नुवाकोट । विश्वमहामारी कोभिड–१९ नियन्त्रणका लागि नुवाकोटमा भइरहेको र भईसकेको खर्चको विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेको छ । स्थानीय सरकारदेखि गैर सरकारी निकाय र सरकारी कार्यालयहरुले कोभिड–१९ को शिर्षकमा अहिलेसम्म गरेको खर्चलाई नागरिक समक्ष ल्याउनु पर्ने भएको छ । सार्वजनिक खरिद ऐन देखिका धेरै आर्थिक प्रक्रृया अपनाउन नपर्ने विशेष परिस्थितिमा भएको र भईरहेको कोभिड–१९ को खर्चमा नागरिकहरुले शंका व्यक्त गरेपछि यस्तो निर्णय भएको हो । (माथिको फोटोमा बुँदा नं.१७)
हिजो प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले कोरोना भाइरस नियन्त्रणका नाममा अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गराउने निर्णय भएको हो । संघीय, प्रदेश र स्थानीय सरकार मातहातका सबै सरकारी कार्यालय, गैर सरकारी संस्थाहरुले खर्च विवरण सार्जवनिक गर्नुपर्ने छ ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार यो सिएसीको बैठकको निर्णय सबै तह र कार्यालयले अनिवार्य पालना गर्नुपर्ने छ । बैठकको निर्णय अनुसार कोभिड–१९ को खर्च विवरण सार्वजनिक गर्न नचाहाने र गर्न नसक्ने निकाय र कार्यालयमा जिल्ला प्रशासनले हस्तक्षेप गर्ने प्रजिअ ढकालले बताए । सबै गतिविधिहरु जनताले प्रष्ट थाहा पाउनुपर्ने आफ्नो अभियान पनि रहेको र कोभिड–१९ को नाममा ब्रम्हलुट भएको भन्दै नागरिकहरुले गुनासो गरेपछि यो निर्णय भएको ढकालले बताए ।

नुवाकोटमा कोभिड–१९ नियन्त्रणका लागि सरकारले दिएको विशेष सुविधालाई केही स्थानीय तह र सरकारी कार्यालयले दुरुपयोग गरेको गुनासो आइरहेको छ । आफु अनुकुलको काम गर्न र सरकारी रकम मास्नका लागि कोरोनासंग सम्वन्धित गराएर सोही शिर्षकबाट अनियन्त्रित खर्च गराउँदै आएको गुनासो छ । यसरी आफ्नो स्थानीय सरकारले गरेको खर्चको बारेमा चित्त नबुझेमा वा भनिएको र देखिएको भन्दा फरक अनि अपारदर्शी क्रियाकलाप भएको जस्तो मात्रै लागेमा पनि तत्कालै खबर गर्न नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नागरिकहरुलाई आग्रह गरेका छन् ।
यसै बीच, कोभिड–१९ का कारण हठात् बन्द हुनुपरेको नुवाकोटमा होटल तथा पर्यटन क्षेत्र पर्सीबाट सञ्चालनमा आउने भएको छ । हिजो जिल्ला संकट ब्यबस्थापन केन्द्रले पर्सी साउन १५ गतेबाट होटल व्यवसाय सञ्चालनका लागि निर्णय गरेको हो । तर यो निर्णय भन्दा पहिला नै नुवाकोटमा प्रायः सबै होटल व्यवसायहरु सञ्चालनमा आइसकेका छन् । सरकारी तवरबाट औपचारिकता दिनका लागि मात्रै यो निर्णय देखिएको छ ।

बैठकले जिल्लास्थित होटल रेष्टुरेण्ट तथा ट्रेकिङ ट्राभल पर्वतारोण लगायतका पर्यटन व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । उनका अनुसार कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा हालसम्म भएका प्रयासको समीक्षा गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्ने गरी होटल तथा पर्यटन क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो ।
यस्तै, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुनेगरी छोटो, मध्यम र लामो दुरीका जिल्लाभित्र तथा अन्तर जिल्लामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि सञ्चालनमा आउने छ ।
