जसले नेपालमा चिनियाँ चिया रोपे

तपाईं चियाको सुर्की लिँदै हुनृुहुन्छ ? चिनी हालेको वा नहालेकै किन नहोस्, चिया पारखी त पक्कै हुनुपर्छ । थाहा छ ? नेपालमा चिया भित्र्ययाउने ‘प्रथम व्यक्ति को हुन् ?

घोरिँदै हुनुहुन्छ ?

त्यसो हो भने सोच्न छोड्नुस् ।

अब फर्कौं, विसं १९२० तिर । नेपालका प्रधानमन्त्री थिए, जंगबहादुर राणा । उनैका ज्वाइँ थिए, नेपालमा चिया रोप्ने प्रथम व्यक्ति ।

तत्कालीन चिनियाँ सम्राटले जंगबहादुरलाई चिनियाँ चिया बीउ उपहार दिएका रहेछन् । बीउ हात के परेको थियो, जंग आदेश जारी भयो, ‘लौ, अब चियाखेती सुरु गर ।’

आदेशअनुसार इलामका तत्कालीन बडाहाकिम तथा जंगबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापा अघिल्लो पंक्तिमा देखापरे । उनैबाट विसं १९२० मै इलाम चिया कमानमा खेती सुरु भयो ।

दुई वर्षपछि झापा फाँटमा सोक्तिम चिया कमान नै स्थापना गरियो । यहीबाट नेपालमा चिया खेती थालनी भएको इतिहास बताउँछ ।

उता, दार्जिलिङमा संगसंगै चिया खेती सुरु हुन थाल्यो । नेपालमा भने जंगेका ज्वाइँ गजराज चिया खेतीका अग्रणी मानिन्छन् । उनको चिया बिजारोपणपछि यसले राष्ट्रिय आयमा समेत ठुलो योगदान पुगेको बताइन्छ ।

संगैजस्तो चियाखेती थालेको दार्जिलिङले उद्योग विस्तारसंगै आफ्नो उत्पादन विश्वस्तरमै पु-याउन थाल्यो । नेपाल ठीक उल्टो दिशातिर जान थाल्यो । जहाँनिया राणाशासनकै कारण चिया उद्योगको प्रारम्भिक चरण सन्तोषजनक रहन सकेन ।

विसं २००७ मा प्रजातन्त्रका लागि भीषण आन्दोलन छेडियो । राजनीतिक उथलपुथल सुरु भयो । देश मुहार फेर्ने दौडमा लम्कनेक्रममा थियो ।

प्रजातन्त्र प्राप्तिपछि मात्रै नेपालमा लगानीमय वातावरण बन्न थालेको भुक्तभोगी सम्झना गर्छन् । सकारात्मक प्रभाव चिया उत्पादनमा पनि नपर्ने कुरै भएन । विस्तारै लगानीमय वातावरण बन्न थाल्यो ।

नीजिस्तरमा पहिलो

झापा रड्गिया डाँडामा बुधकरण चिया बगान निजीस्तरमै पहिलो हो । जुन २०१६ सालमा स्थापना भएको थियो ।
२३ असोज २०२३ मा नेपाल चिया विकास निगम जन्मियो । यो कम्पनी सरकारको पूर्ण स्वामित्वमा थियो ।

प्रारम्भिक चरणमा प्रशोधन कारखाना अभाव थियो । जसका कारण दार्जिलिङका कारखानालाई ‘हरियो पत्ती’ बेच्नुपर्ने बाध्यात्मक अवस्था थियो ।

पछि, २०३५ सालमा इलाममा मुलुककै पहिलो प्रशोधन केन्द्र खोलियो । लगत्तै झापा सोक्तिममा पनि प्रशोधन कारखाना स्थापना स्थापना स्वदेशी उद्योगी व्यवसायी सफल भए ।

तत्कालीन राजा वीरेन्द्रबाट पूर्वाञ्चलका पाँच जिल्ला झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम ‘चियाक्षेत्र’ घोषणा गरियो । राज्यको आर्थिक र सामाजिक क्षेत्रमा समेत चियाखेती परिणामुखी देखिएपछि राजाबाटै २०३९ सालमा तोकेरै क्षेत्र घोषणा गरिएको थियो ।

२० जेठ २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गठन गरियो । १५ वैशाखमा ‘चिया दिवस’ र १ मंसिरमा ‘कफी दिवस’ मनाइने परम्परा नै थालनी गरियो ।

त्यसो त, २०३५ देखि २०४५ को दशकमा नेपाल चिया विकास निगमले साना कृषकलाई खेतीमा लाग्न प्रत्साहनलगायत योजना ल्याएको पाइन्छ । अहिले चिया उद्योगले नाफामूलक व्यवसायको रूप लिएको अवस्था छ ।

१९ असार २०७८, शनिबार ११:४२



तपाईको प्रतिक्रिया