रसुवागढी नाका आजबाट सञ्चालनमा आउने

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज सोमबारदेखि सञ्चालनमा आउने भएको छ । गत १५ माघदेखि बन्द रहेको नाका सोमबारदेखि सञ्चालनमा आउन लागेको हो ।

१० असारमा चीन र नेपालका अधिकारीबीच रसुवागढीस्थित मितेरी पुलमा भएको बैठकमा जुन महिनाभित्रै नाका खोल्ने सहमति भएको थियो । सोहीअनुरूप ६ महिनादेखि बन्द नाका सञ्चालन हुन लागेको हो । चिनियाँ पक्षले पूर्वसहमति अनुसार आज सोमबारदेखि नाका खुल्ने जानकारी गराएको रसुवागढी भन्सार कार्यालयका भन्सार प्रमुख पुन्यविक्रम खड्काले बताए । स्वास्थ्य सतर्कता अपनाएर चीनबाट सामानहरू नेपाल आउनेछ । त्यसक्रममा पहिलो दिन चिनियाँ पक्षकै चारवटा गाडीमा एक सय २० टन सामान पठाउने जानकारी दिएको खड्काले बताए ।

चिनियाँ पक्षकै तीनवटा गाडीमा सामान लोड समेत भइसकेको छ । लोड भएका सामग्रीहरूमा अधिकांश रेडिमेट सामान रहेको छ ।

बैठकमा चिनियाँ पक्षले नाका खोल्न १५ जना चालक र १५ जना लेबरको कोरोना परीक्षणको रिपोर्ट उपलब्ध गराउनुपर्ने माग गरेको थियो । नेपालले एक साताअघि नै कोरोना परीक्षणको रिपोर्टलगायतका कागजात चीनलाई पठाइसकेको छ । बैठकमा चिनियाँ पक्षले राखेको सर्तअनुसार नेपाल आउने सामान चीनले आफ्नै कन्टेनर, चालक र लेबर प्रयोग गरी मितेरी पुलसम्म ल्याइदिनेछ ।

सो स्थानमा अनलोड भएका सामान नेपाली कन्टेनर र चालकले सम्बन्धित ठाउँसम्म पु¥याउनेछन् । तर, अनलोड भएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य रहेको हुनुपर्ने चीनको सर्त थियो ।

२३ असार २०७७, मंगलवार १२:२३



तपाईको प्रतिक्रिया