भदौ १ गतेदेखि नै जिल्लाका विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षाहरु सञ्चालनमा ल्याउन दिने पनि निर्णय भएको छ । तर नुवाकोटका लगभग सबै जसो विद्यालयहरुले आन्तरिक रुपमा यस अघिनै खुसुखुसु भर्ना गरिसकेका छन् । केही निजी विद्यालयहरुले भने ‘आउट ड्रेस’मा तीन सात अघिदेखि विद्यार्थीलाई स्कुलमै उपस्थित गराएर पढाईरहेको छ ।
सरकारले तोकेको मापदण्डअनुसार खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल सञ्चालन गर्न समेत पाउने निर्णय पनि जिल्ला संकट ब्यबस्थापन केन्द्रले गरेको छ ।
जिल्ला संकट ब्यबस्थापन केन्द्र नुवाकोटको बैठकले गरेको निर्णयको पूर्णपाठ :
एजेण्डाहरु
- क्षतिको विवरण प्रस्तुती
- नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुरुप खोज तथा उद्धार टोली र आपतकालिन गोदामघरमा सामग्री व्यवस्था गर्ने सम्बन्धमा ।
- DPRP स्वीकृत तथा कार्यान्वयन सम्बन्धमा ।
- क्लष्टरहरु परिचालन सम्बन्धमा ।
- राहत सामग्री प्रिपोजिसिनङ गर्ने सन्दर्भमा ।
- अवरुद्ध सडक तत्काल खुलाउने व्यवस्था मिलाउने ।
- विपद जोखिम न्यूनीकरणका उपाय अपनाउने ।
- वितरण गरिएको राहत रकम र सामग्री अनुमोदन गर्ने ।
- खोज उद्दारका सामग्रीहरु व्यवस्थापन ।
- सम्भावित विपदप्रति उच्च सतर्कता अपनाउने ।
- कोभिड-१९ को संक्रमण विरुद्ध उच्च सतर्कता तथा सचेतना सम्बन्धमा ।
- कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि कार्यटोली गठन सम्बन्धमा ।
- Health Desk को निरन्तरता सम्बन्धमा ।
- कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भएका खर्च सार्वजनिक गर्ने सम्बन्धमा ।
- विविध
निर्णयहरु
- हाल मनसूनजन्य विपदको जोखिम कायम रहेको हुँदा सम्भावित विपदको अवस्थामा तत्काल खोज तथा उद्धार कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीको सबै इकाइहरुलाई तयारी अवस्थामा राख्ने।नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार कोभिड-१९ को संक्रमणको जोखिमबाट सुरक्षित रहँदैपीडितहरुको खोज तथा उद्धार गर्ने कार्यको लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति जुनसुकै वेला परिचालन हुन सक्ने अवस्थामा राख्ने । यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालको टोली तयार गर्ने।बाढी पहिरो लगायतका संभावित विपदको पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटको अनुरोधमा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रलाई ५०० थान त्रिपाल र ४० थान टेण्ट उपलब्ध गराएकोमा वाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्ने ।बाढी पहिरो लगायतका विपदको अवस्थामा प्रभावितहरुलाई तत्काल गैरखाद्य सामग्री उपलब्ध गराउन सकिने जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको गोदामघरको क्षमता वृद्धि गर्ने ।गोदामघरमा आपत्कालिन खाद्यान्न एवं लत्ताकपडाको भण्डारणको व्यवस्था गर्ने कार्यमा सहयोग गर्न जिल्लामा रहेका विपद सम्बद्ध सरकारी तथा गैरसरकारी निकायहरुलाई अनुरोध गर्ने ।
