स्ट्रबेरीको जाम उत्पादन गर्ने तालिम

रानीपौवा । ककनी गाँउपालिकामा स्ट्रबेरीको जाम उत्पादन गर्ने तालिम सम्पन्न भएको छ । चिसो स्थानमा फल्ने स्ट्रबेरीको बहुआयामिक उत्पादन सुरु गर्दै बजारीकरण गर्ने उद्देश्यले जाम उत्पादन तालिम सञ्चालन गरेको हो । सामुदायिक बिकास केन्द्र नेपालको सहयोगमा तालिम सञ्चालन भएको हो ।

आशा साना किसान सहकारी संस्था लिमिटेड मार्फत समुदायमा स्ट्रबेरी उत्पादन गर्दै आएकाहरुलाई जाम उत्पादन गर्ने तालिम दिईएको हो । सामाजिक कार्यमा सक्रिय रहदै आएको सामुदायिक बिकास केन्द्र नेपालको आर्थिक सहयोगमा स्ट्रबेरीको जाम उत्पादन गर्ने तालिम दिईएको हो ।

गाँउपालिकाले सहकारीको लागी संकलन केन्द्रको समेत निर्माण गरेको छ । कार्यक्रममा ककनी गाँउपालिकाका अध्यक्ष मानबहादुर लामाले सहकारी मार्फत स्थानिय स्तरमा रोजगारीको सिर्जना गरिरहेको बताए । गाँउपालिकाले सबै नागरिकहरुलाई सिप प्रदान गर्दै स्वरोजगारको बाटोमा क्रियाशिलता देखाएको उनको भनाई छ ।

ककनी गाँउपालिका वडा नम्बर २ का अध्यक्ष केदार पौडेलले उत्पादन मात्रै हुँदा बिचौलियाहरु फष्टाएको बताए । कृषि उपजहरुको उत्पादन मात्रै नभई बहुआयामिक उत्पादनमा जोड दिदै स्ट्रबेरीको सामाग्री उत्पादन गरि बजारीकरण गर्नुपर्ने बताए । सहकारी मार्फत उत्पादन भएका सामाग्रीहरुको बजारिकरणको लागी आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा आशा साना किसान कृषि सहकारीका अध्यक्ष सरिता तामाङले ककनीमा उत्पादन भएको स्ट्रबेरीको जामको बजारीकरणमा सहयोग गरिदिन आग्रह गरे । सहकारी मार्फत स्थानिय स्तरमा रहेका महिलाहरुलाई जाम उत्पादन गर्ने र बजारीकरण गरि आयआर्जनमा बढावा दिन सहज हुने बताए ।

कार्यक्रममा सामुदायिक बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक बिष्णुराज नेपालले संस्थाको तर्फबाट हुने अधिकतम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सहकारी मार्फत उत्पादन मात्रै नभई बजारीकरणमा समेत सिडिसिले सहयोग गर्ने उनको भनाई छ ।

१९ मंसिर २०७७, शुक्रबार १०:५०



तपाईको प्रतिक्रिया