसारभर नै बढीमा १० वर्ष मानिन्छ । त्यसभन्दा बढी समय लागेका आयोजनालाई समस्याग्रस्त भएको ठानिन्छ । तर, नेपालमा ४० वर्ष हाराहारीमा पुगेका आयोजना अझै पनि अधुरै छन् ।

द्रुत विकास र आर्थिक समृद्धि यतिवेला समग्र देशको एजेन्डा छ । तर, मुलुकमा तीन–चार दशकअगाडि सुरु भएका कैयौँ पूर्वाधार आयोजना अझै सकिएका छैनन् । सामान्यतया ‘गेम चेन्जर’ मानिएका आयोजना सम्पन्न हुने समयावधि संसारभर नै बढीमा १० वर्ष मानिन्छ । त्यसभन्दा बढी समय लागेका आयोजनालाई समस्याग्रस्त भएको ठानिन्छ । तर, नेपालमा ४० वर्ष हाराहारीमा पुगेका आयोजना समेत अधुरै छन् । तीमध्ये केही राष्ट्रिय गौरवको सूचीमा छन् । तर, कहिले सकिन्छन भन्ने यकिन छैन । बजेटको अभाव, फितलो कार्यान्वयन अवस्था, जग्गा प्राप्तिमा जटिलता, सामग्री ढुवानीमा अवरोध तथा अभाव र कमजोर राजनीतिक इच्छाशक्तिलाई आयोजना ढिलाईको कारण मनिएको छ । जनता आयोजनाबाट प्राप्त गर्नुपर्ने सुविधाबाट वञ्चित मात्रै होइन, कछुवा गतिको काम देखेर निराश छन् । आयोजना पूरा हुने आशामा बसेका नागरिकसँगै आयोजना आफैं पनि सम्पन्न नहुँदै बुढा भएका छन् । आयोजना ढिलाइसँगै बजेट पनि थपिँदै जान्छ ।

यस्तै नबन्दै बुढा भएको आयोजनामा नुवाकोटको गंगटे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक पनि रहेको छ ।

आर्थिक वर्ष २०४८/०४९ मा थालिएको यो आयोजना अझै सम्पन्न भएको छैन । काम सुरु भएको ३० वर्षपछि पनि सम्पन्न हुने मितिसमेत यकिन गर्न सकिएको छैन । कुल ५० किलोमिटर लम्बाइ रहेको सडकको ट्रयाक भने खोलिसकेको सडक इन्जिनियर राम पौडेलले जानकारी दिए । यस सडकको सात किलोमिटर खण्ड भने मध्यपहाडी लोकमार्गमा पर्छ । अहिलेसम्म यो सडकमा कति खर्च भयो भन्ने यकिन तथ्याङ्क छैन ।

गंगटेदेखि समुन्द्रटारसम्म ३० किलोमिटर कालोपत्रे सम्पन्न भएर पनि अहिले पुनः कालोपत्रे गर्नुपर्ने अवस्थामा भएको छ । कतैकतै मात्र कालोपत्रे बाँकी छ । समुन्द्रटारदेखि गोल्फुभञ्ज्याङसम्मको २० किलोमिटरमा भने ट्रयाक मात्र खोलेर राखिएको छ । ‘त्यस खण्डमा हिउँदमा मात्र सवारी चल्छ,’ इन्जिनियर पौडेलले भने । सबै खण्डमा कालोपत्रे गर्ने हो भने पाँच अर्ब लाग्ने अनुमान छ । तर, सरकारले यो वर्ष जम्मा चार करोड मात्र बजेट विनियोजन गरेको छ । अहिले कालोपत्रे गर्नुअघि विस्तृत आयोजना प्रतिवेदन पनि तयार गरिँदै छ । त्यसले कालोपत्रेको यथार्थ लागत देखाउनेछ ।

चार वर्ष अघि डिभिजन सडक कार्यालय नुवाकोटले निर्माण कार्य सम्पन्न नहुनुको कारण माग गर्दै ठेकेदार कम्पनीको नाममा जारी गरेको सार्वजनिक सूचना ।

३ माघ २०७८, सोमबार १३:३३



तपाईको प्रतिक्रिया