नुवाकोट । सरकारले बहुचर्चित केरुङ–काठमाडौं रेलमार्ग आयोजनाको फिजिविलिटी (सम्भाव्यता) अध्ययन गरिदिन चीनसँग प्रस्ताव गर्ने भएको छ ।
विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सरहकै अनुदान सहयोगमा फिजिविलिटी अध्ययन गरिदिन प्रस्ताव गर्न लागिएको रेल विभागकी महानिर्देशक प्रमिला बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार, विभागले प्रस्ताव तयार पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइसकेको छ ।
मन्त्रालयले अर्थ मन्त्रालयसँग स्वीकृति पाइसकेको जानकारी दिएको छ। अब अन्य प्रक्रिया जस्तै परराष्ट्र हुँदै रेलमार्ग आयोजनाको सम्भाव्यता अध्ययन प्रस्ताव चीन पठाउने बताइएको छ । भौतिक पूर्वाधार मन्त्रालयले कात्तिक २१ गते शुक्रबार परराष्ट्रमा यसलाई पठाउँदै छ भने ढिलोमा एक साताभित्र परराष्ट्रबाट यसको प्रस्ताव चीन पुगिसक्ने मन्त्रालय स्रोतको भनाइ छ ।
मन्त्रालयका एक इन्जिनियरका अनुसार, संयुक्त वर्किङ कमिटीको मंसिरमा बसेको बैठकमा चिनियाँ पक्षले आयोजना अघि बढाउन ठोस प्रस्ताव खोजेका थिए। सम्भाव्यता अध्ययनकै तहमा नेपालले चाहेको सहयोग र आफूले गर्न सक्ने इनपुटको विवरण त्यसमा समावेश गरोस् भन्ने समेत चीनले चाहेको ती इन्जिनियरको भनाइ छ । नेपालले आयोजना नै अनुदानमा बनाइदिन आग्रह गर्दै आएको भए पनि अध्ययनकै लागि पनि अहिलेसम्म ठोस प्रस्ताव भने पेश गरेको थिएन । जसका कारण रेलमार्गको थप अध्ययन गर्ने विषय अन्योलमा पर्दै आएको थियो। नेपालसँग उक्त रेलमार्गको सम्भाव्यता अध्ययनका लागि स्रोत र साधन नभएकाले चिनियाँ पक्षलाई नै आग्रह गर्न लागिएको हो ।
यो रेलमार्गको फिजिविलिटी अध्ययनका लागि दुई वर्ष लाग्ने अनुमान गरिएको छ । अप्ठ्यारो भूगोलमा रहेकाले विभिन्न कोणबाट अध्ययन आवश्यक पर्छ । सोही कारण समय र लागत बढी लाग्ने विभागले जनाएको छ । चिनियाँ कम्पनी फष्ट्र सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले करिब तीन महिना अध्ययन गरेर यस रेलमार्गका लागि पूर्वसम्भाव्यता (प्रि–फिजिविलिटी) अध्ययन रिपोर्ट तयार पारिसकेको छ । उक्त प्रतिवेदनले केरुङ–काठमाडौं रेल परियोजना सम्भव देखाएको थियो ।
चिनियाँ पक्षले नै आफ्नै लगानीमा पूर्वसम्भाव्यता अध्ययन गरेर नेपाल सरकारलाई प्रतिवेदन दिइसकेका छन् । प्रतिवेदनले रेलमार्ग करीब ७२ किलोमिटर लम्बाइको हुने र यसको निर्माण लागत २ खर्ब ५६ अर्ब रुपैयाँ अनुमान गरेको छ । पूर्वसम्भाव्यता प्रतिवेदन अनुसार रेलमार्गको कुल दूरीमध्ये ९० प्रतिशत लिक टनेलभित्र रहनेछ । सातवटा सुरुङमार्ग रहनेछन् । जसमा सबैभन्दा लामो सुरुङ १९ किलोमिटर लामो हुनेछ । त्यसपछि १०, ७ र ८ किलोमिटरका सुरुङ बनाउनु पर्नेछ ।
सुरुङ पहाडबाट करिब २ किलोमिटर मुनि हुनेछ । भित्री भागमा सुरुङ बनाउन प्राविधिक रूपमा अन्यन्तै जोखिमपूर्ण हुने प्राविधिकहरुले बताएका छन् । यस्तै, यस रेलमार्गको चार किलोमिटर खण्ड पुलमा हुनेछ । करिब ७० मिटर उचाइसम्मका पुलहरु निर्माण गर्नुपर्ने देखिएको छ । रेलमार्गमा चारवटा स्टेशनहरु रहनेछन् । पहिलो स्टेशन केरुङमा हुनेछ । बीचमा दुईवटा र काठमाडौं टोखामा अन्तिम स्टेशन रहनेछ । टोखामा बन्ने स्टेशन पुलमाथि रहनेछ । बीचको एउटा स्टेशन सुरुङभित्र हुनेछ । रसुवागढीबाट करिब दुई हजार मिटर ओरालो झरेर रेल काठमाडौं आइपुग्नुपर्ने भएकाले सिंगल इन्जिनको रेल संचालन गर्न नसकिने रिपोर्टमा उल्लेख छ ।
विस्तृत सम्भाव्यता अध्ययन हुनै बाँकी रहेकाले यसको निर्माण मोडालिटीको टुंगो लागिसकेको छैन । सम्भाव्यता अध्ययन तयार भएपछि लागत, निर्माण अवधि लगायत डिटेलमा आउने भएकाले त्यसपछि मात्रै मोडालिटी टुंगो लगाइने बुझिएको छ ।
प्रारम्भिक प्रतिवेदन अनुसार, चीनको सिमावर्ती शहर केरुङबाट काठमाडौंसम्म रेलमार्ग निर्माण गर्नका लागि नौ वर्ष लाग्ने छ । अहिले चीनले सिगात्सेसम्म जोड्ने रेलमार्ग निर्माण सुरु गरेको छैन । बल्ल सर्भेको काम थालिएको छ । सिगात्सेबाट केरुङ करीब ५ सय किलोमिटरको दूरीमा पर्दछ । सन् २०२० मा रेलमार्ग ल्याउने लक्ष्य पूरा नभएपछि दुई वर्ष पछि सारिएको छ ।
२८ कार्तिक २०७७, शुक्रबार ११:००