नुवाकोटमा सलहको प्रभाव कम

विदुर । शनिबार नेपाल प्रवेश गरेको सलह नुवाकोटमा पनि देखा परेको छ । गएको सोमवार विदुर, पिपल्टार, कोल्पुटार र बट्टारमा सलह देखापरेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ ।

गएका सोमवार विहान यस खबर पेज डटकमको कार्यालयमा फेला परेको किरालाई कृषि ज्ञान केन्द्रमा लगेर परीक्षण गर्दा सलह रहेको पुष्टि भएको हो । त्यसपछि पिपल्टार, कोल्पुटार र बट्टारबाट पनि सलह भेटिएको जानकारी कृषि ज्ञान केन्द्रलाई आएको छ । नुवाकोट भित्रिएको सलह भने फाट्टफुट्ट मात्रै देखिएको छ । एक दुईको संख्यामा मात्रै फेला परेको सलहको झण्ड भने नुवाकोट नभित्रिसकेको कृषि ज्ञान केन्द्र नुवाकोटका बाली संरक्षण अधिकृत एलिजा श्रेष्ठले जानकारी दिए ।

मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुण्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् । मकै थन्काउने क्रम अन्तिम भएकोले तत्काल थन्काउन, काट्दै गरेको चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका बेर्ना जोगाउन कृषकलाई अपिल गरेको छ ।

नुवाकोटमा सलह ठूलो संख्यामा भित्रिहालेमा धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न सकिने बताइएको छ । सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ । सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । विज्ञहरुका अनुसार मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने छ ।

२५ असार २०७७, बिहीबार १३:४८



तपाईको प्रतिक्रिया