- जिल्ला विपद व्यवस्थापन समितिको मिति २०७७।०२।२८ गतेको बैठकको निर्णयानुसार अद्याविधक गरी पेश भएको “जिल्लास्तरीय विपद जोखिम न्यूनीकरण, पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७७ (DPRP)” स्वीकृत गरी कार्यान्वयन गर्ने ।
- जिल्लामा रहेका सबै विषयगत क्षेत्रले विपदको अवस्थामा आफ्ना आफ्नो विषयक्षेत्रबाट गरिनुपर्ने प्रतिकार्यको लागि जिल्ला विपद पूर्वतयारी तयारी तथा प्रतिकार्य योजना अनुरुप सबैले स्रोत साधन र जनशक्ति तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्ने ।विपद प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन औषधि उपकरणसहित स्वास्थ्यकर्मीहरुको टोलि तुरुन्त परिचालन गर्ने । विपद प्रभावित क्षेत्रमा यातायात, विद्युत खानेपानी सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुचारु बनाउन र थप क्षति हुन नदिन सम्बन्धित निकायहरुले पूर्ण सतर्कता अपनाउदै तत्काल आवश्यक कदम चाल्ने ।
- हालको वर्षातको समयमा बाढी पहिरोबाट हुनसक्ने संभावित विपदको अवस्थामा विपदबाट प्रभावित परिवारहरुलाई तत्काल उपलब्ध गराउन सकिने गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त त्रिपाल मध्ये हाललाई प्रत्येक इकाईमा सो क्षेत्रको जोखिमको अवस्था अनुरुप न्यूनतम संख्यामा त्रिपाल प्रिपोजिसनिङ गर्ने ।उक्त त्रिपालहरु स्थानीय वडा कार्यालयसंगको समन्वयमा प्रहरी कार्यालयहरुबाट प्रभावित समुदायहरुलाई उपलब्ध गराउने ।
- बर्षातको समयमा मुख्य आपूर्ति मार्ग र सर्वसाधारण जनताको आवातजावतका लागि अत्यावश्यकसडकहरुको संभावित अवरोध हटाई तत्काल सडक सुचारु गर्न आश्विन १५ गते सम्म एक्साभेटर, लोडर, व्याक्हो लगायतका औजार र लेन्थमेन लगायतका जनशक्ति सोही सडक खण्डमा तयारी अवस्थामा राख्न सम्बद्धस्थानीय तह, सडक आयोजना र कार्यालयलाई अनुरोध गर्ने ।
- विपद जोखिमको अवस्थाको अध्ययन गरी जोखिम न्यूनीकरणका उपायहरु अवलम्बन गरेर मात्रै विकास निर्माणका कार्यहरु गर्न र पूर्वाधार निर्माणका संरचनाहरु अझ राम्रो र बलियो (Build Back Better) अवधारणा बमोजिम निर्माण गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिने ।
- मनसूनजन्य र अन्य विपदबाट यस जिल्लामा भएको जनधनको क्षति र त्यसबाट प्रभावित जनसमुदायलाई राहत प्रदान गर्ने सम्बन्धमा देहाय बमोजिम गर्ने निर्णय गरियो:
- यस जिल्लामा आ-आफ्नो स्थानीय तहमा बाढी, पहिरो, डुवान लगायतका विपदबाट घर, सार्वजनिक सम्पत्ति, पुल, कल्भर्ट, खानेपानी, सिंचाइ लगायतका सार्वजनिक संरचनाहरु, बाली नाली लगायतमा पुगेको क्षतिको यथार्थ मूल्याँकन गरी सातदिन भित्र पठाउन जिल्लाका सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने । यस कार्यमा जिल्लास्थित सम्बद्ध विषय क्षेत्र र स्थानीय प्रहरीले आवश्यक सहयोग गर्ने ।
- मिति २०७६।१०।१० गते आगलागी भई घर पूर्णरुपमा क्षति भएका किस्पाङ गाउँपालिका वडा नं १ भाल्चे निवासी धन लामा तामाङको परिवारलाई प्रदान गरिएको रु ७ हजार तथा मिति २०७६।१०।१५ गते आगलागी भई घर पूर्णरुपमा क्षति भएका म्यागङ गाउँपालिका वडा नं ६ पोखरी निवासी सन्त बहादुर तामाङको परिवारलाई प्रदान गरिएको रु ७ हजार रकम अनुमोदन गर्ने।
