मास्क नलगाउने ६५ जना फेरि कारबाहीमा

नागरिक भन्छन् : मास्क नलगाउँदा जरिवाना गर्नु राम्रो भएन

विदुर । विश्व महामारी कोभिड–१९ नियन्त्रण र यससंग सम्वन्धि गतिविधिहरुमा नुवाकोट प्रहरीको सक्रियता फेरि बढेको छ । मास्क नलगाई हिड्नेहरुलाई सम्झाईबुझाई गर्ने, जरिवाना लिने देखि सवारी साधन कारबाहीसम्ममा नुवाकोट प्रहरी व्यस्त देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापा नै नागरिकहरुको चेतना विकासका लागि भन्दै प्लेकार्ड बोकेर सडकमा देखापरेका छन् । त्यस्तै, प्रहरी र ट्राफिक प्रहरीले आफ्नो दैनिक चेकजाँच र गतिविधिलाई ह्वात्तै बढाएको छ । त्यस क्रममा हिजो मंगलवार पनि मास्क नलगाई केही केही नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुसंग जरिवाना समेत प्रहरीले उठाएको छ । तर यसरी मास्क नलगाएकाहरुलाई पक्राउ गर्ने र जरिवाना गर्ने कुराको आमा नागरिकहरुले भने आलोचना गरेका छन् । सामाजिक सञ्जालदेखि अनौपचारिक रुपमा यो नीति गलत रहेको भन्दै प्रहरीको आलोचना भइरहेको छ । मास्क नलगाई बाहिर निस्कनेसित एक सय रुपैयाँ लिनु भनेर यही हप्ता गृह मन्त्रालयले परिपत्र गरेपछि प्रहरी रसिद लिएर सडकमा उभिएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हिजो साँझसम्ममा ६५ जना मास्क नलगाई हिड्ने नागरिकहरुलाई नगद जरिवाना तिराएर छाडिएको छ । उनीहरुसंग जनही एक-एक सय रुपैयाँ प्रहरीले लिएको छ । यस्तै ६ सय भन्दा बढीलाई सम्झाईबुझाई गरि छाडिएको नुवाकोट प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए ।

यसै बीच, सरकाले स्वास्थ्य मापदण्ड पालना गर्नका लागि तोकेको भन्दा वढि यात्रु बोकेको एक सवारी साधन हिजो नुवाकोटमा कारबाहीमा परेको छ । विदुर नगरपालिका वडा नं. १ ढुङ्गेमा प्रहरीले चेकजाजँचको क्रममा त्रिशुलीबाट कोल्फुटार तर्फ गई रहेको लु १ ज १७९४ नम्वरको माईक्रोबस कारबाहीमा परेको नुवाकोट ट्राफिक प्रमुख विकल भट्टराईले जानकारी दिएका छन् ।

१४ श्रावण २०७७, बुधबार ०९:१९



तपाईको प्रतिक्रिया