जिल्ला सहकारी संघले वित्तिय सेवा उपलब्ध गराउने

विदुर । जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले यस वर्षबाट जिल्लामा रहेका आफ्ना सदस्य संस्थाहरुलाई वित्तिय सेवा उपलब्ध गराउने भएको छ । त्यसका साथै सहकारी संघसंस्थाहरुको लगानीमा विभिन्न प्रकारका व्यवसायहरु सञ्चालन गर्न सम्भावना अध्ययन गरी त्यसका आधारमा व्यवसायिक योजना समेत सञ्चालन हुने भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको को २९ औँ वार्षिक साधारण सभाले उक्त नीति पारित गरेको हो । बुधवार सम्पन्न साधारण सभाबाट जिल्ला भित्र विभिन्न् ज्याला मजदुरी तथा सिपमुलक पेशा अगालिरहेका मजदुरहलाई समेटी श्रमिक सहकारी र पत्रकार तथा सञ्चार सेवामा जोडिएका नागरिकहरुको सञ्चार सहकारी स्थापना र प्रवद्र्धनमा सहयोग गर्ने समेत नीति पारित भएको संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार विगतमा साझा सहकारी संस्था लिमिटेडको रुपमा सञ्चालन भई हाल निष्कृय भएका जिल्ला भित्रका साझा सहकारी संस्थाहरुलाई पुन सञ्चालनमा ल्याउने नीति समेत तय भएको छ । जसका लागि नीतिगत रुपमै समस्या उत्पन्न भएकोले राष्ट्रिय सहकारी महासंघसंग सहयोग लिई नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसंग समन्वय गरि आवश्यक कार्य अगाडी बढाइने भएको छ ।

संघीय संरचना अन्र्तगत संघ, प्रदेश र स्थानीय पालिकाहरुसंग समन्वय र निरन्तर संवादका लागि संघीय ढाँचामा जिल्ला सहकारी संघ मातहतमा रहने गरी पालिका स्तरिय नगर समन्वय उपसमिति र गाउँपालिका समन्वय उपसमिति गठन हुन थालेको र त्यसबाट संघमा आबद्ध संघसंस्थाहरुको सुदृढ र समक्ष ब्यवस्थापनमा संघले नेतृत्वदायी भूमिका खेल्ने नीति साधारण सभाबाट अनुमोदन भएको छ । हालसम्म नुवाकोटको दुप्चेश्वर गाउँपालिका, ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र विदुर नगरपालिकामा समन्वय उप समितिहरु गठन भएका छन् । बाँकी रहेका स्थानीय तहहरुमा यही वर्षमा समन्वय उपसमिति गठन हुने छ ।

बार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतले बागमती प्रदेशमा १२ वटा जिल्ला सहकारी संघ रहेको (रसुवा बाहेक) र त्यस मध्येमा नुवाकोट उत्कृष्ट रहेको बताएका छन् । सक्रियता, व्यवस्थापन र गतिविधिमा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोट बागमतीमै पहिलो रहेको उनको भनाई रहेको छ । त्यसका साथै बस्नेतले सहकारी संस्थाको समग्र बिकासका लागि छरिएर रहेका संस्थाहरुको मर्ज आवश्यक रहेको बताए । उनले निष्कृय सहकारीहरुको भेला गरेर समस्या र आवश्यकता पहिचान गरी सक्रिय बनाउन सहयोग गर्नुपर्ने समेत बताएका छन् । ‘तपाईहरुलाई सहकारी सञ्चालन गर्न गाह्रो परेको छ भने अर्कोसंग गाभिनुस्, बरु अरु थप शाखा कार्यालय वा काउन्टर सञ्चालन गर्नु भए हुन्छ’ बस्नेतले भने ।