- यहीश्रावण ७ गते आगलागीबाट घर पूर्ण रुपमा क्षति भएका दुप्चेश्वर गाउँपालिकावडा नं १ नेगी बस्ने संज सिंह तामाङको परिवारलाई विरतरण गरेको टेण्ट र तत्काल गुजाराका लागि प्रदान गरिएको राहत रकम रु. १० हजार, वर्षाको कारण आएको पहिरोका कारण घर उच्च जोखिममा परी विस्थापित भएका दुप्चेश्वर गाउँपालिका तह वडा नं ७ शिखरबेंशीका ४ परिवारलाई प्रदान गरिएको ८ थान त्रिपाल र प्रतिपरिवार रु. १० हजारका दरले जम्मा रु. ४० हजार राहत रकमअनुमोदन गर्ने ।
- वर्षाका कारण २०७७ श्रावण ८ गते राती वर्षातका कारण घर भत्किंदा मृत्यु भएका बेलकोटगढी नगरपालिकावडा नं ८ हर्रे प्रियडाँडा बस्ने वर्ष ६८ का अक्कल बहादुर तामाङका परिवारलाई”विपद पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७ (सातौं संशोधन)” बमोजिम रु२ लाख राहतप्रदान गर्ने ।
- २०७७ श्रावण ९ गते बिहान वेलकोटगढी नगरपालिका वडा नं. ५ माझगाउँमा आएको पहिरोका कारण घर पूर्ण रुपमा क्षति भएका ५ लाई वितरण गरिएको ५ थान टेण्ट, यस्तै उच्च जोखिममा रहेका ७ वटा घर समेत ५० घर परिवारलाई वितरण गर्नका लागि वेलकोटगढी नगरपालिका वडा नं. ५ लाई प्रदान गरिएको २ थान टेण्ट र ४० थान राहत सामग्री अनुमोदन गर्ने ।आवश्यक थप राहत सामग्रीको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने ।
- पहिरोको कारण घर क्षति र घर जोखिममा परी विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा राखी तत्कालका लागि खाना बस्ने प्रबन्ध मिलाउन बेलकोटगढी नगरपालिकालाई अनुरोध गर्ने ।प्रभावित परिवारलाई तत्काल खाद्यान्न र गैरखाद्य राहत सामग्री प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद दिने ।
- जिल्लामा बाढी पहिरो लागतका विपदबाट घर क्षति भएका र घर उच्च जोखिममा परी विपदमा परेका व्यक्ति तथा परिवारलाई “विपद पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७ (सातौं संशोधन)” बमोजिम तत्काल गुजाराको लागि प्रति परिवार ५ जना सम्म सदस्य भए रु १५ हजार र ५ जनाभन्दा बढी सदस्य भए रु २० हजार राहत जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट यथासम्भव तत्काल घटनास्थलमा नै उपलब्ध गराउने।
- “विपद पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७ (सातौं संशोधन)” मा मनसूनको अवधिमा बाढी, पहिरो, डुबान तथा कटान लगायतका कारणबाट घरबारविहीन भएका परिवारका लागि २०७२ सालको भूकम्प पीडितलाई प्रदान गरिएको विधि र प्रक्रियाबाट शहरी विकास मन्त्रालयले आवास निर्माण गर्ने व्यवस्था मिलाउने भन्ने व्यवस्था भएको हुँदा यस जिल्लामा मनसूनको अवधिमा बाढी, पहिरो, डुबान तथा कटान लगायतका कारणबाट घरबारविहीन भएका परिवारकोहरुको यथार्थ विवरण संकलन गरी सम्बद्ध निकायमा पठाउने।
- विपदबाट प्रभावित परिवारहरुलाई एकद्धार नीतिबाट राहत उपलब्ध गराउने । यस प्रकार राहत वितरण गर्दा तथा पीडितलाई उद्धार गर्दा संकटासन्न (Vulnerable) अवस्थामा रहेका सुत्केरी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अपांगता भएका व्यक्तिहरुको आवश्यकतालाई विशेष ध्यान दिई प्राथमिकताका आधारमा व्यवस्थापन गर्ने ।
