मन्त्रीसंग पिपलटार देखि ढुङ्गेसम्मको मुआब्जा माग

विदुर । गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी सडक खण्ड अन्तर्गत पर्ने जग्गाको मुअब्जाको विषयमा परराष्ट्र मन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवाली समक्ष विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले मागपत्र पेश गरेका छन् ।

नुवाकोट र रसुवाका विभिन्न आयोजना अनुगमन र निरिक्षणका सिलसिलामा नुवाकोट आईपुगेका मन्त्री ज्ञावलीलाई विदुरमा भेटघाट कार्यक्रममा पण्डितले मागपत्र पेश गरेका हुन् । पण्डितले आयोजनाले प्रभावित सबै ठाउँको मुअब्जाको विषय टुङ्गिदा समेत विदुर नगरपालिकाको पिपलटार देखि ढुङ्गेसम्म विभिन्न कारण देखाउदै मुअब्जाबाट बचित गराउनु गलत रहेकोले सरकारले छिटो सम्वोधन हुनुपर्ने माग छ ।

नेकपा नुवाकोटका कार्यालय सदस्य बुद्धि प्रधानले पिपलटार देखि ढुङ्गेसम्मका सडक पिडितहरुलाई मुअब्जा दिएर जनताका मनमा मलम लगाउनु पर्ने बताए। मागपत्र ग्रहण गर्दै मन्त्री ज्ञवालीले जनताका समस्यासंगै समाधानको उपायहरुको खोजि गरि सकारात्मक पहल गर्न आफू तयार रहेको बताएका छन् ।

रसुवागढी व्यापारिक नाका मात्रै होइन : ज्ञावाली

रसुवा । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली ज्ञवालीले रसुवागढी नाकालाई सामान्य व्यापारिक नाकाको रूपमा मात्र नलिएको बताएका छन् ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सहित नाकामा बनिरहेका पूर्वाधारको अवलोकनका लागि रसुवा पुगेका उनले सो बताएका हुन् । केरुङ काठमाडौं रेलमार्ग, अन्तरदेशीय प्रसारण लाइन निर्माण, उत्तर दक्षिण आर्थिक करिडोर निर्माण, क्रस बोर्डर इकोनोमिक जोन निर्माण लगायतका विषय सरकारको प्राथमिकतामा परेको छ ।

रसुवागढी काठमाडौं सडक मार्गलाई बाह्रै महिना सञ्चालन हुने बनाउनका लागि काम भइरहेको छ भने स्याफ्रु बेत्रावती सुरुङ मार्गको अध्ययन कार्य अघि बढाइएको छ । कोभिड–१९ का कारण चीनबाट स्थलमार्ग हुँदै हुने आयातमा केही समस्या रहेको र त्यसको समाधानका लागि चीन सरकारसँग निरन्तर वार्ता भइरहेको उनले बताए ।

परराष्ट्र मन्त्रालयबाटनै दुई देश बिचको ब्यापार बढोत्तरीको लागी प्रयास भैरहेकाले रसुवागढी नाका ब्यापारिक हैसियतमा उच्च रहेको बताए । सडकको अवस्था र सामाग्री लोड अनलोडमा लाग्ने समय अनुसार सामग्री आयात बढाउनका लागि स्थानीय रूपमा छलफल गर्न उनले आग्रह गरे । यसका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना, नाकामानै पिसिआर गराउने र तीन सिफ्ट बनाएर सामग्री आयातको व्यवस्था मिलाउन सकिने उनको भनाई छ ।

२४ आश्विन २०७७, शनिबार १०:४५



तपाईको प्रतिक्रिया