बेलकोगढीमा सहुलियतपुर्ण कर्जा प्रवाहका लागि त्रिपक्षिय सम्झौता

विदुर । बेलकोटगढी नगरपालिका (सानिमा बैंक बाघखोर शाखा), बेलकोटगढी नगरपालीका (ज्योती विकास बैंक रातमाटे शाखा) र नुवाकोट उद्योग वाणिज्य संघबीच नगरपालिकाभित्र सहुलियतपुर्ण कर्जा प्रवाहका लागि त्रिपक्षिय सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७) बमोजिम बेलकोटगढी नगरपालीका क्षेत्रका उद्यमी व्यवसायिको लागि उद्यमशिल कर्जा बेलकोटगढी नगरपालिकाको सिफारिसमा लगानी गर्ने तथा वैंकद्वारा लगानी गरिएका उद्यमीलाई बेलकोटगढी नगरपालिका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नगरपालिकाको तर्फबाट नगरप्रमुख राजेन्द्ररमण खनाल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की र बैंकहरूको तर्फबाट सानिमा बैंकबाट विदुर शाखा प्रवन्धक मधुप्रकाश खतिवडा, र ज्योती विकास बैंकको तर्फबाट बरिष्ठ अधिकृत राकेश डंगोलले हस्ताक्षर गरेका छन् । सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्याविधिले तोके बमोजिम रहने बताईएको छ ।

नगर प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको आर्थिक विकासमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सम्झौताका शर्तहरूको पालनामा नगरपालिका प्रतिवद्ध रहेको जानकारी गराउँदै पाउनु पर्ने व्यवसायीले यो कर्जा प्राप्त गर्नका लागि नगरपालिकाद्वारा सहजिकरण गरिने त्यसका लागि वडा अध्यक्षको समेत भुमिका महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले सम्झौताको अक्षरस कार्यान्वयनमा जोड दिँदै व्यवसायीहरूले निरन्तर रुपमा यसको फाईदा लिन सक्रिय हुनुपर्नेमा जोड दिए । उनले नगरपालिकाको आर्थिक बिकासमा पूर्णिमा कार्यक्रम सहित अन्य विकास कार्यक्रमले समेत सहयोग गरेको चर्चा गर्दै नगरपालिकाको बिकासमा सबै सरोकारवाला निकायको भुमिका महत्वपुर्ण हुनेभएकोले आवश्यक सहयोग तथा सुझावका लागि आग्रह समेत गरेका छन् । सहुलियतपूर्ण कर्जाको भुक्तानी अवधि पाँच वर्षको हुने गर्दछ भने मासिक रुपमा आम्दानी गरी कर्जाको किस्ता बुझाउनु पर्ने छ ।

कस्ता व्यवसायीले पाउँछन् ?

व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा पाँच करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्किएका युवा स्वरोजगार कर्जा दश लाख रुपैयाँसम्म, महिला उद्यमशिल कर्जा पन्ध्र लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा दश लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक कर्जा पाँच लाख रुपैयाँसम्म र भूकम्प पीडितहरूको नीजी आवाश निर्माण कर्जा तीन लाख रुपैयाँसम्म लिन सकिन्छ । यसैगरि व्यावसायीले ३ देखि ४ प्रतिशतसम्म व्याज तिर्नुपर्ने छ भने ५ देखि ६ प्रतिशतसम्म व्याज नेपाल सरकारले तिरिदिने व्यवस्था रहेको छ । हाल नेपालका वाणिज्य बैंकको व्याजदर ८ देखि १० प्रतिशतको बीचमा रहेको छ ।

सम्झौताका मुख्य शर्तहरू

· नयाँ उद्यमीको लागि सहुलीयतपूर्ण कर्जा बैंकद्वारा प्रवाह गर्ने, नगरपालिकाले
त्यस्तो कर्जाको उपयोगको अनुगमन गर्ने तथा सहयोग सहजीकरण गर्ने,
· ऋण लिएको व्यवसायीको बृद्धि विकासको लागि नगरपालिकाले नीतिगत
तथा भौतिक सहयोगका कार्य गर्ने,
· ऋण प्राप्त गरेका व्यवसायीको हकमा नुवाकोट उद्योग वाणिज्य संघद्वारा
व्यवसायिक क्षमता विकासका तालिम प्रदान, क्षमता अभिबृद्धि लगायत
आबश्कता अनुसार प्राविधिक सहयोग गर्ने,
· ऋण जोखिममा परेमा ऋण चुक्ता गर्नका लागि बैंकलाई नगरपालिकाद्वारा
आवश्यक समन्वय तथा सहयोग गर्ने,
· ऋण लिने व्यवसायको निरन्तरताका लागि नगरपालिकाद्वारा साझेदार
संस्थाको समन्वय तथा आन्तरिक श्रोतको उपयोग गरी सहयोग गर्ने ।

१ माघ २०७७, बिहीबार १२:१६



तपाईको प्रतिक्रिया