८. हाल मनसून सक्रिय रहेको हुंदा यसबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरण गर्न सबै स्थानीय तहहरुले आ आफ्नो स्थानीय तह भित्रका बाढी पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा बस्ने परिवारलाई तत्कालका लागिसुरक्षित स्थानमा राखी खाने बस्ने प्रबन्ध गर्ने ।
९. मनसूनकोसमयमा अविरल वर्षाका कारण जिल्लाकालिखु, तादी, त्रिशुली लगायतका नदीहरुमा पानीको वहाव बढ्ने गरेको र यस वर्ष पनि तादी नदीमा नदीमा खोला तर्ने क्रममा मानवीय क्षतिका दुःखद घटना घटेको हुंदा विपदबाट हुने जनधनको क्षति न्यूनीकरण सम्बन्धी सूचना निरन्तर रुपमा प्रशारण गरिदिन नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोट मार्फत् सबै स्थानीय सञ्चार माध्यामहरुलाई अनुरोध गर्ने ।
१०.विपद पश्चात खोज उद्दारका लागि आवश्यक पर्ने न्यूनतम सामग्रीहरु खरिद गरी स्थानीय प्रहरी इकाईहरुलाई उपलब्ध गराउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने । साथै जिल्लाका केही स्थानहरु बाढीको समेत जोखिममा रहेको र मोटरेवल बोट नहुँदा बाढीका घटनामा उद्दार गर्नका लागि कठिनाई भइरहेको हुँदा एउटा मोटरेवल बोट खरिद गर्नका लागि आवश्यक पर्ने आर्थिक सहयोगका लागि सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने ।
११.देहायका कार्यहरु गर्न/गराउन जिल्लास्थित स्थानीय तहहरुलाई अनुरोध गर्ने:
- स्थानीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाई विपद जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका लागि तोकिएका कार्यहरु गर्न,
- स्थानीयस्तरमा विपद जोखिमको अवस्थाको नियमित मूल्यांकन गरी नक्सांकन गर्न,
- स्थानीय विपद जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्न,
- विपद जोखिमको अवस्थासम्बन्धी सूचनाहरु नियमित रुपमा स्थानीय प्रशासनलाई उपलब्ध गराउन,
- उच्च जोखिमयुक्त वस्तिहरुको पहिचान गरी स्थानान्तरणका लागि आवश्यक पहल गर्न,
- विपद पश्चात अस्थायी आवासका लागि आश्रयस्थलहरुको पहिचान गरी व्यवस्थापन गर्न,
- स्थानीयस्तरका सडकहरुलाई नियमित रुपमा मर्मत सम्भार गरी चालु अवस्थामा राख्न तथा एम्वुलेन्स लगायत अत्यावश्यक सेवाका साधनहरुलाई तयारी अवस्थामा राख्न,
- विपदका घटनाको तोकिएको ढाँचामा नियमित रुपमा विवरण उपलब्ध गराउन,
- स्थानीय विपद व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन समयमै तयार गरी जिल्ला विपद व्यवस्थापन समितिमा पठाउन ।
१२. आज मिति २०७७।०४।१२ गतेदेखि लगातार ३ दिनसम्म देशका विभिन्न भागमा हल्का देखि मध्यम र भारी बर्षा समेत हुन सक्ने भनी जल तथा मौषम विज्ञान विभागले पूर्वानुमान गरेकोले सम्भावित विपदको घटनाप्रति उच्च सतर्कता अपनाउँदै विपद व्यवस्थापनका क्षेत्रमा काम गर्ने सम्पूर्ण निकाय तथा संघसंस्था विपद प्रतिकार्यका लागि तयारी अवस्थामा रहने तथा सम्भावित विपद जोखिमको अवस्थाप्रति सचेत रहन स्थानीय सञ्चारमाध्यममार्फत आम नागरिकलाई सुसूचित गर्ने ।
