पञ्चकन्या सहकारीको २२ औं बार्षिक साधारण सभा


विदुर । विदुरमा रहेको पञ्चकन्या बचत तथा ऋण सहरकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं. २ विदुर मुख्यचोकमा रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षमा १० लाख रुपैयाँ खुद नाफा कमाएको प्रतिवेदन सार्वजनिक भएको छ ।

सहकारीको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सहकारी संस्थाहरुका कारण टोलटोलमा आर्थिक जागरण उत्साहजनक र लोभ लाग्दो हुँदै गएको बताएका छन् । राज्यको आर्थिक नितिको प्रमुख खम्बाको रुपमा रहेको सहकारी क्षेत्रलाई नगरपालिकाले समेत अपनत्व लिएर आबाश्यक समन्वय गर्दै आएको बताएका छन् । नगरपालिकाले लिएको प्रमुख लक्ष्य उद्यमशिलतामा सहकारीसँगको सहकार्यमा कृषि, स्वरोजगार तथा युवा उद्यमशिलतामा सहकारीसँग नगरपालिकाले सहकार्य गर्ने नीति लिएको उनले बताएका छन् । २२ बर्षको इतिहास रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था नुवाकोटमै अग्रणी सहकारी रहेकाले ब्यबसायिक क्षेत्रमा होमिनका लागी आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले नगरपालिकाको भुगोलमा रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले समग्र नुवाकोटको सहकारीको चित्रण गर्ने बताएका छन् । अग्रणी सहकारी भएकाले बचत तथा ऋण कारोबारमा पनि नयाँ आयामको सुरुवात गर्दै अगाडी बढ्न उनले आग्रह गरेका छन् । सहकारीको मुल्य मान्यतासँगै सामाजिकिकरण, आर्थिक उन्नयन र ब्यबसायिकतामा सहकारी लाग्नु पर्ने न्यौपानेले बताएका छन् । उनले नीति र विधिलाई अनिवार्य रुपमा सहकारीले पालन गर्नुपर्ने उल्लेख गर्दै अब प्रविधिलाई पनि जोड्नु आवश्यक रहेको बताएका छन् ।

२२ औं बार्षिक साधारण सभाको अवसरमा जिल्ला सहकारी संघको विदुर नगर समन्वय उपसमिति संयोजक नविन्द्रमान प्रधान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तब्य राखेका छन् । बार्षिक साधारण सभामा उक्त सहकारीका अध्यक्ष रमेश श्रेष्ठलेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष सरोजप्रसाद दाहालले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक विनोदराज खरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सहकारीको शेयर पुँजी ७४ लाख ३५ हजार ८ सय रुपैयाँ रहेको छ । सहकारीले १२ करोड ७९ लाख रुपैयाँ छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै ११ करोड १५ लाख रुपैयाँ सदस्यहरुलाई ऋण लगानी गरेको छ ।

२२ औं बार्षिक साधारण सभाको अवसरमा सहकारीले असल कारोवार गर्ने सदस्यहरुको सम्मान गरेको छ । भुगोलको आधारमा सहकारीमा उत्कृष्ट बचत गर्ने, उत्कृष्ट ऋण कारोबार गर्ने र ज्येष्ठ सदस्य गरी १४ जनालाई सम्मान गरेको हो । सम्मानित हुने शेयर सदस्यहरुमा बिष्णुमाया डंगोल, अर्जुन श्रेष्ठ, सृजना अधिकारी भण्डारी, विद्यानाथ न्यौपाने, रामशरण वस्ती, सुनिता दाहाल, फुलमाया तामाङ, गीताकुमारी खड्का, रविना पण्डित, लालबाबु साह, शुशिल रिजाल, चेतप्रसाद अगस्ती, दिपक अर्याल र डिलबहादुर थापा छन् ।

त्यस अवसरमा सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण रिजालले राज्यले लिएको नीतिलाई आत्मसाथ गर्दै सहकारीले दोहोरो सदस्यता कायम नराख्ने नीति अबलम्वन गरेको बताएका छन् । त्यसैका लागि शेयर सदस्यहरुको अभिलेख तयार पर्ने कार्यको सुरुवात भएको उनले बताए ।

सहकारीका अध्यक्ष रमेश श्रेष्ठका अनुसार विश्व महामारी कोभिडका कारण भएको लकडाउनको अवधिमा ब्याजमा समेत छुट दिएको थियो । ब्याजको हर्जनमा छुट सहित ब्याजमा नै १० प्रतिशत छुट दिएको सहकारीबाट ऋणी शेयर सदस्यहरु सुविधा प्राप्त गरेका उनलेब ताएका छन् । त्यसका साथै सामाजिक सेवामा समेत सक्रिय रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिडको उपचारका लागि त्रिशुली अस्पतालमा आर्थिक तथा सामाग्री सहयोग लगायतका गतिविधिहरु सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

१ माघ २०७८, शनिबार १८:१७



तपाईको प्रतिक्रिया