गिट्टी बालुवा प्रति सेफ्टी ३० रुपैयाँ

क्रसर उद्योगका तर्फबाट अध्यक्ष श्रेष्ठले जारी गरेको कार्य विवरण

विदुर । विदुर नगरपालिका वडा न. ५ गंगटेमा सञ्चालित वर्डस्टोन क्रसर उद्योगले आफ्नो विषयमा आएको समाचार र सामाजिक सञ्जालको टिप्पणीको खण्डन गरेको छ । जनप्रतिनिधिहरु समेत सञ्चालक रहेको भनि केही सञ्चार माध्यमले समाचार प्रचार गरेकोमा आफ्नो ध्यानाकर्षण भएको उद्योगले जनाएको हो । विदुर नगरपालिकालका प्रमुख सञ्जु पण्डितलाई समेत सञ्चालक भनेर निराधार प्रचार भएको भन्दै त्यसको खण्डन गरेको हो ।

साथै, जिल्लामा विकास निर्माणका कामहरु र निजी आवास निर्माणको लागि सहज रुपमा निर्माण सामग्री उपलब्ध गराउँदै आएको क्रसर उद्योगले जनाएको छ । पछिल्लो समय क्रसर उद्योग सम्बन्धमा आइरहेका टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उद्योगले सम्पूर्ण कानूनी प्रक्रियाहरु पुरा गरेर सञ्चालन भइरहेको उद्योगका अध्यक्ष विनोदराज श्रेष्ठले जनाएका छन् ।

उद्योगले १० वर्षअघिको मूल्यमा गिट्टी, बालुवा जिल्लाबासीलाई उपलब्ध गराउँदै आएको बताएको छ । साथै निर्माणका लागि आवश्यक गिट्टी, बालुवा बाहिर जिल्लाबाट ल्याउनु पर्ने बाध्यताको अन्त्य गराएको समेत जनाएको छ ।

विदुर नगरपालिका वडा नं. ५ गंगटेमा रहेको उद्योगले बाहिर जिल्लाबाट निर्माण सामग्री ल्याउँदा प्रतिसेफ्टी एक सय रुपैयाँभन्दा बढी पर्ने समयमा भूकम्प पीडितको लागि सहुलियतमा ववडाको सिफारिसमा प्रति सेफ्टी ४० रुपैयाँमा उपलब्ध गराएर उपभोक्तालाई सहज बनाएको जनाएको छ । अहिले प्रति सेफ्टी ३० रुपैयाँमा उपलब्ध गराउँदै आइरहेको छ ।

सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेको उद्योगले व्यवसाय सञ्चालनबाट विदुर नगरपालिका, सरकारका अन्य निकायहरुमा कर तिरिरहेको र सामाजिक उत्तरदायित्वको कामहरु गर्दै आएको जनाएको छ । उद्योगले विदुर नगरपालिकाको समन्वयमा अहिले पनि सहुलियत दरमा नै उत्पादनहरु बिक्री गरिरहेको, उपभोक्तालाई सुलभ मुल्यमा सामग्री पाएको र सरकारको राजश्वमा पनि योगदान दिइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

उद्योगमा जनप्रतिनिधिहरुको सम्लग्नता रहेको भन्ने आरोप निराधार भएको प्रष्ट पारेको छ । स्थानीय तह निर्वाचन अघि नै पुनः सञ्चालनमा आएको उद्योगमा कोही पनि जनप्रतिनिधीहरुको लगानी नरहेको स्पष्ट पारेको छ ।

२२ भाद्र २०७७, सोमबार १८:३६



तपाईको प्रतिक्रिया