१३. कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा घोषित बन्दाबन्दीको अवस्था अन्त्य भई सेवा प्रवाह, व्यवसाय तथा विकास निर्माणका अधिकांश क्रियाकलापहरु सञ्चालनमा आई मानिसहरु जमघट तथा आवतजावत हुने क्रम बढेकोले समुदायस्तरमा कोभिड-१९ को संक्रमण फैलिने जोखिम वृद्धि भएको हुँदा सो प्रति उच्च सतर्कता अपनाउँदै परीक्षणको दायरा वृद्धि गर्ने साथै पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका उपायहरु (मास्क लगाउने, साबुन पानीले नियमित हात धुने वा स्यानिटाइजर लगाउने, न्यूनतम भौतिक तथा सामाजिक दूरी कायम गर्ने, शंकास्पद लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्ने आदि) लाई पालना गर्न /गराउन आमनागरिकमा पुन: अनुरोध गर्ने र यससम्बन्धी सचेतनाका लागि स्थानीय तह एवं सरोकारवाला निकायहरु सबैमा अनुरोध गर्ने ।
१४. स्थानीय तहहरुबाट व्यवस्थापन गरिएको संस्थागत क्वारेन्टीनलाई निरन्तरता दिन तथा हाल विद्यालहरुमा सञ्चालन हुँदै आएका क्वारेन्टीनको वैकल्पिक व्यवस्थाका लागि स्थानीय तहहरुलाई अनुरोध गर्ने ।साथै नेपाल सरकारद्वारा जारी भएको होम क्वारेन्टीन सम्बन्धी मापदण्ड २०७७ (स्वीकृत मिति २०७७।०४।०२) बमोजिमका मापदण्ड पालना गरी होम क्वारेन्टीनमा बस्न अनुरोध गरेमा सम्बन्धित स्थानीय तहले मापदण्ड पालनाको सुनिश्चितता गरेर मात्रै होम क्वारेन्टीनलाई कार्यान्वयनमा ल्याउन स्थानीय तहहरुलाई अनुरोध गर्ने ।
१५. स्थानीयस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने सन्दर्भमा सोसम्बन्धी सचेतना प्रवर्धन गर्न, विदेश वा जिल्ला बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टीन/होम क्वारेन्टीनमा राख्न सहजीकरण गर्न, क्वारेन्टीन/होम क्वारेन्टीनमाबस्नेव्यक्तिहरुको प्रत्यक्ष निगरानी गर्न तथा शंकास्पद लक्षण देखिएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि स्थानीय तहका हरेक वडाहरुमा देहाय बमोजिमको कार्यटोली गठन गरी परिचालन गर्ने:
- सम्बन्धितवडाकोवडाध्यक्ष – संयोजक
- स्थानीय स्वास्थ्य संस्थाको प्रतिनिध – सदस्य
- स्थानीय सुरक्षा इकाईको प्रतिनिधि – सदस्य
- स्थानीय स्तरमा कार्यरत गैसस(नेपाल रेडक्रस सोसाइटी वा स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्य संस्था) का प्रतिनिधि – सदस्य
- जिल्लामा कोभिड-१९ को संक्रमण रोकथामका लागि बेलकोटगढी नगरपालिका वडा नं ५ स्थित कोल्पुटारमा रहेको Health Desk ले महत्वपूर्ण सहयोग पुर्याएको हुँदा उक्त Health Desk लाई सुचारु राख्नको लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापन गर्न जिल्लास्थित सम्पूर्ण स्थानीय तहहरुलाई र सो कार्यको समन्वय गर्न जिल्ला समन्वय समितिको कार्यालयलाई अनुरोध गर्ने ।
- जिल्लामा कोभिड-१९ रोकथामतथा नियन्त्रणका लागिहालसम्म भएका सबै खर्चको यथार्थ विवरणसम्बन्धित निकाय तथा संस्थाहरुले यथाशिघ्र सार्वजनिक गर्ने ।
१८. विपदको समयमा दैनिक उपभोग्य तथा अत्यावश्यक पदार्थको अभाव हुन नदिन निजी क्षेत्रले आवश्यक व्यवस्थापन गर्ने तथा साल्ट ट्रेडिङ लिमिटेडले आफ्नो मौज्दात बढाउने ।आन्तरिक उत्पादनको ढुवानी तथा बजार व्यवस्थापनमा सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्ने ।
१९. जिल्लामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्नको लागि District Lead Support Agency (DLSA) को रुपमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखालाई तोक्ने ।
१३ श्रावण २०७७, मंगलवार ०९:२०