पर्यटन पुनरुत्थान समितिमा नुवाकोटका दुई जना

विदुर । अन्तरिक पर्यटन पुनरुत्थान समिति वाग्मती प्रदेशको सदस्यमा नुवाकोटका दुई पर्यटन व्यवसायी चयन भएका छन् ।

समितिमा पर्यटन व्यवसायी तथा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका लेनिन रञ्जित र होटल तथा पर्यटन व्यवसायी संघ वाग्मती प्रदेशका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती चयन भएका हुन् ।

आन्तरिक पर्यटकहरूलाई घुम्नमा सहजीकरण गर्न नेपाल पर्यटन बोर्डले मङ्गलबार २१ सदस्यीय पर्यटन व्यवसायीहरूलाई लिएर अन्तरिक पर्यटन पुनरुत्थान समितिमा चयन गरी समितिले पूर्णता पाएको समितिका संयोजक ध्रुव सिम्खडाले जानकारी दिएका छन् ।

समितिमा रसुवाबाट लाक्पा लामा, रितु लामा र तेम्बा तामाङलाई सदस्य तोकिएको छ । वाग्मती प्रदेशको जिल्लाहरूबाट सदस्यहरू चयन गर्न नेपाल पर्यटन बोर्डले निर्देशन दिएको कार्यकारी प्रमुख धनन्जय रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार कोरोना संक्रमणको त्रासपछि गरिएको लकडाउन र निषेधाज्ञाले पारेको प्रभावबाट पर्यटन व्यवसायीलाई माथि उठाउन समितिले पहल गर्ने छ ।

कोरोना भाईरसका कारण सिथिल बनेको पर्यटन क्षेत्रको प्रचार प्रसार र दिगो पर्यटकिय आधार निर्माण गर्न आन्तरिक पर्यटन प्रबद्र्धन पुनरुत्थान समिति गठन भएको हो ।
अन्तराष्ट्रिय सीमा नाका बन्द रहेकाले भारत लगायतका देशबाट पर्यटक आउने अवस्था नभएको तर आन्तरिक पर्यटकहरूलाई कोरोनाको संक्रमणबाट सुरक्षित हुँदै घुम्नमा सहयोग गर्ने समिति सदस्य उप्रेतीले बताए ।

१ माघ २०७७, बिहीबार ०९:०३



तपाईको प्रतिक्रिया