जिल्ला सहकारी संघ लिमिटेडको २९ औं बार्षिक साधारण सभामा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजन श्रेष्ठ, सहकारी संघका पुर्व अध्यक्ष एवं राष्ट्रिय प्रतिनिधि बैकुण्ठ मिश्र, संघका पुर्व अध्यक्ष पूर्णलाल श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जाल नुवाकोटका अध्यक्ष सुभद्रा नेपाल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नेपाल पत्रकार महासंघ बागमती अध्यक्ष शिव देवकोटा, पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाल, चेम्वर अफ कमर्श नुवाकोटका महासचिव केशब मिश्र, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डित, राष्ट्रिय उपभोक्ता मञ्च नुवाकोटका अध्यक्ष बिष्णुप्रसाद सापकोटा, बहुउद्देश्यीय सहकारी संघ लिमिटेड नुवाकोटका नरेन्द्र प्रधान, बचत तथा ऋण सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष रमेश श्रेष्ठ, विदुर नगरपालिकाका सहकारी विकास शाखा प्रमुख पुष्कर शर्मा रिमाल, राष्ट्रिय सहकारी बैंक लिमिटेड नुवाकोटका प्रमुख प्रदिप अर्यालले मन्तब्य राखेका थिए ।

बार्षिक साधारण सभामा संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार जिल्लामा करिव ८० हजार नागरिक विभिन्न सहकारी मार्फत् सहकारी अिभयानमा आबद्ध छन् । नुवाकोटमा झण्डै पाँच सय सहकारी संघसंस्था रहेको र त्यसबाट ५ अरबको पुँजी परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । कोरोना भाइरसको जोखिम परिस्थितिमा सिर्जित लकडाउनको समयमा ‘बिपदमा सहकारी’ भन्ने नारालाई आत्मसाथ गरि किसान र सहकारीले उत्पादन र संकलन गरेको फलफुल र तरकारीलाई बजारिकरण गरि उपभोक्तालाई सस्तो र सुलभ मुल्यमा बिक्री सुरु गरेको सहकारी संघले हाल पनि जारी राखेको जिल्ला अध्यक्ष न्यौपानेले साधारण सभामा जानकारी दिएका छन् । नेपाल सरकार भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रलाय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा सो कार्यक्रम सञ्चालन भएको बताइएको छ ।

सोही कार्यक्रम अन्र्तगत सहकारी संस्था र किसानहरुले उत्पादन गरेका कृषि उपजहरु संकलन गरी बजारिकरण गर्नका लागि संकलन केन्द्र निर्माण, चिस्यान केन्द्र र सवारी साधारणहरु उपलब्ध भएको छ । नुवाकोटमा कृषी उपजको बजारिकरणका लागि छ वटा सवारी साधन सो कार्यक्रम अन्र्तगत प्राप्त भएको छ । जिल्ला सहकारी संघ लिमिटेडका सचिव प्रकाशकुमार अधिकारीका अनुसार जिल्ला सहकारी संघका लागि दुई वटा र अन्य चार वटा सहकारीका लागि एक/एक वटा सवारी साधन उपलब्ध भएको छ । यसरी सवारी साधन प्राप्त गर्ने सहकारीहरुमा जागरुक कृषि सहकारी संस्था लिमिटेड शिवपुरी गाउँपालिका थानपती, हरियाली कृषि सहकारी संस्था लिमिटेड बेलकोटगढी नगरपालिका कुमरी, नमूना कृषि सहकारी संस्था लिमिटेड बेलकोगढीगढी–१० बेल्कोट र दुज्र्यो प्रगतिशील कृषि सहकारी संस्था लिमिटेड ककनी गाउँपालिका काउलेथाना रहेका छन् ।

सहकारी संघको २९ औ वार्षिक साधारण सभामा कोषाध्यक्ष अरुणकुमार श्रेष्ठले गत वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्म संघको शेयर पुँजी २१ लाख ३९ हजार रुपैयाँ, वार्षिक आम्दानी ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ । संघको बैंक मौज्दात १ करोड ६० लाख, शेयर लगानी १४ लाख रुपैयाँ रहेको श्रेष्ठद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

१ माघ २०७८, शनिबार १५:०२



तपाईको प्रतिक्रिया