आठ पटक म्याद थपेर ५४ प्रतिशत काम

विदुर । चीन जोडिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनामा ८ पटकसम्म म्याद थप्दा पनि काम भने ५४ प्रतिशत मात्रै सम्पन्न भएको छ । उक्त सडक गल्छीदेखि चीनको नाका मितेरीपुलसम्मको दूरी ८२ किलोमिटर छ ।

‘समग्र भौतिक र वित्तीय प्रगति हालसम्म ५४. ६० प्रतिशत पुगेको छ,’ आयोजनाका योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले भने, ‘गल्छी–मैलुङको ४६ किलोमिटर सडकमा ८० प्रतिशत प्रगति छ ।

मैलुङ–स्याफ्रुको काम भरहेको छ भने स्याफ्रुबेसी–रसुवागढीमा सडक निर्माण गर्न चिनियाँ पक्षलाई भनिएको छ ।’ गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी एउटै सडक आयोजनालाई तीन खण्डमा विभाजन गरी काम भइरहेको छ । पहिलो खण्ड गल्छी–मैलुङ ४६, दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेसी १९ र अन्तिम खण्ड स्याफ्रुबेसी–रसुवागढी खण्ड १७ किलोमिटर दूरी छ ।

पहिलो खण्ड गल्छीदेखि सुकौरे खोलासम्म ३२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यो सडक निर्माणका लागि कोभेक, तुण्डी र रसुवा कन्ट्रक्सन जेभीले २०७३ साल कात्तिक २२ गते ठेक्का सम्झौता गरेको हो । उसको म्याद आगामी असार मसान्तसम्म मात्र छ । यो सडकको ८ पटक म्याद थप भइसकेको छ । यो खण्ड अझै १४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ ।

गल्छी–देवीघाट–पिपलटारसम्म, गेर्खुखोला–बेत्रावती, रसुवाको नौविसे, किस्पाङ मनकामनाको पुच्छारमा सडक कालोपत्रे भएको छ । देवीघाट पारि जिलिङ, पिपलटारदेखि ढुंगे, रसुवाको बेत्रावती, किस्पाङको शान्तिबजार क्षेत्रमा सडक कालोपत्र हुन बाँकी छ । गंगटेदेखि ढुंगे सडक खण्डका घर टहराको मुआब्जा दिनुपर्ने अदालतले फैसला गरेको छ । रसुवाको बेत्रावतीदेखि बोगटीटार जाने बाटोसम्मको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

शान्तिबजार क्षेत्रमा स्थानीयले मुआब्जा नलिएकाले अवरोध कायम छ । गल्छीदेखि स्याफ्रुबेसीसम्म ११ वटा पक्की पुल बनाउनुपर्नेमा ९ वटा सम्पन्न भएका छन् । ३ वटा निर्माणाधीन छन् ।

दोस्रो खण्डमा पर्ने मैलुङ–स्याफ्रुबेसी १९ किलोमिटर सडकको प्रगति २४ प्रतिशत मात्र छ । सडकको दायाँबायाँ जाली भर्ने र वाल लगाउने काम भैरहेको छ । उक्त सडक कालोपत्रे गर्न भारत कन्स्ट्रक्सन/सिद्धि साई जेभीले ०७७ साल साउनमा ठेक्का पाएको हो । ३० महिनामा सम्पन्न गर्ने भनिएको थियो । यो खण्डमा सेनाले ट्रयाक खनिदिएको हो ।

स्याफ्रुबेसी–रसुवागढीसम्मको १७ किलोमिटर सडक चीन सरकारको सहयोगमा निर्माण गर्ने भनिएको छ । नयाँ वर्ष र कोरोनाका कारण चिनियाँ पक्ष नआएपछि अब निर्माण थाल्ने आयोजनाले जनाएको छ । सन् २०१८ मा चीन सरकारसँग दुई लेन सहित कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । यहाँ विजुलीको पोल हटाएर निर्माण थाल्न आयोजनाले भनिरहेको छ । यो सडक गल्छीमा पृथ्वी राजमार्गमा जोडिएपछि वीरगञ्ज हुदै भारतसँ जोडिन्छ । यो सडक त्रिदेशी मार्ग बन्ने छ ।

८ अर्ब ३८ करोड खर्च

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक आयोजनाको कुल लागत १५ अर्ब ५० करोड रुपैयाँ छ । त्यसमध्ये मुआब्जा, घरटहराको क्षतिपूर्तिमा ६ अर्ब र सडक निर्माणमा ९ अर्ब ५० करोड खर्च हुने छ । हालसम्म सडकतर्फ ५ अर्ब १५ करोड र मुआब्जा (जग्गा–घरटहरा)मा ३ अर्ब २३ करोड रुपैयाँ खर्च भैइसकेको आयोजनाले जनाएको छ ।

१ जेष्ठ २०८०, सोमबार २१:१४



तपाईको प्रतिक्रिया