स्याफ्रुवेशी–रसुवागढी सडक सञ्चालन

विदुर । एक हप्तादेखि बन्द रहेको स्याफ्रुवेशी–रसुवागढी सडक हिजो साँझदेखि सञ्चालनमा आएको छ ।

कुलुङ खोला, भोटेकोसी हाइड्रोपावर नजिक, टिमुरे, घट्टेखोला लगायत विभिन्न स्थानमा थुप्रै पहिरो गएको थियो । १८ भन्दा बढि पहिरोका कारण सडक कार्यालयलाई मर्मत र पहिरो पञ्छाउन समय लागेको हो । सडक संचालनको लागि सडक बिभागको र रसुवागढी हाइड्रोपावरको एक्साभेटर, भोटेकोसी हाइड्रोपावरको लोडर सहित भाडामा लिएको एक्साभेटर प्रयोग भएको सडक कार्यालयले जनाएको छ ।

पहिरो जाने र ढुङ्गाहरु खस्ने अहिलेपनि जारी रहेपछि सडक बिभागको एउटा एक्साभेटर स्याफ्रुवेशीमा तयारी अवस्थामा राखिएको छ । उक्त एक्साभेटर बर्षात भरी नै त्यही राखिने बताइएको छ ।

स्याफ्रुवेशी रसुवागढी सडक निर्माणको जिम्मा चीन सरकारले लिएको भए पनि बिश्वब्यापी महामारी कोभिड–१९ को कारण निर्माण कार्य हुन सकेको छैन । यथास्थितिमा उक्त सडक सञ्चालनको जिम्मा गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजनाको रहेको छ । सडकमा रहेको अवरोध हटाइ हप्तादिन देखि रोकिएको कन्टेनरलाई गन्तब्यतर्फ पठाइएको र अन्य स्थानको हिलो हटाउने कार्य भइरहेको आयोजना प्रमुख नारायणदत्त भण्डारीले जनाएका छन् ।

१४ श्रावण २०७७, बुधबार ०९:०५



तपाईको प्रतिक्रिया