विदुर कल्याणकारी बहुमुखी सहकारीको २४ औं साधारण सभा

अध्यक्षमा पुनः अमित गजुरेल

विदुर । २४ वर्ष अघि विदुरमा स्थापना भएको विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समिति शनिवार गठन भएको छ । २४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट सर्वसम्मत रुपमा अमित गजुरेल पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् । उपाध्यक्षमा अञ्जली पाण्डे, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा बसन्त रिजाल चयन भएका छन् । सदस्यहरुमा निरबहादुर बस्नेत, सुदर्शन सेढाइँ, बिनोद श्रेष्ठ, राजाराम श्रेष्ठ, तेजकुमारी लामा चयन भएका छन् ।

टेकबहादुर अधिकारीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन भएको छ । समितिको सदस्यहरूमा श्रीकृष्ण श्रेष्ठ र रुपेश श्रेष्ठ छन् । यस्तै, सहकारीको सल्लाहकारमा पूर्णलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, सन्तोष उप्रेती र नमराज पाण्डे चयन भएका छन् ।

बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले साना पुँजी सहकारी संस्थाहरुले ठूला पुँजीका र बाणिज्य बैंक सरह हैसियत राख्ने सहकारीहरुका कारण केही अप्ठ्यारो परेको भएपछि सबै सहकारीहरुको समान विकासका लागि संघले नयाँ रणनीति तयार गरिरहेको बताएका छन् । सहकारीले सदस्यहरुको हितका लागि र सहकारी सिद्धान्तमा रहेर काम गर्नुपर्नेमा नुवाकोटका केही सहकारीहरु चुकिरहेको बताउँदै त्यस्ता समस्याहरुलाई विदुर कल्याणकारीले जितेको बताएका छन् । अध्यक्ष न्यौपानेले जिल्ला सहकारी संघले नै निकट भविष्यमा वित्तिय सेवाको सुरुवात गर्न लागेकोले त्यसबाट यस्ता सहकारी संस्थाहरुलाई बढी फाइदा हुने बताएका छन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोट तथा सो सहकारीका पुर्व अध्यक्ष पुर्णलाल श्रेष्ठले दुई दशक अघि स्थापना भएरपनि आफ्नो नियमित क्रियाकलापमा हराएका सहकारी पछिल्लो आधा दशकदेखि लयमा फर्किएको बताएका छन् । जिल्लाकै केन्द्रमा रहेकोले पनि यस सहकारीको भविष्य रहेको र यसबाट आम शेयर सदस्यहरुले फाइदा लिने उनले बताएका छन् । कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले उक्त सहकारीलाई बहुउद्देश्यीय सहकारीहरु मध्येमै अब्बल बनाउन सकिने बताएका छन् । यस्तै नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले अहिले ठूला भनिएका सहकारी संस्थाहरु भन्दा पहिल्यै स्थापना भएर पनि सहकारीको गतिविधि र सक्रिता कम रहेकोले त्यसलाई बढाउन सुझाव दिएका छन् । विदुरका एक घरका एक सदस्यलाई सहकारीको सदस्य बनाउ तर्फ अनिवार्य रुपमा जोड दिन पनि उनले आग्रह गरेका छन् । निजामती कर्मचारी युनियन नुवाकोटका अध्यक्ष निलमकुमार भुषालले कार्यक्रममा शुभकामना मन्तब्य दिँदै सहकारीलाई बहुमुखी क्षेत्रमा फैलाउनका लागि र विशेष रुपमा स्थानीय भु–गोलको आवश्यकताका आधारमा कारोवारमा प्राथमिकता दिन सुझाव दिएका छन् ।

निर्वाचित नयाँ सञ्चालक समिति

यसै बीच, विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीको सम्पत्ति ८२ लाख ५९ हजार पुगेको छ । साधारणसभामा प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीको शेयर पूँजी ५५ लाख ६० हजार रुपैयाँ छ । सहकारीमा ९२ शेयर सदस्य छन् । अहिलेको आर्थिक वर्षमा १५० शेयर सदस्य पु-याउने अध्यक्ष अमति गजुरेलले जानकारी दिएका छन् । सहकारीको ऋण लगानी ८१ लाख ११ हजार रुपैयाँ पुगेको छ । सहकारीले २३ लाख १२ हजार रुपैंयाँ निक्षेप संकलन गरेको छ । जगेडा कोष तथा कोषमा २२ हजार रुपैयाँ रहेको छ । सहकारीले गत वर्ष ८७ हजार रुपैंयाँ मुनाफा आर्जन गरेको छ ।

कार्यक्रममा सहकारीले उत्कृष्ट बचतकर्तामा भगवती डंगोल र उत्कृष्ट ऋणीमा राजेन्द्र पौडेललाई नगद सहित सम्मान गरेको छ । सहकारीले चालु आर्थिक वर्षमा संस्थाको विनियममा रही सदस्य हितकोषको व्यवस्था गरि शेयर सदस्य दुर्घटना बीमा २५ हजार रुपैयाँ व्यवस्था गर्ने कार्यविधि पारित गरेको छ ।

साधारण सभामा सहकारीका कोषाध्यक्ष बशन्त रिजाल र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक टेकबहादुर अधिकारीले प्रगती विवरण प्रस्तुत गरेका थिए ।

१ माघ २०७८, शनिबार १७:१५



तपाईको प्रतिक्रिया