सहकारी संघले बेच्न थाल्यो सस्तोमा तरकारी

विदुर । पाँच महिनादेखि रोकिएको तरकारी बजारको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले शुक्रवारबाट फेरि सञ्चालनमा ल्याएको थियो । लकडाउनको समयमा तरकारीको घुम्ती बजार सञ्चालन गरेको संघले कही समय संघको विदुर स्थित भबनबाटै तरकारी बजार सञ्चालन गरेको थियो । कोरोनाको भयावह संक्रमणका कारण रोकिएको सेवाको संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले उद्घाटन गर्दै शुक्रवारबाट सुरु गरेका छन् ।

शुक्रवारबाट सुरु भएको सुलभ तरकारी तथा फलफूल बजारलाई कृषकहरूको उत्पादन खरिद र सुलभ मुल्यमा उपभोक्तासम्म पु-याउने माध्यमको रुपमा विकास गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले विदुरमा रहेको आफ्नै भवनमा बजार सञ्चालन गरेको हो । जिल्लामा उत्पादित तरकारी तथा फलफूलको उचित मूल्यमा बिक्री–गर्ने उद्देश्यले बजार सुरु गरेको संघका अध्यक्ष न्यौपानेले बताएका छन् । तरकारी बजारमा किसानले उचित मूल्यमा तरकारी विक्री गर्न सक्ने र उपभोक्ताले सुलभ मूल्यमा खरिद गर्न सक्ने उनले बताए ।

संघले लकडाउनको अवधिमा घुम्ती रुपमा सञ्चालन गरेको सुलभ तरकारी तथा फलफूल बजारलाई संघकै भवनबाट स्थायी रुपमा संचालन आरम्भ गरेको हो । कोरोना संक्रमण, रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउनले जिल्लामा उत्पादित तरकारी तथा फलफूल बारीमै कुहिने अवस्था र उपभोक्ताले सहज मूल्यमा नपाउने समस्यालाई समाधान गर्न संघले अघिल्लो लकडाउनबाट घुम्ती तरकारी बजार सञ्चालनमा ल्याएको थियो । संघले नुवाकोट जिल्लाको शिवपुरी, ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाभित्र रहेका ११ वटा कृषि सहकारीसँग समन्वय गरेर तरकारी तथा फलफूल वजार सञ्चालनमा ल्याएको हो ।

बेलकोगढी नगरपालिकाका जिलिङ साना किसान सहकारी संस्था लिमिटेड, नमुना कृषक सहकारी संस्था लिमिटेड, हरियाली कृषि सहकारी संस्था लिमिटेड, बाशुकीनाथ कृषि सहकारी संस्था लिमिटेडले तरकारी तथा फलफूल संघको उक्त बजारमा ल्याएर विक्रि गर्न थालेको छ । त्यसै गरी ककनी गाउँपालिकाका दुज्र्यो सहकारी संस्था लिमिटेड, बर्बन्दी कृषि सहकारी संस्था लिमिटेड, चाउथे सानाकिसान सहकारी संस्था लिमिटेडले जिल्ला स्तरिय सुलभ फलफूल तथा तरकारी बजारमा कृषकहरूको उत्पादन विक्रिको लागि उपलब्ध गराउँदै आएको छ । शिवपुरी गाउँपालिकाको जागरुक कृषि सहकारी संस्था लिमिटेड र बाइसुन्दरा कृषि सहकारी संस्था लिमिटेड, महाकाली कृषि सहकारी संस्था लिमिटेड र कमलटारी प्राङ्गारिक कृषि सहकारी संस्था लिमिटेडले कृषकको उत्पादन ल्याउने गरेको छ ।

सहकारी वजार विकास कार्यक्रमको सहयोगमा जिल्ला सहकारी संघद्धारा निर्मित भवनमा बजार सञ्चालन गरिएको हो । बजार सञ्चालन र कृषकको उत्पादनलाई बजारिकरण गर्नका लागि युएनडिपी र जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको संयुक्त कार्यक्रम सञ्चालन भएको छ । भवन ५ करोड रुपैयाँको लागतमा हालै निर्माण सम्पन्न भएको छ ।

तरकारी बजारमा जिल्लामा उत्पादित आलु, काउली, बन्दा, मूला, गोलभेडा लगायतको मौसमी तथा बेमौसमी तरकारीसमेत बिक्री गरिरहेको भैरहेको छ । बजारमा तरकारी तथा फलफूलको मूल्यमा एकरुपता नभईरहेको समयमा सहकारी संघले सञ्चालन गरेको तरकारी बजारले मूल्यमा एकरुपता ल्याउने अपेक्षा गरिएको छ ।

२७ फाल्गुन २०७८, शुक्रबार १२:३८



तपाईको प्रतिक्रिया